के हामीमा‘गुट’ बहिष्कार गर्ने हिम्मत छ ?



रमेश भट्टराई ‘सहृदयी’

नेपाली राजनीतिभित्रअहिलेकै अवस्थालाई मूल्याङ्कन गर्ने हो भने असल संस्कार र नेतृत्वको अभाव छ । नेपाली युवाले साथ दिएकाले भीडका बीचमा नेतृत्वहरू आक्षेप–पटाक्षेप गरिरहन सबल भए । जनताले साथ दिने अनि नेताले जनताको नाम भज्ने तर कुर्सीको मोहमा लड्ने संस्कार बलियो बन्दै गइरहेको छ । तुलोमा राख्ने हो भने अहिलेको राजनीतिक शून्यताका दोषीमध्ये सत्तामा जुहारी खेल्ने दुवै खेमा उत्तिकै भागीदार छन् ।

पाँच वर्षका लागि पाएको अधिकारलाई कुर्सीकै बचाउ र हटाउमा खर्चिरहँदा समय र राज्यको ढुकुटीमा पनि त दाइँ भइरहेको छैन र ? एउटै सबल रहेको पार्टीभित्र पक्ष–विपक्षको हिंसात्मक भाषा र व्यवहारमा हामीले नै बल प्रदान ग-यौँ ।सोचगत शत्रुताले मुलुक राजनीतिक वितृष्णाको भूमरीमा जेलिइरहेको छ । कोदो र तोरीजस्तै अमिल्दो देखिन्छ । विकासतिर होमिने अमूल्य समय आन्तरिक खिचातानीमा फसिरहँदा आखिर जनताले ती स्वार्थजनिन विचार र व्यवहारमा विमर्श पनि ग-यौँ त ?झन्डै बहुमत प्राप्त गरेको नेपाल कम्युनिस्ट पार्टीको दुईकित्ते विभाजनले अभावमा बाँचेकालाई दबाब र प्रभावमा पारिरहेकै छन् । यदि प्रधानमन्त्रीद्वारा अदालती निर्णयपूर्वकोनेकपाका अर्का अध्यक्ष प्रचण्डलाई‘पार्टी अध्यक्ष तपाईं चलाउनुस्, म प्रधानमन्त्री चलाउँछु’ भन्ने सहमति भएको भए यी सबै घटना हुने नै थिएनन् । त्यसैले यो स्वार्थको परिणति मात्रै हो। त्यो भनेको पदलिप्साकै तहमा दुईजनाको बेमेल मात्रै हो । आज त्यसको परिणाममा सारा नेपाली जनता पीडित छन् । मुलुक विकास र समुन्नति बिर्सेर आन्दोलन र जुलुसको बेकामे स्वार्थजालमा फस्यो । यो त केवल स्वार्थको अङ्कगणितसिबाय अरू केही पनि होइन ।

हिजोको त्यो सडकको भीडले पार्टीको नाममा होटलमा खाने, बस्ने, पेट्रोल हाल्ने, झन्डा बनाउने, पर्चा, पम्प्लेट, ब्यानर छाप्ने नाउँमा कति खर्च ग¥यो ?के कुनै पार्टीले त्यो खर्च र शक्ति प्रदर्शनको साटो गरिबहरूका लागि केही सेवा गरौँ र जनताको मन जितौँ भनेर पनि सोच्ला त ? के विपन्नको आर्थिक स्थिति सुधार गर्ने कार्यमा पनि त्यसरी नै त्यो भीड एकताबद्ध हुन सक्छ ?जनताको मन जित्न लाखौँ खर्चेर शक्ति प्रदर्शन गर्नेले जनताकै सेवा गरेर जनमतलाई तान्ने शैलीलाई अपनाउने हो भने शायद त्यो एउटा परिवर्तनकारी क्रान्ति साबित हुने थियो । दिनभरि श्रम गरेर बेलुका छाक टार्नेको अवस्थालाई घोषणापत्रमा राखेर महलमा भुजा ज्युनार गर्ने-गराउने राजनीतिक परिपाटीका पछि लाग्ने हामी जनता साँच्चै अचम्मकै प्राणी पनि हौँ । पत्रकारहरूले, नेपाल प्रहरीले, सुरक्षा निकायले दिलो ज्यान दिएर स्वार्थजनित भीडभित्र सेवा, सुरक्षा दिएका कुरा कति गम्भीर होलान् ।एकातिरबाट आदेश, अर्कातिरबाट दबाबको मारमा पर्ने सुरक्षा निकायको बाध्यता कति अचम्म लाग्दो हुने रहेछ ।

