पर्तमान समयमा प्रविधिको महत्व



सूचना प्रविधि भन्नाले ध्वनि, तस्वीर, अक्षर तथा अंकको रूपमा सूचनाहरूलाई विद्युतीय यन्त्रहरू, कम्प्युटर तथा दूरसञ्चार प्रविधिको प्रयोग गरी भण्डारण, सम्पादन, सम्प्रेषण, सङ्ग्रह र प्रवाहलाई चिनिन्छ । यसले माानिसको जीवनमा ठूलो भूमिका निर्वाह गरेको हुन्छ । विश्वव्यापीरूपमा सूचना प्रविधि संसारका धेरै देशहरुको आर्थिक विकासको एक प्रमुख तत्व भएको छ ।

धेरै नवीनताहरू संसारमा आएका छन् तर सबैभन्दा उल्लेखनीय सूचना प्रविधि हो । सूचना प्रविधि जुन दैनिक भाषामा कम्प्युटर सञ्चार टेक्नोलोजीसँग पर्यायवाची छ त्यसलाई त्यो प्रविधिको रुपमा परिभाषित गर्न सकिन्छ, जसले सूचना चक्रलाई सजिलो बनाउँछ ।सूचना प्रविधिले स्वयं सेवा–सुविधाहरू प्रदान गरेको छ, जहाँबाट ग्राहकहरू सजिलैसँग उनीहरूको कागजातहरू सीधै अनलाइनबाटै पूरा गर्न सक्छन् । सूचना प्रविधिले मानव जीवनको सबै क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको छ तर सामाजिक प्रगति र प्रविधिमा जोडदार विकासको कारणले मानव जीवनको हरेक पक्षमा सूचनाको भूमिकालाई अत्यन्तै बढाएको छ ।रोजगारमा यसले कम्प्युटरमा आधारित सूचना प्रणालीको अध्ययन, डिजाइन, विकास, अनुप्रयोग, कार्यान्वयन, समर्थन वा व्यवस्थापनमा मद्दत गर्दछ । सूचना प्रविधिहरूको सहयोगले इमेलहरू, आवाज र भिडियो कलहरू छिटो, सस्तो र अधिक कुशल भएको छ । विभिन्न देशहरूबाट खरिद सजिलो र अधिक सुविधाजनक बनाउँदै, कुनै पनि समय, जहाँसुकै व्यापार शुरु गर्न सकिन्छ । तर टेक्नोलोजीमा सुधार भएपछि मानव कर्मचारीहरूद्वारा गरिएको कामहरू अब कम्प्युटर प्रणालीहरूद्वारा गरिन्छ, जसले गर्दा देशमा रोजगारी कम हुन्छ ।

वर्तमान समयमा हामीसँग विज्ञान तथा प्रविधिको क्षेत्रमा अधिक संख्यामा जनशक्ति उत्पादन भएको अवस्था छ । मुख्यतः बहुदलीय व्यवस्था र लोकतन्त्रको पुनस्र्थापनापश्चात् राज्यले अवलम्बन गरेको नीति तथा कार्यक्रमका माध्यमबाट देशभित्र विज्ञान विषयका थुप्रै कलेजहरु स्थापना र सञ्चालन भई आएका छन् ।चिकित्साशास्त्र र इन्जिनियरिङ विषयमा नेपालमा अन्तर्राष्ट्रिय स्तरमा नै प्रतिष्ठित अध्ययन संस्थानहरु सञ्चालित छन् भने नेपालमा उत्पादित जनशक्तिहरु विश्वका अन्य उत्कृष्ट विश्वविद्यालय र अनुसन्धान केन्द्रहरुमा अध्ययनरत र कार्यरत रहेको सुखद अवस्था पनि हामीसँग छ ।नेपालमा चिकित्सा सेवामा टेस्ट ट्युब बेबी, अंग प्रत्यारोपणजस्ता सुविधा, जटिल शल्यक्रिया तथा आँखाको उपचार सेवा उपलब्ध भइरहेका छन् ।

