औद्योगिक क्षेत्रहरुको रुग्ण अवस्था



डिल्लीराम मिश्र । 

कुनै पनि राष्ट्रको समग्र आर्थिक विकासको मेरुदण्ड नै औद्योगिक विकास र औद्योगिकीकरणको प्रारुप हो । राष्ट्रको यावत् विकासको जग भन्नु नै औद्योगिक विकासको गतिशीलता हो । अठारौं शताब्दीमा बेलायत र फ्रान्समा भएका औद्योगिक क्रान्तिको उपज आज ती मुलुकहरु विश्वमा विकसित राष्ट्रको दरो आर्थिक जगमा उभिएका छन् । बेलायत र फ्रान्सको औद्योगिक नीति आज समग्र विकासको नीति बनेको छ ।

नेपाल नीतिप्रधान राष्ट्र नभएर नेताप्रधान मुलुक भएकै कारण आज देशको औद्योगिक विकासको गतिले यो नियति भोगिरहेको छ । नेपाल औद्योगिक दृष्टिले मात्र पछाडि परेको हैन, दैनिक उपभोग्य वस्तुहरुमा समेत आयातमा भर पर्ने जटिल स्थिति उत्पन्न भएको छ । यस्तो अवस्थामा मुलुक दिन–प्रतिदिन परनिर्भरतातर्फ धकेलिएको छ । यो नाजुक अवस्थामा देशमा औद्योगिक क्षेत्रको विकास अपरिहार्य सङ्कल्प बन्न पुगेको छ । नवीन पद्धति र अन्तर्राष्ट्रिय सन्धि–सम्झौताले ल्याएको परिवर्तनलाई दृष्टिगोचर गरी औद्योगिक विकासको गतिलाई सुधारका साथ अगाडि बढाउन नेपालमा समयानुकूल वस्तुवादी औद्योगिक नीतिको जरुरत छ ।नेपालमा औद्योगिक क्षेत्र व्यवस्थापनको इतिहास खासै त्यति लामो मानिदैन ।

राणा प्रधानमन्त्री जुद्धशमशेरको पालामा वि.सं. १९९२ मा उद्योग परिषद्को स्थापना भएको पाइन्छ । वि.सं. १९९३ मा कम्पनी ऐन जारी भई सोही वर्ष विराटनगरमा खोलिएको विराटनगर जुटमिल्सबाट नेपालमा औद्योगिक विकासको सस्थागत स्वरुप प्रारम्भ भएको हो । त्यति बेला जुटमिल्सलगायत देशका विभिन्न भागमा सानातिना घरेलु उद्योगहरु पनि सञ्चालित थिए । देशमा परम्परागतरुपमा रहेका घरेलु उद्योगहरुलाई पुनर्जागरण र सुदृढीकरण गर्ने प्रयासस्वरुप वि.सं. १९९६ मा नेपालमा घरेलु उद्योग विभागको स्थापनासमेत भयो । यसै गरी २००३ मा पशुपति जुटमिल्स र मोरङ सुगर मिल्सको स्थापना भएपश्चात् नेपालमा औद्योगिक विकासको जग बसाल्ने कार्यको शुरुवात भएको थियो ।२००७ सालको राजनीतिक परिवर्तनले औद्योगिक गतिलाई अगाडि बढाउन केही सहजता प्रदान गरे पनि देशको औद्योगिक नीति निर्माण हुन सकेको थिएन ।

देशमा २०१३ सालमा प्रथम पञ्चवर्षीय योजना कार्यान्वयनमा आएपछि औद्योगिक विकासको गतिलाई अगाडि बढाउन लगानी वर्षको रुपमा यसलाई प्रस्तुत गरियो । नेपालमा सर्वप्रथम वि.सं. २०१८ मा औद्योगिक नीति जारी गरियो । यस औद्योगिक नीतिले देशमा औद्योगिक क्षेत्रहरुको स्थापना गर्ने योजनालाई महत्व दिएको थियो । त्यसपछि वि.सं. २०३०, २०३७ र २०४९ मा औद्योगिक नीतिलाई अद्यावधिक गरी कार्यान्वयनमा ल्याउने प्रयत्नहरु भए । बहुदलीय शासन पद्धतिको उदार अर्थनीतिलाई आधार मानेर औद्योगिक क्षेत्रलाई दबाब दिने उद्देश्यसहित औद्योगिक नीति २०४९ जारी गरियो । तर विगतमा चालिएका सकारात्मक कदमका बाबजुद नेपालमा औद्योगिकीकरणले गति लिन सकेन । राजनीतिक खिचातानी नै यसको बाधक र अस्थिरताको एकमात्र कारण हुन पुग्यो ।

