भूमिगत खानेपानी उद्घाटन



नेपाल समाचारपत्र, रामेछाप । 

रामेछाप नगरपालिका–७ सुकाजोरमा निर्माण सम्पन्न भएको भूमिगत खानेपानी आयोजनाको बुधबार एक कार्यक्रमका बीच रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापामगरले उद्घाटन गर्नुभएको छ । कालीकुवाको पानी उपभोग गर्दै आएका सुकाजोरका नागरिकले २०७२ सालको विनाशकारी भूकम्पका कारण उक्त कुवा सुकेपछि खानेपानीको अभाव झेल्दै आएका थिए ।

खानेपानी अभाव झेल्दै आएका सुकाजोरका उपभोक्ताहरुलाई पिउने पानीको प्रबन्ध मिलाउन नगरपालिकाले आर्थिक वर्ष २०७५-७६ बाट उक्त आयोजना सञ्चालन गरेको थियो । गाउँमा खानेपानीको मुहान नभएपछि जमिनमा दबिएको पानी २ सय ५९ मिटर तलबाट विद्युतीय माध्यमवाट तानेर पानी जमिनमाथि निकालिको नगर प्रमुख थापामगरले बताउनुभयो । उक्त योजना सञ्चालनका लागि रामेछाप नगरपालिकाले १ करोड १२ लाख ५६ हजार ७ सय २६ रुपियाँ लागतमा योजना सम्पन्न गरेको उहाँका भनाइ छ ।

खानेपानी आयोजना सञ्चालन गरेको लामो समयसम्म बजेट अभावमा अलपत्र परेको उक्त योजनालाई रामेछाप नगरपालिकाले क्रमागतरूपमा रकम विनियोजन गरेर योजना सम्पन्न गरेको हो । भालुखोप डाँडामा निर्माण गरिएको रिर्जभ ट्याङ्कीमा पानी जम्मा गरेर सुकाजोरका करिब ७ सय घरधुरी उपभोक्ताहरुलाई पानी वितरण गरिने कालीकुवा डिप वोरिङ लिफ्ट खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीबहादुर कार्की बताउनुहुन्छ । कार्यक्रममा रामेछाप नगरपालिकाकी उपप्रमुख सिर्जना खड्का, नेपाल पत्रकार महासंघ राष्ट्रिय सभा सदस्य टीकाप्रसाद भट्ट, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्