कोरोनाका कारण अस्तव्यस्त नेपाली खेलकुद



कविरस शर्मा

कोभिड–१९ महामारीका कारण वर्ष २०७७ कष्टपूर्ण रह्यो । यो क्रम अझै पनि पूर्णतया रोकिएको छैन । कोरोनाको प्रकोप कहिले निर्मूल होला भनेर यकिनका साथ भन्न सक्ने अवस्था पनि छैन । तर, बितेका ६–७ महिनायता कोरोनाबाट बच्न अपनाइएका सुरक्षा प्रोटोकोल र भ्याक्सिनका कारण भने दैनिकी सामान्यकरणतिर उन्मुख भएको मान्न सकिन्छ । विश्व नै कोरोना महामारीले अस्तव्यस्त बनिरहँदा खेलकुद क्षेत्र पनि त्यसको चंगुलमा नपर्ने कुरै रहेन ।

वर्ष २०७७ को सुरूवातका पाँच महिना त सुनसान नै रह्यो नेपाली खेलकुद । २०७७ को शुरूवातका केही महिना भर्चुएलका माध्यमबाट बाहेक अन्य खेल गतिविधि ठप्प नै रह्यो । जसले गर्दा थुप्रै खेल प्रतियोगिताहरू प्रभावित बन्नुका साथै खेलकर्मीहरूलाई पनि प्रत्यक्ष असर ग-यो ।कोरोनाका कारण प्रत्येक चार वर्षमा हुने ओलम्पिक, युरो कप जस्ता प्रतिष्ठित खेल महाकुम्भले निरन्तरता पाउन सकेन । कोरोनाले नेपाली खेलकुदलाई पनि प्रभावित बनायो । कोरोनाका कारण नेपाली खेलकुदलाई ठ्याक्कै कति घाटा लाग्यो भन्ने तथ्यांक कसैसँग पनि छैन र तथ्यांकका लागि खेलकुद निकायले पनि त्यति चासो दिएको देखिँदैन ।

संसारका विकसित देशका खेलकुदमा कोरोनाले पारेको क्षतिको हिसाब सार्वजनिक भए पनि नेपालमा भने सम्बन्धित निकायले त्यस प्रकारको अनुसन्धानमा गम्भीरता देखाएको पाइँदैन ।हुनत भर्चुएलका माध्यमबाट विभिन्न खेलका नेपाली खेलाडीहरूले अन्तराष्ट्रिय पदक जित्नुलाई सुखद नतिजा मान्न सकिन्छ, तर भर्चुएलबाहेक अन्य खेल गतिविधि नहुँदा समग्र नेपाली खेलकुदको लय भने बिग्रियो । सानो अर्थतन्त्र भएको हाम्रो जस्तो देशका लागि झन्डै ६ महिनाभन्दा लामो समय खेलकुद गतिविधि ठप्प भएपछि खेलाडीहरू मारमा प-यो । आम्दानीको मुख्य स्रोत पुरस्कार रकम भएका खेलाडीहरूका लागि त कोरोना अभिशाप नै बन्यो । त्यसबाहेक प्रतियोगिता नभएकाले स्तर खस्कने र आर्थिक समस्याको दोहोरो मारमा खेलाडीहरू परे । खेलाडीको मनोविज्ञान, प्रशिक्षण र प्रतियोगितामा क्षति पुग्यो ।
कोरोनाका कारण नेपालका प्रायः सबै खेल संघहरू पनि आर्थिक कठिनाईबाट गुज्रियो । सरकारले प्रशिक्षण सुरू गर्न भनेपनि कतिपय संघले आर्थिक कमजारीकै कारण प्रशिक्षण गराउन सकेका छैनन् ।

