बुद्धकृष्णले आठौंपटक जिब्रो छेडे



पुष्कर बुढाथोकी, भक्तपुर । 

भक्तपुरको बिस्केट जात्राअन्तर्गत मध्यपुर थिमिस्थित बोडेको जिब्रो छेड्ने जात्रामा बिहीबार बुद्धकृष्ण बाग श्रेष्ठले ८औं पटक आफ्नो जिब्रो छेडाउनुभएको छ । मध्यपुर थिमि नगरपालिका–८ बोडेस्थित पाँचो गणेश मन्दिर परिसरमा प्रत्येक वर्ष वैशाख २ गते हजारौं भक्तजनको सामुन्ने जिब्रो छेडिने गरिन्छ ।

बोडेका श्रेष्ठ जातिले मात्रै उक्त जात्रामा जिब्रो छेड्नुपर्ने प्रचलन रहेको छ । जिब्रो छेड्ने व्यक्तिले चैत मसान्तको दिन बोडेको महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि निराहार व्रत बसेर नयाँ वर्षको भोलिपल्ट अर्थात् वैशाख २ गते कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा १० इन्च लामो सुइरोले हजारौं मानिसको अगाडि जिब्रो छेड्ने परम्परा रहेको छ ।जिब्रो छेड्ने सुइरो प्रधान नाइकेले एक महिना अघिदेखि तेलमा डुबाइराखेको हुन्छ । महालक्ष्मी मन्दिरमा परिक्रमा समापन गरेपछि जिब्रो छेडिएको सुइरो झिकिन्छ । सुइरो झिकेपछि घाउ भएको जिब्रोमा महालक्ष्मी मन्दिरभित्रबाट झिकिएको माटो राख्ने परम्परा रहेको छ । उक्त माटो राखेपछि जिब्रो छेड्दा लागेको घाउ ३ र ४ दिनमै निको हुने जनविश्वास रहँदै आएको छ ।

जिब्रो छेडेपछि चन्द्राकारकोे भ्वाय् अर्थात् महाद्विप बोकेर टोल–टोल घुम्ने र भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरमा ठोकेपछि या जिब्रो छेड्ने जात्रा सम्पन्न हुन्छ ।जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएपछि बुद्ध कृष्णले नाट्यश्वरको पूजा गर्नुभएको थियो । विसं २०६१ सालदेखि ०६४ सालसम्म जिब्रो छेडेको बुद्ध कृष्णको आमाको निधनपछि जिब्रो छेड्ने कार्यलाई बोडेको जुजुभाइ बाँस श्रेष्ठले निरन्तरता दिनुभएको थियो । २०६५ देखि भने बुद्ध कृष्णले पुनः जिब्रो छेड्ने कार्यलाई निरन्तरता दिनुभएको हो ।

२०६२ साल अगाडि उहाँकै दाजु कृष्णचन्द्र वाग श्रेष्ठले १२ वर्षसम्म निरन्तर रूपमा जिब्रो छेडेर यो परम्परा जोगाउनुभएको थियो ।बोडेको नीलवाराहीसँग यो जात्रा जोडिएकाले पनि यो जात्रालाई निरन्तरता दिनसके बोडे बासिन्दाका लागि शुभ हुने विश्वास रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्