सुदूरको नयाँ वर्ष ‘बिसु’



बिसु पर्व विषेश गरी सुदूरपश्चिमका सातवटा पहाडी जिल्लामा मनाइन्छ । जसमा अछाम, डोटी, डडेल्धुरा, बझाङ, बाजुरा र बैतडी पर्दछन् । यो पर्व वैशाख १ गते मनाउने प्रचलन रहेको छ ।

देवर–भाउजू, नन्द–भाउजू र साली–भिनाजुहरूले एक–आपसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्छ । देवर नहुने र नन्द नहुने भाउजू, भाउजू नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैंले भए पनि शरीरमा सिस्नु लगाउनुपर्ने परम्परा छ ।हरेक वर्ष बिसु पर्वमा मीठा–मीठा खानाका परिकार पकाउने र सिस्नु लगाउने प्रचलन रहिआएको छ । बिसुका दिन सिस्नु लगाउँदा वर्षभरि शरीरमा कुनै पनि रोग नलाग्ने विश्वास गरिन्छ । विशेष गरी देवर–भाउजूबीच सिस्नु लगाउन जुहारी नै चल्छ । तर पछिल्लो समय भने बिसु पर्वमा सिस्नु लगाउने चलन बिस्तारै कम हुँदै गएको छ ।

बिसुको अवसरमा देउडा खेल्ने, विभिन्न प्रतियोगिता सञ्चालन गरी रमाइलो गर्ने गरिन्छ । बिसु पर्वको दिन शरीरमा सिस्नु लाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास रहेको छ । बिसु तिहारमा महिलाहरूले पुतला नाच खेल्ने र पुरुषहरूले बिसु बाघ बनाएर दौडाउने गर्छन् । यसपालि पनि केही दिनपहिलेदेखि नै अछाम, बाजुरालगायत जिल्लाका गाउँमा महिलाले पुतला खेल शुरु गरेका थिए । बिसु तिहारकै दिन कुलदेवताको पूजा गरी ‘गतानी’ डुब्का (स्थानीय खानाको परिकार) पकाएर खाने चलन छ ।

हिन्दू सम्राट विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुशीयालीस्वरूप यो पर्व मनाउने गरिएको विश्वास गरिन्छ । सूर्यले पृथ्वीको परिक्रमा वैशाख १ गते पूरा गरेको विश्वासमा पनि यो पर्व मनाइने गरेको किंवदन्ती छ । नयाँ वर्ष, बिसु तिहारका साथै चैते दशैंसमेत यसै महिना परेकाले नोकरीको सिलसिलामा भारतमा रहेका कतिपय सुदूरपश्चिमेली एक साताअघिदेखि नै घर फर्किने गर्दछन् ।बिसुपर्वलाई प्रायः हिन्दू धर्म मान्नेहरूको बस्ती भएका प्रत्येक ठाउँमा मनाउने गरेको पाइन्छ । नेपाललगायत भारतको कतिपय ठाउँहरूमा यो पर्वलाई बैसाखीको नामले चिनिन्छ । बैशाखीको दिनमा गंगा स्नानको ठूलो महत्व छ । भारतको हरिद्वारमा यस पर्वको दिन नेपाल तथा भारतका विभिन्न स्थानबाट ठूलो संख्यामा स्नानार्थीहरू गंगास्नान गर्नको लागि आउने गर्दछन् ।

बिसुपर्वलाई कतिपय ठाउँमा बिसुसङ्क्रान्ति पनि भनेको सुनिन्छ । त्यस्तै कतिपय ठाउँमा यसलाई बिखतीको तिहार, बिसु पुज्ने दिन पनि भनिन्छ । भारतको आसाम राज्यमा यस पर्वलाई बिहु पर्व भनेर मनाइन्छ । नेपालको पश्चिमी भेगमा यस दिन महिलाहरूले बिसु पूजा गर्दछन् । नयाँ वर्षको उपलक्ष्यमा प्रत्येक ठाउँमा बिसु पर्वको राति गल्लौडीको जात्रा लगाएर रमाइलो गर्ने प्रचलन पनि रहेको छ ।
– सुमन ओझा, डडेल्धुरा 

प्रतिक्रिया दिनुहोस्