कतिपय संघले भने आगामी दिनमा हुने अन्तराष्ट्रिय प्रतियोगितालाई ध्यानमा राखेर मात्र सिमित खेलाडीलाई प्रशिक्षणमा राखेका छन् । त्यसैले, खेलकुदका लागि सबै कुरा सामान्य हुन केही वर्ष लाग्ने अनुमान गर्न सकिन्छ । त्योबाहेक रोकिएको कतिपय खेल संघको चुनावको काम पनि अघि बढ्न सकेको छैन । त्यस्तै, खेलाडीलाई लयमा फर्किनका लागि कति समय लाग्छ भन्ने पनि यकिन छैन । खेलाडी र प्रशिक्षक मात्रै साधारण अवस्थामा फर्किएर मात्र पनि पुग्दैन, संघ पनि सामान्य अवस्थामा फर्किनुपर्छ । अझ त्यो भन्दा ठूलो कुरा त प्रतियोगिताहरू गर्नका लागि स्रोतकै कमि छ । प्रायोजक चाहिने हुँदा व्यापारिक संस्था पनि सामान्य अवस्थामा फर्किन आवश्यक छ ।जुन समयमा कोरोनाका कारण लकडाउन भयो, त्यस समयमा डेढदेखि दुई दर्जन प्रतियोगिता आयोजनाका लागि सूचीकृत थिए । त्यसमा मुख्यतः प्रधानमन्त्री कप क्रिकेट, उपराष्ट्रपति कप, राष्ट्रपति कप, सभामुख भलिबल, स्पेशल खेलकुद प्रतियोगिता, चिल्ड्रेन कप लगायतका प्रतियोगिताहरू थिए ।

जसको प्रत्यक्ष असर खेलाडीले पाउने पुरस्कार र खर्चमा प-यो । पूर्वाधार निर्माण र कार्यक्रमको लेखाजोखा गर्ने हो भने त करिब ६० देखि ७० करोड रुपियाँ कोरोनाका कारण प्रभावित भएको अनुमान गर्न सकिन्छ । साथै, प्रतियोगिताका बेला आयोजकले विज्ञापनबापत खर्च उठाउने हिसाबको पनि छुट्टै नोक्सानी भयो । कोरोनाका कारण महिनौं ठप्प बनेको नेपाली खेलकुदलाई समान्य अवस्थामा कसरी ल्याउने भनेर खेलकुदका निकायहरूले योजना बनाउन तदारुकता देखाउन सकेको छैन । आगामी दिनमा नेपालको घरेलु खेलकुद कसरी अगाडि बढ्छ भन्ने अन्योल कायमै छ । जसको असर नेपाली खेलकुदमा लामै समयसम्म पर्ने देखिन्छ ।कोरोनाका कारण गरिएको लकडाउनले गर्दा ‘ए डिभिजन’ क्लबहरूलाई खेलाडीको पारिश्रमिक दिन समस्या परेको थियो । कोरोनाका कारण ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताहरू स्थगित भए । यद्यपि, नेपाल ओलम्पिक कमिटीले भने ओलम्पिक छनोट प्रतियोगिता खेल्न तयार खेलाडीहरूलाई मनोवैज्ञानिक प्रशिक्षण दिएका थिए ।

तर, त्यसले समग्र खेलाडीको समस्या सम्बोधन गर्न नसकेको गुनासो पनि सुनियो । कोरोनाले खेलाडीको प्रशिक्षणमा असर त ग-यो नै लकडाउनका कारण नियमित प्रशिक्षण हुन नसक्दा उनीहरूको स्तर पनि खस्कियो । तैपनि, केहीमा भने सुखद नतिजा आत्मसात गर्न सफल भयो ।गत पुसदेखि मात्र आंशिक रूपमा चल्मलाउन थालेको नेपाली खेलकुदले चैत्र आइपुग्दासम्म केही गति लियो । तर, फागुनमा तय भएको नवौ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता भने आयोजना हुन सकेन । यद्यपि, केही प्रतिष्ठित अन्तराष्ट्रिय प्रतियोगितामा भने नेपाललाई सफलता मिल्यो । नेपाली फुटबलले घरेलु मैदानमा ३७ वर्षपछि उपाधि उचालेर कोरोनाबाट निरास बनेका फुटबलप्रेमीहरूमा हर्षको लहर छरिदियो । चैत्र १० देखि १६ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा भएको नेपाल, बंगलादेश तथा किर्गिजस्तानको टोली सम्मिलित ‘थ्री नेसन्स कप’को उपाधि नेपालले जित्यो । विगत ३७ वर्षमा नेपाली टोलीले आफ्नै भूमिमा उपाधि उचालेको यो पहिलोपटक हो ।