विगतमा भएका कमी–कमजोरीलाई आत्मसात् गर्दै औद्योगिक विकासको माध्यमबाट मुलुकको आर्थिक, सामाजिक क्षेत्रमा सकारात्मक परिवर्तन गर्ने प्रमुख उद्देश्यका साथ औद्योगिक नीति २०६७ पनि जारी गरिएको छ, तर यो पनि कार्यान्वयन पक्षमा क्रियाशील हुन सकेको छैन ।मुलुकमा औद्योगिक विकासको गतिलाई अगाडि बढाउनको निम्ति उद्योगहरुको लागि अति आवश्यक पर्ने आधारभूत पूर्वाधारहरु जमिन, औद्योगिक भवन, सडक, विद्युत्, पानी, ढल तथा अन्य सुविधाहरु सबै एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यअनुरुप वि.सं. २०१६ मा नेपालको सरकार र संयुक्त राज्य अमेरिकी सरकारको वित्तीय सहयोगमा सर्वप्रथम बालाजु औद्योगिक क्षेत्रको स्थापना गरिएको हो । यो औद्योगिक क्षेत्र ६७० रोपनी क्षेत्रफलमा फैलिएको छ । उद्योगको संख्या १२१ रहेको यस औद्योगिक क्षेत्रमा हाल ३ हजार ५ सयले रोजगारी प्राप्त गरेका छन् ।

नेपालको औद्योगिक तथा क्षेत्रीय आर्थिक सन्तुलनलाई ध्यान दिई स्थानीय लगानी, श्रम, सीप तथा कच्चा पदार्थमा आधारित उद्योगलाई प्रोत्साहित गर्न मुलुकको विभिन्न इलाकाहरुमा रहेका ११ वटामध्ये हाल १० वटा औद्योगिक क्षेत्रहरु सञ्चालित छन् । देशभित्र स्थापना गरिएका औद्योगिक क्षेत्रहरुको व्यवस्थापन पक्षलाई व्यवस्थित, एकीकृत र समन्वयात्मकरुपमा सम्पादन गर्न कम्पनी ऐनअन्तर्गत गठन भई आर्थिक वर्ष २०४५-०४६ देखि यस औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा रुपान्तरण भएको छ । नेपाल सरकारको नीतिअनुरुप यस कम्पनीले औद्योगिक प्रवद्र्धन र उद्योगलाई सेवा दिने निकायको रुपमा कार्य गरिरहेको छ ।देशमा औद्योगिक क्षेत्रको विकासलाई विस्तार गर्दै लैजाने क्रममा २०२० सालमा पाटन र हेटौंडामा एक–एकवटा औद्योगिक क्षेत्रको निर्माण भए । भारत सरकारको सहयोगमा पाटन औद्योगिक क्षेत्र तथा अमेरिकी सरकारको सहयोगमा हेटौंडा औद्योगिक क्षेत्रको निर्माण भयो ।

