जोहन्सन एन्ड जोहन्सन खोप प्रयोग नगर्न आह्वान



वासिंगटन, (एजेन्सी) । 
अमेरिकी स्वास्थ निकायहरूले कोभिड १९ विरुद्ध जोहन्सन एन्ड जोहन्सन कम्पनीले निर्माण गरेको खोप प्रयोग नगर्न आह्वान गरेका छन् । यस खोपको कारणे शरीरमा रगत जम्ने दुर्लभ किसिमको खतरनाक समस्या देखिन थालेपछि यस्तो आह्वान गरिएको हो । खाद्यान्न तथा औषधि प्रशासन ( एफडीए ) ले यसको प्रयोगप्रति सचेत हुनु जरुरी भएको जनाएको छ ।

६८ लाख डोजभन्दा बढी खोप दिइने क्रममा छ वटा नराम्ररी रगत जम्ने घटना देखिएको बताइएको छ । यसअघि कोरोना विरुद्ध नै प्रयोग हुने गरेको एस्ट्राजेनेका खोपमा पनि यस्तै समस्या देखा परेपछि विश्वका थुप्रै मुलुकमा त्यसलाई प्रतिबन्ध लगाइएको थियो ।एफडिएले ट्विट गरेको छ , ‘हामी र रोग नियन्त्रण तथा रोकथाम केन्द्र ( सीडीसी ) ले अमेरिकामा नै भेटिएका यस खोपको कारण रगत जम्न गएको छ वटा घटनामाथि छानविन गरिरहेका छौं । तिनीहरूमा सेरेबरल भेनस साइनस थ्रोम्बोसिस (सीभीएसटी) नामक रगत जम्ने समस्या देखिएको हो । यस प्रकारको समस्याका लागि सामान्यभन्दा पृथक किसिमको उपचार विधि अपनाउनु पर्ने हुन्छ । यसका लागि सामान्यतया शरीरमा रगत जम्ने समस्या समाधानका लागि दिइने ‘हेपारिन’ नामक औषधिको प्रयोगसमेत खतरनाक हुनसक्छ ।

खोप लगाएको ६ देखि १३ दिनभित्र यो समस्या १८ देखि ४८ वर्ष उमेर समूहका छ जना महिलामा देखिएको हो ।सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै ‘दि न्युयोर्क टाइम्स’ले यसबाट एक जना महिलाको मृत्यु भइसकेको र नेव्रास्कामा अर्को एकजनाको स्थिति निकै चिन्ताजनक रहेको बताएको छ ।एफडिए र सीडीसीद्वारा निकालिएको संयुक्त विज्ञप्तिमा भनिएके छ, ‘जे एन्ड जे’ खोप लगाएको तीन साताभित्र बेस्सरी टाउको, पेट, खुट्टा दुख्ने वा श्वास फेर्न गाह«ो हुने जस्ता समस्या देखिएमा तत्काल सम्बन्धित स्वास्थ निकायमा सम्पर्क राख्नुपर्छ । ’संयुक्त राज्य अमेरिका , दक्षिण अफ्रिका र युरोपेली संघले यस खोपलाई रोक लगाउने निर्णय गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्