त्रिदेशीय कपको फाइनलमा बंगलादेशबिरूद्ध २–१ को शानदार जित निकाल्दै उपाधि घरमै सुरक्षित राख्न नेपाली टिम सफल रह्यो । पहिलो खेलमा किर्गिस्तान र दोस्रो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको टिमले फाइनलमा भने हजारौँ दर्शकको सामु बंगलादेशविरूद्ध दुई गोल गर्न सफल भयो । नेपाललाई जित दिलाउनका लागि सञ्जोग राई र विशाल राईले गोल गरे । नेपालले करिब एक वर्षपछि आफ्नै मैदानमा अन्तराष्ट्रिय फुटबलको आयोजना ग-यो । कोरोना महामारीले अन्तराष्ट्रिय खेलहरू ठप्प भएपछि नेपाली राष्ट्रिय टिमले कुनै पनि म्याच खेलेका थिएनन् । उक्त प्रतियोगिताको उपाधि जितेसँगै नेपाली फुटबलमा सर्वाधिक क्याप जित्ने खेलाडीका रूपमा कीर्तिमान बनाएका डिफेन्डर विराज महर्जनले पनि अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिए । थ्री नेसन्स कपको फाइनलमा बंगलादेशसँगको खेल नै उनको अन्तर्राष्ट्रिय खेल जीवनको अन्तिम बन्यो । दुई वर्षअघि नै राष्ट्रिय टोलीबाट बाहिरिएका विराज संन्यासको उपयुक्त समयको पर्खाइमा थिए ।

लिग चरणका दुई खेलमा प्रशिक्षक बालगोपाल महर्जनले उनलाई मैदानमा उतारेका थिएनन् । राष्ट्रिय टोलीमा बायाँ पोजिसनबाट खेल्ने डिफेन्डरका रूपमा उनले १३ वर्ष देशको प्रतिनिधित्व गरे । ३१ वर्षीय विराजले चार वर्ष कप्तानी पनि गरे । उनी नेपालका सफल कप्तान मध्येमा पर्छन् । विराजले राष्ट्रिय टोलीका लागि ७३ म्याच खेलेका छन् । जुन अहिलेसम्मकै सर्वाधिक हो । विराजको कप्तानीमा नेपालले तीन ठूला उपाधि पनि जितेका छन् । यसअघि, कार्तिकको अन्तिम र मङ्सिरको पहिलो साता भने नेपालले बंगलादेशमा घरेलु टोलीसँग दुईवटा मैत्रीपूर्ण म्याच खेलेको थियो । जसमा पहिलो खेल नेपालले २–० ले गुमाएको थियो भने दोस्रो खेलमा गोलरहित बराबरीको नतिजा निकालेको थियो ।

पहिलोपटक नेपाली फुटबलमा अक्सन

नेपालमा आगामी वैशाखमा आयोजना हुन लागेको फ्रेन्चाइजी फुटबल लिगका लागि पहिलोपटक खेलाडीको अक्सन भयो । जसमा आठ खेलाडीले सर्वाधिक मूल्य पाए । राष्ट्रिय टिमबाट खेलिरहेका खेलाडीले नै अक्सनमा धेरै मूल्य पाए । त्यसो त केही खेलाडी अनपेक्षित रूपमा अनसोल्ड पनि हुन पुगे । काठमाडौंमा भएको अक्सनमा कुल एक सय ५९ खेलाडीलाई सूचीमा राखिएका थियो । जसमा अक्सनबाट ९८ जना खेलाडी बिक्री भए । अक्सनमा राखिएको तीन श्रेणीमा ‘ए’ क्याटागोरीबाट २१ खेलाडी, ‘बी’ बाट ४१ र ‘सी’ बाट ३६ खेलाडी विक्रि भए । अक्सनमा सर्वाधिक दुई लाख रुपियाँ पाउने खेलाडीमा दिनेश राजवंशी, तेज तामाङ, दीप कार्की, एरिक विष्ट, सुजल श्रेष्ठ, विकाश खवास, विशाल सुनुवार, सुनील बल रहे ।

