निफमा तीन फिल्मको स्पर्धा



नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) २०२१ मा यो वर्ष तीन नेपाली फिल्म नेपाली फिचर फिल्म विधामा प्रतिस्पर्धा हुने भएको छ। आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले महोत्सवकालागि लाटोकोसेरो, सरिता ११ वर्ष र आमा खान्डोबीच फिचर फिल्म विधाका लागि प्रतिस्पर्धाका लागि छानिएको बताए।

महोत्सवका लागि विश्वका विभिन्न ५२ देशबाट ४ सय ५० फिल्म प्राप्त भएको छ। आन्तरिक छनोट समितिले दिएको नम्बरको आधारमा उच्च नम्बर पाउने फिल्ममध्येबाट ३१ देशका ६३ फिल्मलाई महोत्सवमा प्रस्तिस्पर्धाका लागि पहिले नै छनोट गरिएको थियो भने नेपाली प्रतिस्पर्धा अन्तर्गत फिचर फिल्म छनोट गरिएको हो । अब निफमा कुल ६६ फिल्म देखाइनेछ । ३ फिल्म मध्येबाट एक फिल्मले नेपाली फिचर फिल्म अन्तर्गत उत्कृष्ट फिल्मको टाइटलसहित एक लाख नगद पुरस्कार, ट्रफी, उत्कृष्ट निर्देशक, लेखक, छायाकार, अभिनेता र अभिनेत्री ट्रफी पाउने छन्।

फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मलाई अलग्गै विधामा प्रतिस्पर्धा गराई अवार्ड प्रदान गरिने आयोजकको भनाइ छ। कोभिड–१९ ले पारेको प्रभावमा बनेका यस्ता फिल्मले ५ सय अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्ने छन्। अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलरसहित गौतम बुद्ध अवार्ड प्रदान गरिने छ । त्यसै गरी, सर्वोत्कृष्ट वृत्त चित्रलाई १ हजार डलरको माउन्ट एभरेस्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड फिल्मलाई ७ सय ५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु फिल्मलाई ५ सय डलर राशिको वागमती अवार्ड यथावत रूपमा प्रदान गरिनेछ। महोत्सव २०७८ वैशाख २३ देखि २७ सम्म काठमाडौंमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्