हिजो २००७ सालदेखि २०४६ को अवस्था, २०५२ देखि माओवादी द्वन्द्व, ०६२-०६३ को आन्दोलन हुँदै अस्थिर सरकारको क्रमिकतादेखि आजसम्म जनताले गरेका दर्जनौँ आन्दोलनको परिघटनाले एउटै लक्ष्यमा पाइलो टेक्न खोजेको हो– मुलुकमा स्थिर शान्ति र उच्च समृद्धि चाहिएको छ । बलिको बोको बन्न रुचाइरहने कार्यकर्ताले देखेको राजनीतिक परिवर्तन केवल चाकडी मात्रै हो । आपसमा शत्रुता साँधेपछि मुलुकको स्थिरता र विकासमा बाधा नै हुने कुरामा जनसचेतना आवश्यक छ । जब–जब नेताको स्वार्थ अधुरो हुने स्थिति हुन्छ तब–तब जनतालाई ढाल बनाएर भाँड्ने र लडाउने होड चलिरहन्छ । नेता तबसम्म मात्र नेता हुन्छ, जबसम्म जनताले उसलाई साथ दिन्छ । तर कुनै पनि पार्टीले कसको चुलो बल्दैन, को दुःखी छ भनेर तिनलाई पहिचान गर्ने र सहयोग गर्ने होडबाजी गरेको कहिल्यै देख्न पाइन्छ र ? कोरोना महामारीको अर्को डरलाग्दो रूप आयो भन्ने सुन्दासमेत बेवास्ता गरेर हामी अनिवार्य आवश्यकताको व्यवस्थापनका विषयमा चिन्तित हुँदैनौँ । यत्तिका समय कामधन्दा ठप्प भएर बल्लतल्ल यसो सञ्चालन हुन लागेको व्यवसायलाई भन्दा पार्टीकै भक्त भएर कुर्लने मान्छेले साँच्चै विकासमुखी भावनातिर, जनताको ठोस परिवर्तनका विषयमा चिन्ता र चासो रोख्ने गरेको छ ।

पछिल्लो घटनाक्रमले हाम्रो मुलुकलाईराजनीतिक संगठनको अभ्यास गर्नेएउटा मैदान बनाइदियो ।स्थिर प्रजातान्त्रिक सरकारको अपेक्षा गरेर बहुमत प्रदान गर्दासमेत थाङ्थिलो पारेपछि आपूm राम्रो हो भन्ने पुस्ट्याइँमा नेकपाको दुई कित्ता डटेर लागेको छ ।संगठन विस्तारको अग्निपरीक्षामा होमिने होडबाजी छ । तथापि, जनता बेरोजगार भएकैले पनि नेताका पछि ठूलो भीड जम्मा हुने रहेछ । अहिलेकै परिवेशलाई हेर्ने हो भने त सबैजसो भनिएका नेतृत्वमा कुर्सी र सत्तामोहको नशा चढेको मात्रै देखिन्छ । जनताको दिमाग भुटेर उही स्वार्थको ढोल पिट्ने होडबाजीमा लाग्दा मुलुक परिवर्तनको दिशाबाट विमुख हुन्छ ।पार्टी चाहिन्छ तर गुटलाई बहिष्कार गर्छु भन्ने हिम्मत अबको आवश्यकता हो । विभाजित दुई शक्तिले आपूmलाई जतिसुकै पानीमुनिको ओभानो बनाउने प्रयास गरे पनि त्यो सबै जनअभिमतमाथि गरिएको नृशंस हत्या होइन र ? को बाध्यतामा प-यो र किन कोचाहिँ अटेरी बन्यो भन्ने विषयको पुस्ट्याइँले जनताको आशा र मुलुकको समृद्धिसँग बिलकुलै सम्बन्ध राख्दैन ।

सर्वसाधारण जनताको मनलाई खण्डीकृत तुल्याउने र सत्तामोहमा लहसिने बुद्धिलाई समर्थन वा विरोध गरेर भन्दा गुटवादको विपक्षमा रहेर विकासको एकसूत्रे अभियान पनि त आवश्यक छ ।अब त ‘नो भोट’ अर्थात् ‘म राजनीतिक नेतृत्वप्रति असहमत छु’ वा ‘म भोट दिन्न’ भन्ने र कचिङ्गलप्रेमी नेतालाई बिदाइ गर्ने सोच पनि चाहिन्छ ।तब मात्रै गुटको झोला बोकेर हिँड्ने चाकडीबाज एकाएक विकासवादतिर मोडिन पनि त सक्छ । वास्तवमा वर्तमान राजनीतिक किचलो राष्ट्रवादी भावना विपरीत व्यक्तिगत हिसाब र पद नमिलेको माथापच्ची मात्रै हो । एकपटक सोचौँ– अरूबेला विकासका लागि छिरिक्क सहयोग गर्न नसक्ने पार्टीले चुनावका समयमा कसरी लाखौँ खर्चिन्छ? चाहे कोरोना महामारीका बेला जनता भोको हुँदा एकमाना चामल र एउटा ओछ्यान दिने मन नहोओस् तर चुनावमा नेताजीले पैसाका बिटा सर्वहारा वर्गलाई बाँड्ने होडबाजी गर्नुहुनेछ ।

