प्युठान दुर्घटनाका मृतकको शव आफन्तलाई



अनिल खत्री, गुल्मी । 

प्युठान दुर्घटनामा मृतक ५ जनाको शव आफन्तलाई बुझाइएको छ । गुल्मीबाट नयाँ वर्ष मनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारीसहितको टोली धार्मिक तीर्थस्थल प्युठानको स्वर्गद्वारी जाने क्रममा स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा दुर्घटनामा मृतक ५ जनाको शव आफन्तलाई बुझाइएको हो ।

दुर्घटनामा मृतक प्रशासकीय अधिकृत स्याङ्जा जिल्ला निवासी ३८ वर्षका श्याम न्यौपानेको शव घटनास्थलबाटै बुझाइएको थियो । अरू ४ जना गुल्मी जिल्ला मुसिकोट नगरपालिका–३ बस्ने चालक २२ वर्षका केशव कार्की, रेसुङ्गा नगरपालिका–७ का ३५ वर्षका कम्प्युटर अपरेटर सूर्य पन्थी, मुद्दा शाखाका धुर्कोट–७ निवासी ३६ वर्षका ईश्वर भण्डारी, मालिका गाउँपालिका–७ निवासी ३५ निवासी यमलाल पन्थीको शव जिल्ला प्रशासन कार्यालय गुल्मीमा शोकसभा गरेर आफन्तलाई बुझाइएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासनकीय अधिकृत उद्धव पन्थीले बताउनुभयो ।शोकसभामा प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्मा, जिल्लास्थित राजनीतिक दलका प्रमुख, आफन्त तथा जिल्लाबासीले फूलमाला ओढाएर अन्तिम बिदाइ गरेका थिए ।

आफन्तले शव बुझेसँगै आ–आफनो घाटमा लगेर दाहासंसकार गर्नेछन् । प्युठानको स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा लु१ज १६५५ नम्बरको जिप दुर्घटना भएको हो ।जिपमा सवार १७ मध्ये १२ जना घाइते भएका थिए । घाइते ७ जनालाई बुधबार नै नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लगेर उचार भइरहेको छ ।

५ दिन प्रशासन बन्द

जिल्ला प्रशासन कार्यालय गुल्मी ५ दिन अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने भएको छ । बुधबार सवारी दुर्घटनामा जिल्ला प्रशासन कार्यालय गुल्मीका ४ जना कर्मचारीको मृत्यु भएको शोकका ५ दिन कार्यालयका सेवाहरु बन्द गरिने भएको हो ।दुर्घटनामा मृत्यु भएका कर्मचारीहरुको शोकमा कार्यालयका अत्याबश्यकबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले बताए । प्रशासनले एक सूचना जारी गर्दै आज १ दिन प्रशासनका सम्पूर्ण कार्य बन्द गर्ने भएको छ ।शोकमा वैशाख ३ गतेदेखि वैशाख ६ गते सोमबारसम्म शान्ति सुरक्षा र मुद्दासम्बन्धी काम–कारबाही हुने र अन्य सेवा प्रवाह नहुने प्रशासकीय अधिकृत पन्थीले बताउनुभयो ।

७ जनाको उपचार काठमाडौंमा

दुर्घटनामा गम्भीर घाइते सन्दीप परियार, मुना पाण्डे, कमला पन्थी, सुनीता कँडेल, सार्थक ज्ञवाली, गीता मुखिया, अनिश बोहरालाई हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ । दुर्घटनामा परेर घाइते ५ जना सामान्य उपचारपछि घर फर्किसकेका छन् ।जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारीसहितको टोली दुर्घटनामा परेपछि जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादवी शर्मासहितको टोली प्युठान पुगेका थिए । जिल्लाका सुरक्षा निकायका प्रमुखसहितको टोली दुर्घटनास्थल र घाइतेहरुको अवस्था बुझेर गुल्मी फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्