नेपालमा विश्वकप छनोटको खेल भएन

कोरोनाका कारण नेपालमा हुनुपर्ने फिफा विश्वकप छनोटका खेलहरू वर्ष २०७७ मा हुन सकेन । नेपालले घरेलु मैदानमा खेल्न बाँकि तीन खेल कोरोनाका कारण खेलस्थल नै स¥यो । उक्त खेलहरू स्थगित भएर कुवेतमा सारिएका थिए । तर, कुवेतमा पनि अत्यधिक गर्मी हुने भएकाले खेल्न कठिन हुने भन्दै जोर्डन लगायतका टिम नआउने भएपछि एएफसीले फेरी प्रतियोगिता अर्को ठाँउ सार्नुपर्ने भएका छन् । नेपालले विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग खेल्न बाँकि छ । कोरोनाका कारण चाइनिज ताइपेइसँगको खेल अन्तिम समयमा कोरोनाको कारण देखाउँदै स्थगित भएको थियो भने अस्ट्रेलियाले दोहामा प्रशिक्षण क्याम्प राख्ने तयारी गर्दा अन्तिममा उनीहरूलाई भिषाको समस्या भएपछि नेपाल आउन नमानेको हो । त्यसपछि एएफसीले तथस्थ मैदानमा खेल गराउने भन्दै कुवेतलाई जिम्मा दिएको थियो । तर, त्यहाँ पनि खेल हुन सकेन ।

२२ वर्षमा पहिलोपटक बुढासुब्बा गोल्डकप रोकियो

विगत २२ वर्षदेखि निरन्तर हुँदै आएको बुढासुब्बा गोल्डकपको २३औं सँस्करण २०७७ मा हुन सकेन । कोरोना महामारीका कारण आर्थिक सहयोग जुट्न नसकेपछि पहिलोपटक रोकिएको हो । द्वन्द्वकाल, मधेश आन्दोलनजस्ता विषम परिस्थितिमा पनि यो प्रतियोगिता निरन्तर आयोजना भएको थियो ।

सातदोबाटो ‘ए’ डिभिजनमा उक्लियो

सातदोबाटो युथ क्लबलले दुई खेलअगाडि नै ‘ए’ डिभिजनमा उक्लेर नयाँ इतिहास रच्न सफल भयो । सातदोबाटोले अन्तिम खेलमा रानीपोखरी कर्नर टिम आरसिटीलाई १–० ले हरायो । चार सिजन ‘बी’ डिभिजन खेलेको सातदोबाटोले अब पहिलोपटक अब ‘ए’ डिभिजनमा प्रतिस्पर्धा गर्ने भएको छ । च्याम्पियन सातदोबाटोले ११ खेलमा एक मात्र हार बेहो-यो । जसका कारण तालिकामा २८ अंक बटुल्न सफल भयो ।

नयाँ खेलकुदमन्त्रीको आगमन

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा पदमुक्त भएपछि दावा लामा तामाङलाई खेलकुदमन्त्रीमा नियुक्त गरियो । राजनीति खिचातानीका कारण प्रधानमन्त्री ओलीले युवा तथा खेलकुदमन्त्री विश्वकर्मालाई पदमुक्त गर्दै उनको ठाउँमा दावा लामा तामाङलाई खेलकुदमन्त्री बनाएका हुन् ।

सदस्य सचिवमा सिलवाल, उपाध्यक्षमा कोइराला

राष्ट्रिय खेलकुद परिषद् राखेपको सदस्य सचिवमा रमेश कुमार सिलवाल दोस्रोपटक नियुक्त भयो । खेलकुद विकास ऐन २०७७ अनुसार मन्त्रिपरिषद्को बैठकले सदस्यसचिव सिलवाललाई नै नियुक्त गरेपछि उनले दोस्रो पटक उक्त जिम्मेवारी पाए । खेलकुद विकास ऐन २०४८ अनुसार यसअघि सदस्य हुँदै सदस्य सचिव भएका सिलवाल नयाँ ऐन लागू भएपछि पदमुक्त भएका थिए । राखेपको उपाध्यक्षमा भने शिव कोइरालालाई नियुक्त भयो ।

वैद्य एनओसीको कार्यकारी निर्देशक

विवादित संघका रूपमा रहेको नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द वैद्यललाई नेपाल ओलम्पिक कमिटीका कार्यकारी निर्देशकमा नियुक्ति पायो । ओलम्पिक कमिटीको इतिहासमा पहिलोपटक कार्यकारी निर्देशक पदको स्थापना गरिएको हो । टेबल टेनिसका पूर्वखेलाडी समेत रहेका उनी पछिल्लोपटक संघको अध्यक्ष रहँदै आएका छन् ।