पाटन औद्योगिक क्षेत्र २९३ रोपनी क्षेत्रफलमा फैलिएको छ भने हेटौंडा मुलुककै सबैभन्दा बढी क्षेत्रफल ओगटेको औद्योगिक क्षेत्र हो । हेटौंडामा रहेको यो औद्योगिक क्षेत्र २ हजार ८२९ रोपनी क्षेत्रफलमा फैलिएको छ । देशमा गुणात्मक स्तरमा नाम कमाएका हेटौंडा कपडा उद्योग र हेटौंडा सिमेन्ट उद्योगजस्ता उद्योगहरु पनि यस औद्योगिक क्षेत्रमा पर्छन् तर यी उद्योगको अवस्था आज नाजुक छ ।त्यसपछि २०२९ र २०३० सालमा भारत सरकारको सहयोगमा धरान र नेपालगन्जमा औद्योगिक क्षेत्र स्थापना गरिए । नेपाल सरकारको आफ्नै लगानीमा २०३१ र २०३२ सालमा पोखरा र बुटवलमा औद्योगिक क्षेत्रहरु निर्माण भए । औद्योगिक क्षेत्रलाई क्रमिकरुपमा विस्तार गर्ने क्रममा २०३६ र २०३८ सालमा भक्तपुर र वीरेन्द्रनगरमा जर्मनी र नेदरल्यान्ड सरकारको सहयोगमा औद्योगिक क्षेत्रहरुको विस्तार गरियो भने २०४१ सालमा श्री ५ को सरकारले धनकुटा औद्योगिक क्षेत्रको निर्माण ग-यो ।

यो सबैभन्दा सानो औद्योगिक क्षेत्र हो, जुन ६३ रोपनी क्षेत्रफलमा फैलिएको छ । यो औद्योगिक क्षेत्र चालू अवस्थामा छैन । मित्र राष्ट्र भारत सरकारको सहयोगमा २०४४ सालमा सप्तरीको राजविराजमा राजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको स्थापना भएको हो । देशमा स्थापना भएको यो नै पछिल्लो औद्यागिक क्षेत्र हो ।मुलुकमा रहेका ११ वटा औद्योगिक क्षेत्रले ओगटेको कुल ५ हजार ६८० रोपनी क्षेत्रफलमध्ये ३ हजार ७३१ रोपनी जमिन उद्योगहरुलाई उपलब्ध भएको छ । त्यसै गरी १ हजार २६० रोपनी जमिन सडक, ढल, ग्रिनबेल्ट तथा अन्य सेवामूलक पूर्वाधारहरु र प्रशासकीय कार्यालयले ओगटेको छ । पाटन, भक्तपुर र वीरेन्द्रनगर औद्योगिक क्षेत्रहरुमा कुटिर तथा घरेलु स्तरका उद्योगको बाहुल्यता बढी छ भने पोखरा, बुटवल, नेपालगन्ज, धरान र गजेन्द्रनारायण औद्योगिक क्षेत्रमा साना उद्योग एवम् बालाजु औद्योगिक क्षेत्रमा मझौला तथा ठूला स्तरका उद्योगहरुको बाहुल्यता रहेको छ ।

हेटौंडा, बालाजु, बुटवल तथा भक्तपुर औद्योगिक क्षेत्रहरुमा केही उद्योग वैदेशिक तथा बहुराष्ट्रिय कम्पनीको लगानीमा सञ्चालित छन् । दशवटै औद्योगिक क्षेत्रहरुमा नेपाल सरकारको तर्फबाट करिब रु. २९.३१ करोड लगानी भएको छ भने निजी क्षेत्रले आ–आफ्नो उद्योगमा गरेको कुल लगानी करिब रु. १३६९.६६ करोड पुगेको अनुमान गरिएको छ । मुलुकमा औद्योगिक क्षेत्रहरुको स्थापना र विकासक्रमलाई हेर्दा ६२ वर्ष पूरा भैसकेको छ । २०१६ देखि २०४४ सालसम्म देशमा ११ वटा औद्योगिक क्षेत्रहरु स्थापना भएर कार्यान्वयनमा आए । आजसम्म येनकेन यी ओद्योगिक क्षेत्रहरु रुग्ण अवस्थामा क्रियाशील रहेका छन् । समयक्रमलाई हेर्दा पञ्चायत शासन प्रणालीमा औद्योगिक क्षेत्रहरु स्थापना भए तर २०४६ को राजनीतिक परिवर्तनपछि २०७७ सम्म आइपुग्दा देशमा नयाँ औद्योगिक क्षेत्रहरुको निर्माण गर्नु त कता हो कता, भएका औद्योगिक क्षेत्रहरुको अवस्था पनि दयनीय बन्न पुगेको छ ।

