देशभर हावाहुरीसहित, चट्याङ र पानी पर्ने सम्भावना



न्युज अफ नेपाल ,काठमाडौं ।

आज शुक्रबार काठमाडौं उपत्यकासहित देशभर हावाहुरी, चट्याङ र असिनासहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । आज हावाहुरी आउने, चट्याङ र असिना पर्नुका साथै प्रिमनसुन लागेयताकै ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । विशेषगरी आज पश्चिमी क्षेत्रमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा हुने सम्भावना रहेको र मध्य तथा पूर्वी क्षेत्रमा पनि यसको थोरै सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिएकी छन् ।

मौसमविद नगरकोटीका अनुसार हावाहुरी,चट्याङ र असिनासहितको वर्षा दिउँसो र राति हुने सम्भावना छ । यसैगरी वर्षाका साथमा हावाहुरी पनि आउने प्रबल सम्भावना रहेकाले आवश्यक होसियारी अपनाउन महाशाखाले आग्रह गरेको छ ।महाशाखाका अनुसार भोलि शनिबार पनि देशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा हुने सम्भावना छ । आइतबार रातिदेखि मात्रै मौसम सुधार हुने मौसम महाशाखाले जनाएको छ ।

विहीबार बेलुकीपख काठमाडौं उपत्यकासहितका केही जिल्लाहरुमा पनि हावाहुरी चलेको थियो । चट्याङसमेत पर्दा भोजपुर, बागलुङ र स्याङ्जामा एक(एक जना गरी तीन जनाको मृत्यु भएको प्रारम्भिक विवरण आएको छ ।

प्रतिक्रिया दिनुहोस्