भदौबाट खेल प्रशिक्षण शुरू

कोरोना भाइरस महामारीका कारण ठप्प भएको नेपाली खेलकुद भदौ १ गतेबाट शुरू भएको थियो । गत वर्षको चैत ११ गतेदेखि शुरू भएको लकडाउनका कारण खेलकुद पनि प्रभावित भएको थियो । जसका कारण नेपालले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिताहरू स्थगित भएका थिए भने घरेलु प्रतियोगिताहरू पनि अनिश्चित समयका लागि स्थगित भएका थिए । अनुमतिसँगै नेपाली राष्ट्रिय टिमले गर्ने अभ्यास खेल तथा प्रारम्भिक छनोटका खेलहरूमा सहभागिता जनाउन पाउने सरकारले निर्णय गरेको थियो । सरकारको उक्त निर्णयपछि राष्ट्रिय टिमले अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि मात्र अभ्यास सुचारू गरेका थिए ।

कोरोनाविरूद्ध खेलाडीको सहयोग

राष्ट्रिय टेबल टेनिस खेलाडी एलिना महर्जनले कोरोना भाइरस प्रभावितहरूका लागि सहयोग गरेकी थिइन् । महर्जनले दक्षिण एसियाली खेलकुद (साग) मा कांस्य पदक जितेर पाएको दुई लाख नगद पुरस्कारको आधा रकम कोरोना भाइरस संक्रमणका कारण दुखमा परेकाहरूलाई सहयोग गरेकी थिइन् । कोरोना भाइरसका कारण थुप्रै समस्याहरू उब्जिएको थियो । ती समस्याबाट जुध्न धेरैथोरै केही खेलाडीहरूले पनि सहयोग गरेका थिए । कोरोना संक्रमणको परीक्षण गराउने उद्देश्य साथ डडेल्धुरामा पीसीआर मेसिन स्थापनामा विभिन्न खेलाडीले पनि आर्थिक सहयोग गरेका थिए । जसमा १३औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण पदक विजेता गौरिका सिंहले १ लाख रुपियाँ सहयोग गरेकी थिइन् । त्यस्तै, तेक्वान्दोका दीपक विष्ट र उनकी श्रीमती आयशा शाक्यले पनि २० हजार रुपियाँ सहयोग गरेका थिए । त्यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, तेक्वान्दो संघका उपाध्यक्ष भानुबहादुर चन्द, क्रिकेटका प्रशिक्षक जगत टमाटा, क्रिकेटर नरेश बुढाएरले समान १० हजार रुपियाँ सहयोग गरेका थिए ।

साग पदक विजेता डोपिङमा असफल

नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद सागमा पदक जितेका तीनजना पाकिस्तानी खेलाडीले डोपिङ गरेको पुष्टि भएको थियो । डोपिङमा परेका खेलाडीमध्ये ट्र्याक एन्ड फिल्डमा दुईजना स्वर्ण पदक विजेता मोहमद नईम र मेहबूब अली तथा एकजना कांस्य विजेता सामी उल्लाह डोपिङमा असफल भएका थिए ।

अलमुताइरी राष्ट्रिय फुटबल टोलीका नयाँ प्रशिक्षक

अखिल नेपाल फुटबल संघ (एन्फा) ले चैतको अन्तिम साता कुवेती अब्दुल्लाह अलमुताइरीलाई एक वर्षका लागि राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त ग-यो ।

किरण एएफसीको उत्कृष्ट खेलाडी

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ चैतको तेस्रो साता एसियाली फुटबल महासंघ (एएफसी) को साताको उत्कृष्ट अन्तर्राष्ट्रिय खेलाडी बन्न सफल भयो । किरणको कप्तानीमा नेपालले यसै साता अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको आमन्त्रण प्रतियोगिता ‘थ्री नेसन्स कप’को उपाधि जितेको थियो । किरणले प्रतियोगितामा तीन म्याच खेल्ने क्रममा दुई खेलमा क्लिन सिट राखेर उत्कृष्ट प्रदर्शन गरेको आधारमा उनलाई उत्कृष्ट खेलाडी मनोनयनमा समावेश गरिएको एएफसीले जनाएको थियो । त्यस्तै, राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ भारतको आई लिगमा सिजनकै उत्कृष्ट गोलकिपरसमेत घोषित भए । आई लिगमा राउन्ड ग्लास पञ्जाब एफसीबाट खेल्दै आएका किरण उत्कृष्ट गोलकिपर घोषित भएका थिए ।

