मेथिनकोटलाई कोइकाको मेडिकल सामग्री



नेपाल समाचारपत्र, काभ्रे । 

प्रादेशिक अस्पताल मेथिनकोटलाई कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका र कोइका अलुम्नाई एसोसिएसन (कान) ले मेडिकल सामग्रीहरु उपलब्ध गराएको छ । बिहीबार एक कार्यक्रमका बीच १९ लाख रुपियाँ बराबरको उक्त मेडिकल सामग्री अस्पताललाई हस्तान्तरण गरिएको थियो ।

सामग्री हस्तान्तरणपश्चात् नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क चोङ सुकले मेथिनकोट अस्पतालले कोभिडको महामारीको समयमा पु¥याएको योगदानको प्रशंसा गर्नुभएको थियो । उहाँले आगामी दिनमा पनि अस्पताललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।अस्पताललाई उपलब्ध गराइएका सामाग्रीहरुमा पेसेन्ट मोनिटर २ थान, अक्सिजन कन्सनट्रेटर २ थान, कार्डियोग्राफी सिटिजी मेसिन १ थान, बीआईपी–एपी मेसिन एक थान, पल्स अक्सिमिटर पाँच थान, डिजिटल बिपी मेसिन ६ थान, इमर्जेन्सी बेड ३ थान, अक्सिजन रेगुलेटर ५ थान, इमर्जेन्सी मेडिकल कार्ट १ थान र इमर्जेन्सी बेड म्याट्रेस ३ थान रहेका छन् । कोरोना जोखिमको समयमा नागरिकहरुलाई गुणस्तरीय सेवा उपलब्ध गराएको मेथिन्कोट अस्पताल पछिल्लो समय साधन सम्पन्न हुँदै गएको छ ।

नमोबुद्ध नगरपालिका, रोशी, तेमाल, महाभारत गाउँपालिकाको अलावा छिमेकी जिल्ला सिन्धुली र बर्दिबास हुँदै आवत–जावत गर्ने सवारीसाधन दुर्घटना हुँदा हुन सक्ने जोखिम न्यूनीकरणका लागि उक्त अस्पताल महत्वपूर्ण मानिएको छ ।त्यस्तै, नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले सामान्य अवस्थामा शुरु भएको मेथिनकोट अस्पताललाई प्रादेशिक अस्पताल बनाइएको तर आवश्यक पूर्वाधार, जनशक्ति र मेडिकल सामग्रीको अभावका कारण प्रभावकारी सेवा प्रदान गर्न समस्या परेको अवस्थामा अस्पताललाई मेडिकल सामग्री प्रदान गरेकोमा कोइका र कोइका अलुम्नाई एसोसिएसनलाई धन्यवाद ज्ञापन गर्नुभयो ।१५ शैय्याको अस्पताललाई ५० शैय्याको बनाउने निर्णय प्रदेश सरकारले गरेको र पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनका लागि आवश्यक प्रक्रिया शुरु भइसकेको सामाजिक विकास मन्त्रालयका सचिव दीपक काफ्लेले बताउनुभयो ।

कोइका अलुम्नाई एसोसिएसन कानका अध्यक्ष विनोद बिडारीले एसोसिएसन स्थापनाको २० वर्षमा पहिलोपटक यति ठूलो सहयोग गरेको बताउनुभयो ।कोरियन सरकारको छात्रवृत्तिमा नेपाल सरकार र अन्तर्गतका निकायबाट मेडिकल छात्रवृत्तिमा तालिम वा विश्वविद्यालयमा अध्ययनका लागि दक्षिण कोरिया गएका व्यक्तिहरुको संलग्नतामा स्थापित कोइका अलुम्नाई एसोसिएसनले विगतदेखि नै स्वास्थ्यलगायतका सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको यसका महासचिव दीपक गौतमले बताउनुभयो । ०६६ सालबाट सञ्चालनमा आएको अस्पताललाई अझै सुविधासम्पन्न बनाउनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता वक्ताहरूले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्