वीरगन्ज फेरि कोरोनाको हटस्पट बन्ने खतरामा



कृष्णउदास खनाल, वीरगन्ज ।

गत वर्ष कोरोना महामारीले सताएको वीरगन्ज शहर यति बेला फेरि महामारी थेग्न नसक्ने गरी पुरानै अवस्थामा फर्किएको छ । वीरगन्जमा शून्यमा झरेको सक्रिय संक्रमितको संख्या बढेर अहिले १ सय ४५ पुगिसकेको छ । १ सय १४ जना होम आइसोलेसनमा छन् ।

चैत ३१ गते पोजेटिभ रिपोर्ट आएका २५ जना होम आइसोलेसन वा अस्पताल कहाँ बस्ने भन्ने टुंगो लागेको छैन । नारायणी अस्पतालका कोभिड–१९ कोडिर्नेटर डा. सरोज रोशन दासका अनुसार नारायणी अस्पतालको आइसोलेसनमा राखिएका १५ जनामध्ये ५ जना डिस्चार्ज भएका छन् भने ३ जनाको मृत्यु भएको छ । सात जना अहिले पनि अस्पतालमै उपचाररत छन् ।पोहोर यही समयमा पर्सा आसपासमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएको थियो । चैतको अन्तिम साताबाट शुरु भएको कोरोना कहरले भदौको अन्तिमसम्ममा वीरगन्जलाई तहसनहस बनायो । करिब पाँच महिना मात्रै सामान्य रहेको वीरगन्जको जनजीवनमाथि फेरि कोरोनाले धावा बोल्न थालेको छ । पछिल्लो चार दिनमा वीरगन्जमा कोरोनाबाट चार जनाको ज्यान गएसँगै थप त्रास उत्पन्न भएको हो ।

वीरगन्जको नारायणी अस्पतालमा बिहीबार उपचारका क्रममा कोरोना भाइरस संक्रमित एक महिलाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–२ छपकैयाकी ४२ वर्षीया महिलाको बिहान ८ बजेर १६ मिनेट जाँदा उपचारका क्रममा मृत्यु भएको नारायणी अस्पतालका कोभिड–१९ कोर्डिनेटर डा. सरोज रोशन दासले जानकारी दिनुभयो । स्वास्थ्यमा समस्या देखिएपछि गत चैत २९ गते राति नारायणी अस्पतालमा भर्ना भएकी महिलाको चैत ३० गते पीसीआर परीक्षणका क्रममा संक्रमण पुष्टि भएको थियो ।शुरुको दिनदेखि नै स्वास्थ्य अवस्था चिन्ताजनक रहेको बताइएको ती महिलाको अस्पतालमा रहेको कोभिड आईसीयू वार्डमा अक्सिजन सपोर्टमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको बताइएको छ । महिलाको मृत्युसँगै पर्सामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ । नारायणी अस्पतालमा संक्रमणका कारण ३ दिनयता दुई पुरुष र एक महिलासहित ३ जनाको मृत्यु भएको छ ।

छिमेकी मुलुक भारतमा तीव्ररूपमा संक्रमण बढेकाले त्यसको प्रत्यक्ष असर वीरगन्जमा पर्ने र विगतमा जस्तै फेरि वीरगन्ज कोरोनाको हटस्पष्ट बन्ने आशंका यतिखेर वीरगन्जमा व्याप्त भएको छ । विगतमा जस्तो कोरोनाका बारेमा विल्कुलै जानकारी नभएको, प्रयोगशाला, जनशक्ति र अस्पताल नभएको अवस्था अहिले होइन तर महामारी सकिएको ठानेर ती संयन्त्रलाई तयारी अवस्थामा नराख्दा फेरि उस्तै समस्या दोहरिने उत्तिकै जोखिम देखिएको छ ।गत वर्ष नारायणी अस्पताल, गण्डक अस्पताल, वीरगन्ज हेल्थ केयर र नेसनल मेडिकल कलेजले कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टरको व्यवस्था गरेका थिए । तर, अहिले नारायणी अस्पतालमा ३५ बेडको आइसोलेसनबाहेक अरु कुनै पनि आइसोलेसन सेन्टर सञ्चालनमा छैन ।

प्रतिक्रिया दिनुहोस्