अनिताले गरिन् एउटै म्याचमा १६ गोल

नेपाली खेलाडीको उच्च प्रदर्शनबाट प्रेरित मासा युनाइटेडका नेपाली महिला खेलाडी अनिता केसी पाकिस्तानी लिगमा भएको नेसनल वुमन्स च्याम्पियनसिपमा एउटै खेलमा १६ गोल गर्न सफल भइन् । अनिता केसीको १६ गोलमा मद्दतमा मासाले कराँची एफसीलाई ३५—० गोलअन्तरले हराएको थियो । जसमा नेपालकै सरू लिम्बुले पनि १० गोल गर्न सफल भएकी थिइन् ।

आर्मीलाई एएफसी क्लब लाइसेन्स

त्रिभुवन आर्मी फुटबल क्लब एसियाली फुटबल महासंघ (एएफसी) बाट एएफसी क्लब लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली फुटबल क्लब बन्यो । लाइसेन्स प्राप्त गरेपछि आर्मीले एएफसीले सञ्चालन गर्ने क्लबस्तरीय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्न पाएको छ ।

पुरुष र महिला फुटबलरलाई समान तलब

एन्फाले महिला र पुरुष खेलाडीको तलब समान ग¥यो । जसअनुसार मासिक रूपमा दुवै टोलीका खेलाडीको तलब १८ हजार रुपियाँ भएको छ । पुरुष खेलाडीको मासिक ३ हजार वृद्धि गरिँदा महिला खेलाडीको हकमा भने एकै पटक मासिक ११ हजार रुपैयाँ थपिएको हो ।

आइपीएल अक्सनमा नेपालका आठ खेलाडी

इन्डियन प्रिमियर लिग (आइपीएल) को अक्सनमा नेपालबाट ८ खेलाडीले नाम दर्ता गराए । नेपालबाट अक्सनमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, विकेटकिपर विनोद भण्डारी, अलराउन्डर करण केसी, सोमपाल कामी, स्पिनर सन्दीप लामिछाने, कुशल मल्ल, ब्याट्सम्यान शरद भेषावकर र अभिनास बोहरा रहे । क्यान नहुँदा एजेन्टमार्फत नाम दर्ता गराउँदै आएका खेलाडीले यसपटक संघमार्फत नाम दर्ता गराएका थिए ।

तीन नेपाली खेलाडी टि–१० लिगमा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले संयुक्त अरब इमिरेट्स (यूएई) को टि–१० लिग खेल्ने अवसर पायो । नेपालका अलराउन्डर करण केसी, सोमपाल कामी र कुशल मल्ललाई तीन फरक–फरक फ्रेन्चाइज टोलीले अनुबन्ध गरेको थियो ।

ह्वाटमोर नेपाली क्रिकेट प्रशिक्षक

बितेको वर्ष नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा विश्वकप विजेता प्रशिक्षक डेभ ह्वाटमोर नियुक्त भयो । सम्झौताअनुसार पहिलो चरणमा ह्वाटमोरले एक वर्षका लागि नेपाली क्रिकेटको जिम्मेवारी सम्हाल्ने छन् ।

एक दिवसीय मान्यता लम्बियो

नेपाली राष्ट्रिय क्रिकेट टोलीको एक दिवसीय (ओडीआई) मान्यता एक वर्ष लम्बियो । सन् २०२२ सम्मलाई रहेको नेपालको ओडिआई मान्यता अब २०२३ सम्म रहने छ । कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले विश्वकप लिग–२ का खेलहरू हुन नसक्दा एक वर्ष बढाएर २०२३ मार्च सम्मलाई ओडीआई मान्यता दिएका थिए ।

राई पहिलो महिला भलिबल अन्तर्राष्ट्रिय रेफ्री

चन्द्रबदना राई नेपालबाट पहिलो अन्तर्राष्ट्रिय महिला भलिबल रेफ्री बनेकी छन् । फेडेरेसन अफ इन्टरनेसनल भलिबल (एफआइभिबी) ले राईलाई अन्तर्राष्ट्रिय रेफ्री क्यान्डिडेटबाट अन्तर्राष्ट्रिय रेफ्रीमा बढुवा गरेको हो ।

