भारतको महाराष्ट्रमा अत्यन्त कडा स्वास्थ्य सुरक्षा व्यवस्था



नयाँदिल्ली, (एजेन्सी) । 

भारतको सबैभन्दा बढी कोरोना भाइरस महामारी पीडित राज्य महाराष्ट्रले स्वास्थ सुरक्षासम्बन्धी नयाँ तथा निकै कडा नियमहरू लागु गर्ने घोषणा गरेको छ ।

महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरीले यस स्थितिलाई लकडाउनकै संज्ञा दिन नरुचाहे पनि आगामी पन्ध्र दिनसम्म अत्यावश्यक सेवाहरूबाहेक अन्य सम्पूर्ण कुरा ठप्प रहने घोषणा गरेका छन् ।ठाकरीले चारजनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन तथा अत्यावश्यक परिस्थितिमा बाहेक सार्वजनिक यातायातको साधन प्रयोग गर्न नपाइने जानकारी दिएका छन् ।पत्रकार सम्मेलनमा ठाकरीले भनेका छन्, ‘युद्ध शुरू भइसकेको छ । अब कामकुरो अघि बढाउने समय हो । म यस स्थितिलाई लकडाउन भन्दिनँ । बरू यो हामीले केही कडा नियम पालना गर्नुपर्ने अवस्था मात्रै हो । मलाई थाहा छ रोजीरोटी जति नै मानिसहरूको जीवन पनि त्यतिकै महत्वपूर्ण छ । अहिले संक्रमितहरूको उपचारका लागि अक्सिजनको आवश्यकता अझै धेरै छ । यसको सर्वसुलभ आपूर्ति सेनामार्फत गरिने छ ।

भारतको सबैभन्दा धनी राज्यको रूपमा चिनिने महाराष्ट्रमा विश्व प्रसिद्ध चलचित्र उद्योग रहेको मुम्बई पनि पर्दछ । सोमबार मात्र यस राज्यमा ५१ हजार ७ सय ५१ जना नयाँ संक्रमित थपिएका छन् भने २ सय ५८ जना व्यक्तिको ज्यान गएको छ । भारतीय प्रधानमन्त्री नरेन्द« मोदीले स्वास्थ विशेषज्ञहरूको टोलीलाई त्यहाँ गएर नाटकीय ढंगमा एक्कासी संक्रमण बढ्नुका कारण पत्ता लगाउन अनुरोध गरिसकेका छन् ।तर, गत साता कार्यान्वयन गरिएको रात्रिकालीन कफ्र्यु र सार्वजनिक भेलामाथिको प्रतिबन्ध पनि आगामी पन्ध्र दिनसम्म जारी नै रहने बताइएको छ । भारतमा अहिलेसम्म १ करोड २५ लाख मानिस संक्रमित भएको र करिब १ लाख ६५ हजार जनाको ज्यान गइसकेको पुष्टि भइसकेको छ । भारतले अहिलेसम्म आफैले तयार पारेको कोभिसिल्ड र कोभ्याक्सिन खोप आगामी जुलाईसम्ममा २५ करोड जनसंख्यालाई लगाइसक्ने लक्ष्य लिएको छ ।

साथै मंगलबार भारत सरकारले आपतकालीन अवस्थामा ‘रिसयाको स्पुटनिक –५’ को प्रयोग गर्ने अनुमति दिनुका साथै चाँडै नै फाइजर, मोडर्ना र जोहन्सन एन्ड जोहन्सन खोपलाई पनि आधिकारिकता दिइने संकेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्