त्यतिखेर हरेक नागरिक नागरिक होइन, एक भोटको मूल्यमा गनिने छन् । एकपटक सोचौँ– यत्तिका धेरै पार्टीले प्रचारका नाममा, आन्दोलन र विरोधका नाममा गर्ने गरेका खर्चका बिटालाई अख्तियारले किन खोजी गर्दैन ? यो कुरा त प्रस्ट छ तर सबैले झीनो स्वार्थमा बिक्नुलाई आवश्यक ठान्छन् ।वास्तवमा कस्तो र कुन सिद्धान्त कति बलियो भन्ने कुराले पनि विपन्न मुलुकमा उस्तो असर पार्दैन । जनतामा त केवल समृद्धि, सुशासन र रोजगारको उचित प्रबन्धको आवश्यकता र तीव्र चाहना मात्रै छ । घोषणापत्रका पानामा जनता झुक्याउन कोरिएका कनिकुथी विचारमा अडिने अक्षरले जनताको बिहान–बेलुकाको जोहो गर्दैन । अरू जे कुरा गरे पनि हामी जनताचाहिँ ‘साँढेको जुधाइ बाच्छाको मिचाइ’मा परिरहेकै छौँ । यो पुस्ता केवल किचलोमा नै बित्ने भयको अन्त्य गर्ने बारे जनता नै सचेत हुनु आवश्यक देखिन्छ ।

विपन्नको वेदना, दूरदराजको मानिसको व्यथा, बेरोजगारको छटपटी, अस्थायी जीवन बाँच्ने मानिसको दुर्दशा, विसङ्गतितिर अलिकति चासो नहुँदा पनि हामी भीडका पछि लाग्ने रहेछौँ । वर्तमान राजनीतिको नाङ्गो नृत्यभित्रको गुह्य स्वार्थाचारी भावनालाई जनताले ब्रह्म खोलेर हेरेनौँ । आखिरमा वार्ता र सहमति गरेर उत्तम विकल्प रोज्नुभन्दा उत्तम विकल्प केही होइन । अब जनतालाई श्रम, समय र सम्पत्ति खर्च गर्ने÷गराउने कुरामा दबाब आवश्यक छ । जनतालाई हैरानी नदिने अर्थात् जनतालाई आफ्नो काम गर्न दिने परिपाटी बसाउने गरी खबरदारी गर्नुमा बढी बुद्धिमानी हुने देखिन्छ ।नेपालमा राजनीतिक वितृष्णा यति धेरै छ, जबकि जनताले औँला भाँचेर राष्ट्रवादी नेतालाई गन्न खोज्दा शून्य अंक नै स्थिर भइरहने अवस्था छ । यो प्रजातान्त्रिक मुलुकका लागि असह्य विडम्बना पनि हो । यसर्थ जोसुकैले जिते पनि जनताले त ‘नहुनु मामाभन्दा कानो मामा जाती’ भन्ने दरमा नेतृत्वलाई भोट दिनुपरेको हुन्छ । तर हामीमध्ये कसैले पनि ‘तिमीहरूले हिजोदेखि नै धोका दिइरहेका छौ, अब यो अन्तिम चेतावनी हो– कि काम गर कि छोड’ भन्ने आँट गरेका छैनौँ । भोटको हिसाब मागेका छैनौँ ।

केवल हजु-याइँ र समर्थन वा खुनखोत्रो अर्थात् पक्ष–विपक्षमा तर्क गरेका छौँ । चाहे जस्तोसुकै आन्दोलन हुने भए पनि जुनकुनै हिसाबमा मुलुकको समय, श्रम र सम्पत्ति खर्च हुने हो । बरु त्यो भौतिक चीजलाई विपन्नको हितमा खर्चेर सकारात्मक कर्म गर्नु आवश्यक छ । वास्तवमा अब त यो समयलाई सञ्चार क्रान्तिको युगमा बदल्नुपर्ने देखिन्छ । बरु सञ्चार जगत्ले निष्पक्ष न्यायका लागि खबरदारी गर्नु आवश्यक छ । स्वतन्त्र र स्वच्छ विचारलाई न्यायसम्मत धारबाट पस्केर परिवर्तनकामी बन्नु जरुरी छ ।यस कार्यमा जनताले कसैको पाले–पहरे भएर होइन, जनता नै भएर हातेमालो गर्न सिक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्