तिमल्सिना समाज र विन्धबासिनी प्रतिष्ठानले गर्‍यो विदाई, बधाई तथा सम्मान



मोतीराम तिमल्सिना, काभ्रे ।

तिमल्सिना समाज काभ्रे र विन्धबासिनी तिमल्सिना प्रतिष्ठानले बनेपामा एक कार्यक्रमको आयोजना गरी पत्रकार महासंघ काभ्रेबाट निर्वतमान हुनु भएका मोतीराम तिमल्सिना, ईलाका प्रहरी कार्यालय बनेपाबाट सरुवा हुनु भएका योगेन्द्र तिमल्सिना, पत्रकार महासंघ काभ्रेमा निर्वाचित हुनु भएका अध्यक्ष बद्रिराज तिमल्सिना सहित अन्य पदाधिकारीहरुलाई विदाई, बधाई तथा सम्मान गरेको छ ।

‘नेपाल पत्रकार महासंघ काभ्रे शाखाको अध्यक्ष रहँदा पत्रकार मोतीराम तिमल्सिनाले पत्रकार महासंघ नागरिकहरुको अगुवा संस्था हो, जसले नागरिकहरुको हक र अधिकारका लागि बोलिरहन्छ भन्ने उदाहरण प्रस्तुत गरी महासंघलाई जिल्लाकै अग्रणी सामाजिक संस्थाका रुपमा स्थापित गर्नु भयो’–तिमल्सिना समाजका पुर्व सचिव एवं शिक्षक संघ बागमती प्रदेशका अध्यक्ष नारायण तिमल्सिनाले भन्नुभयो–‘उहाँको नेतृत्व र कार्यकुशलताले शिर निहुराउनु पर्ने अवस्था सिर्जना भएन । निर्वाचित समितिले पनि यो गतिलाई निरन्तरता दिन आवश्यक छ ।’

प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाले इलाका प्रहरी कार्यालय बनेपामा १६ महिनाको अवधीमा जिल्लाको अपराध नियन्त्रण, अनुसन्धान तथा नागरिकहरुको शान्ति सुरक्षामा महत्वपूर्ण भूमिका खेल्नु भएकाले आगामी दिनमा जहाँ जहाँ जिम्मेवारीमा पुगे पनि काभ्रे जिल्लामा रहँदा भन्दा अझै अग्रणी भई सेवा गर्न थप हौसला प्रदान गर्ने गरी कार्य गर्न नारायण तिमल्सिनाले अनुरोध गर्नु भयो । मोतीराम र योगेन्द्रलाई नेतृत्वमा रहँदा राम्रो कार्य गरेको भन्दै सम्मान गरिएको विन्धबासिनी तिमल्सिना प्रतिष्ठानका अध्यक्ष केशवप्रसाद(केदार) तिमल्सिनाले बताउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिना, कोषाध्यक्ष केदारनाथ तिमल्सिना, कार्य समिति सदस्यहरु मोहनकृष्ण तिमल्सिना र बदि तिमल्सिना, प्रदेश परिषद् सदस्य लक्ष्मण तिमल्सिनालाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै सम्मानित ब्यक्तित्व पत्रकार महासंघका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक योगेन्द्रै तिमल्सिना, पत्रकार महासंघका अध्यक्ष बद्रिराज तिमल्सिनाले इतिहासले सुम्पिएको जिम्मेवारीलाई परिवार, समाज र राष्ट्रको शिर तल नहुने गरी कार्य गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।

कार्यक्रममा तिमल्सिना समाजका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, बेथान्चोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, शिक्षक संघ बागमती प्रदेशका अध्यक्ष नारायण तिमल्सिना, तिमल्सिना समाजका उपाध्यक्ष बद्रि तिमल्सिना, रामप्रसाद तिमल्सिना लगायतले तिमल्सिना समाज र प्रतिष्ठानले गरिरहेका गतिविधि र आगामी दिनमा गर्नु पर्ने कार्यसँगै जिम्मेवारीमा रहँदा इमान्दारीता पुर्वक कार्य गर्न अनुरोध गर्नु भयो । कार्यक्रममा तिमल्सिना विन्धबासिनी प्रतिष्ठान र तिमल्सिना समाजका ब्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्