२०४६ पछिका झन्डै ३१ वर्षमा एउटा पनि नयाँ औद्योगिक क्षेत्रको परिकल्पना गर्न नसक्नु कहाँसम्मको विडम्बना हो ?
यी औद्योगिक क्षेत्रहरुमा क्रियाशील रहेका ५९० उद्योगमध्ये अहिले ४५८ उद्योग मात्र चालू अवस्थामा छन् । पञ्चायत शासनको अन्त्यसम्म यी सबै औद्योगिक क्षेत्रहरुमा झन्डै १ लाख ५० हजारले रोजगारीको अवसर प्राप्त गरेका थिए तर आज यो सङ्ख्या घटेर १० हजारभन्दा तल झरेको छ । औद्योगिक क्षेत्रहरुमा उत्पादनको अवस्था पनि प्रायः शून्यजस्तै छ । दिन–प्रतिदिन रोजगारीको अवसर प्रदान गर्दै जानुपर्नेमा भएको रोजगार पनि गुम्न जाँदा आज हजारौं युवा जनशक्ति कामको खोजीमा विदेश पलायन भएको छ । देशको औद्योगिक नीति २०६७ पनि कागजी योजना मात्र बनेको छ । सबै क्षेत्रलाई राजनीतिले आक्रान्त बनाएजस्तै नेपालको औद्यागिक क्षेत्र पनि यसबाट पृथक रहन सकेको देखिँदैन ।नेपालमा औद्योगिक विकास नहुनु र उद्योगहरु धराशायी बन्दै जानुको कारण आफ्ना झोले कार्यकर्ताको भर्ना, सत्ता राजनीतिक हस्तक्षेप र पटक–पटकको चन्दा आतङ्क नै हो ।

राष्ट्रको अर्थतन्त्रको सरचना परिवर्तन हुँदै जाँदा मुलुकमा औद्योगिकीकरणको गति अत्यन्त सुस्त छ । देशमा भएका औद्योगिक क्षेत्रहरुलाई विकसित, रोजगारमूलक, उत्पादनमूलक र सम्पन्न बनाउनुको सट्टा अब प्रत्येक प्रदेशमा एक–एकवटा औद्योगिक क्षेत्र निर्माण गर्ने हौवा पिटिँदै छ । भएका उद्योगहरुलाई संरक्षण गर्न नसक्ने सरकारले चरम भ्रष्टाचार गर्ने आडमा देशलाई अझ सर्वनाश बनाउने दिशामा यस्तो योजनाको परिकल्पना गरिएको हुनुपर्छ । यही कारण देशको जीडीपीमा उत्पादन गर्ने उद्योग क्षेत्रको योगदान घटेर ६५ प्रतिशतमा सीमित हुन पुगेको छ भने कृषिको योगदान ३५ प्रतिशतमा झरेको छ, जुन ज्यादै डरलाग्दो स्थिति हो ।

ओद्योगिक क्षेत्रको विकासमा सुधार नगेरसम्म देशको अर्थतन्त्रमा सुधार कसरी सम्भव छ ? पञ्चायतकालमा देशमा मित्र राष्ट्रहरुको सहयोगमा निर्माण भएका जति पनि उद्योगधन्दा, औद्योगिक संरचना, सामाजिक प्रतिष्ठान, सार्वजनिक संस्थान र कलकारखानाहरु थिए, ती सबै समाजवादी अर्थतन्त्र वा अर्थ व्यवस्थाका दर्बिला आधारशिलाहरु थिए । तर ती सबै निजीकरणको नाउँमा कौडीको मूल्यमा बेचिए । यही कारणबाट आज देशका लाखौं युवा जनशक्तिले आफ्नो रोजगार गुमाएका छन् । देशमा सबै नीतिहरुको मूल नीति राजनीति हो तर देशको राजनीति यति तल्लो स्तरसम्म आऊला भन्ने नेपाली मतदाताले कल्पनासम्म गरेका थिएनन् । तर दुर्भाग्य, त्यही नै भैरहेको छ । निजी स्वार्थ र सत्ता सङ्घर्षका कारण राष्ट्र र नेपाली जनताका यावत् सवालहरु तपसिलमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्