यसका साथै, इन्जिनियरिङ क्षेत्रको कुरा गर्दा दुई हजारभन्दा बढी साना जलविद्युत् आयोजनाहरुले नेपालका ग्रामीण भूभागमा सेवा प्रदान गरेका छन् । झोलुंगे पुलको निर्माण, मत्स्यपालन, सामुदायिक वन व्यवस्थापन र जैविक विविधता संरक्षणका क्षेत्रमा नेपालमा उत्पादित विशेषज्ञहरु थुप्रै अन्तर्राष्ट्रिय सेवामा कार्यरत रहेका छन् । यी सबै विषयहरु विज्ञान क्षेत्रमा नेपालमा भएका प्रगतिका उदाहरणहरु हुन्, जसलाई आगामी दिनमा निरन्तरता दिँदै अघि बढ्न सक्नुपर्दछ ।सूचना तथा प्रविधिको प्रयोग, विकास तथा विस्तारको क्रमसँगै वर्तमान परिप्रेक्ष्यमा राज्य र शासन व्यवस्थासँग जोडिन आउने इ–गभरमेन्ट, डिजिटल गभरमेन्ट, पेपरलेस गभरमेन्ट, इ–गभरनेन्स मास्टर प्लान, इ–जीएमपी, इ–गभरनेन्स, इ–भिलेज, इ–स्कुलजस्ता केही नवीनतम शब्दावलीहरूको व्यापकतासँगै तिनीहरूलाई सार्थकता प्रदान गर्न राज्य निकायबाट विशेष पहलकदमी चाल्नुपर्ने देखिन्छ । जसको निम्ति पहिलो प्रयास नै विद्यालय तहबाट हुनुपर्छ । शिक्षक वर्गबाट हुनुपर्छ ।

नेपालमा अझै लाखौँ मानिसहरू चरम गरिबी अर्थात् आफ्नो जीवन अस्तित्वको लागि न्यूनतम आधारभूत आवश्यकता प्राप्तिबाट पनि वञ्चित छन् भने केही प्रतिशत मानिसहरूले न्यूनतम आवश्यकता मात्र मुस्किलले पूरा गर्न सकेका छन् ।ती व्यक्तिहरूको लागि इन्टरनेटको सहज उपलब्धता भनेको अलि परको विषय बनेको छ । तर पनि समयको माग होला, अधिकतम प्रतिशत मानिसहरूमा अहिले के पनि देखिन्छ भने आहार–व्यहार तथा लुगाफाटोलगायत अन्य अत्यावश्यक खर्चहरूमा समेत कटौती गरेर पनि मोबाइल, नोटबुक, आइप्याडजस्ता प्रविधिहरूको प्रयोगमा बढी लालयित देखिन्छन्, जसमा केही अंश वैदेशिक रोजगारीको प्रभाव पनि पाउन सकिन्छ ।

सूचनाको एउटा कमजोर पक्ष के हो भने, यसको सही कार्यान्वयनमा पटक–पटक अवरोध आइपर्दछ । खास गरी मौखिक सूचनामा यो अवरोध बढी मात्रामा देखिन्छ । तोकिएको सूचना ठीक ढंगले प्रवाह नभएमा यसो हुन पुग्छ । प्रभावकारी सूचनामा अवरोध उत्पन्न गर्ने कारक तत्वहरू यस प्रकारका छन्– उपर्यक्त सञ्चार प्रक्रिया र योजनाको अभाव, उपयुक्त माध्यमको अभाव, तथ्यांकको अपर्याप्तता, भाषागत समस्या अभिरुचि र लापरबाही, संगठनमा धेरै स्तरको विद्यमानता आदि समस्याहरू देखा परेका छन् । कुनै पनि बजार क्षेत्रको सम्पूर्ण भागमा एउटै भाषा बोलिँदैन र स्वाभाविकरूपमा भाषिक विविधता देखिन्छ ।

तसर्थ कुनै एक भाषामा तयार पारिएको सन्देश एउटा समूहको लागि उपयुक्त हुन सक्छ भने अर्को समूहले त्यो सन्देश भाषा नबुझेको कारणले गर्दा बुझ्न सक्दैन । अर्को कुरा, समाजमा भ्रम सिर्जना हुने, आपसी मेलमिलापको वातावरण बिग्रने र जनताको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्न सक्ने सम्भावनाले गर्दा सरकारले केही अवस्थाहरूमा स्वतन्त्र किसिमको सन्देश प्रसारणमा रोक लगाएको हुन्छ ।केही सामाजिक नियम वा मान्यताहरू हुन्छन् । त्यसै नियमभित्र रहेर मानिसहरूले जीवनयापन गरिरहेका हुन्छन् ।

केही सन्देशको प्रसारणले त्यस किसिमको सामाजिक भावनामा ठेस पुग्न सक्छ, जसले गर्दा सूचनाको प्रभावकारितामा वृद्धि हुनुको साटो भ्रम सिर्जेको हुन सक्छ । यसका साथसाथै स्पष्ट सन्देश तथा सूचनाले सञ्चारलाई प्रभावकारी पार्दछ भने अस्पष्ट सूचनाले भ्रम मात्र सिर्जना गर्ने होइन समय र साधनको पनि दुरुपयोग हुने गर्दछ । अन्त्यमा विज्ञान तथा प्रविधि देश विकासका लागि अपरिहार्य क्षेत्र भएकाले यस क्षेत्रको विकासमा अझ सशक्तरुपमा क्रियाशील हुन जरुरी छ ।
 सरु रायमाझी, कपिलवस्तु 

प्रतिक्रिया दिनुहोस्