सधिशले राजस्थानबाट खेले

राष्ट्रिय बास्केटबल टोलीका कप्तान सधिश प्रधानलाई भारतमा व्यावसायिक बास्केटबल खेल्ने अवसर जु¥यो । उनी भारतको राजस्थान बास्केबल लिग (आरबिएल) मा आबद्ध भएका थिए । उनले यसअघि बंगलादेश बास्केटबल लिग पनि खेलेका थिए ।

पहिलोपटक ‘होल इन वान’ मा कार विजेता

गत फागुन २२ गते एमेच्योर गल्फर सुमन जोशीले नेपालको गल्फ इतिहासमा नै पहिलोपटक होल इन वनमा राखिएको कार उपाधि जित्न सफल भयो । गोकर्ण गल्फ कोर्षमा स्वर्गीय आङ्ग छिरिङ शेर्पाको स्मृतिमा आयोजित गल्फ प्रतियोगिताको होल नम्बर १० मा सुमनले होल इन वन गर्दै कार जित्न सफल भएका हुन् । उनले १ सय ६५ यार्ड टाढा रहेको होलमा होल इन वनको सफलता प्राप्त गरे । सुमनले पुरस्कारस्वरूप किया ब्रान्डको कार जितेका थिए ।

प्रशिक्षक भट्टराई विश्वकै उत्कृष्ट १०० मा

विश्व गल्फ टिचर महासंघ (डब्लुजीटिएफ) ले नेपालका व्यावसायिक गल्फर सचिन भट्टराईलाई सन् २०२०–२१ को शीर्ष १ सय गल्फ प्रशिक्षक सूचीमा सामेल ग¥यो । संयुक्त राज्य अमेरिकाको गल्फ टिचिङ फेडेरेसनबाट मास्टर सर्टिफिकेट हासिल गरेका भट्टराई लामो समयदेखि रियल नेपाल गल्फ क्लबमा जुनियर क्याम्प सञ्चालन गर्दै आइरहेका छन् । प्रशिक्षण सँगसँगै गल्फर भट्टराई नियमित रूपमा व्यावसायिक टुर पनि खेल्दै आएका छन् ।

निधन भएका केही राष्ट्रिय र अन्तराष्ट्रिय खेलकर्मी

विश्व कोरोना महामारीको चंगुलमा फसेको वर्षमा राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्याति कमाएका केही खेलाडी र खेलकर्मीले यस धर्तीबाट सदाका लागि विदा लिए । जसमध्येका चर्चित र वजनदार नाम हुन् डिएगो म्याराडोना । नेपाली क्यालेन्डर अनुसार गत मङ्सिरको दोस्रो साता हृदयघातका कारण ६० वर्षको उमेरमा लेजेन्डरी फुटबलर डिएगो म्याराडोनाले यस धर्तीबाट बिदा लिए । उनले आफ्नो बलबुटामा अर्जेन्टिनालाई सन् १९८६ को मेक्सिकोमा सम्पन्न विश्वकपमा दोस्रो पटक उपाधि दिलाएका थिए । त्यतिबेला इंग्ल्यान्डविरूद्ध उनले हातले गरेको गोल अहिलेसम्म चर्चित छ । सोही खेलमा उनी एक्लैले इंग्ल्यान्डका पाँचजना खेलाडीहरूलाई छक्याउँदै गरेको ‘ह्यान्ड अफ गड’ बाट परिचित गोलको लोकप्रियता अहिलेसम्म कायमै छ । उनले गरेको उक्त गोल विश्व फुटबल इतिहासकै सर्वोत्कृष्ट गोल मध्येमा पर्छ । खेल जीवनको अन्त्यतिर उनी थुप्रै विवादहरूमा मुछिएका थिए ।

नेपाली खेलकुद कुरा गर्दा वर्ष २०७७ मा पावर लिफ्टिङका विश्व च्याम्पियन रूप कार्कीलाई गुमाउनुप¥यो । गत माघ ९ गते पावर लिफ्टिङका विश्व च्याम्पियन कार्कीको ५२ वर्षको उमेरमा निधन भयो । अमेरिकामा बस्दै आएका कार्की केही समयअघि नेपाल आएका थिए । सन् २०१२ देखि व्यवसायिक पावर लिफ्टिङ शुरू गरेका कार्कीले सन् २०१७ र २०१९ मा गरी दुईपल्ट अन्तर्राष्ट्रिय पावर लिफ्टिङ प्रतियोगितामा आफ्नो तौलसमूहमा स्वर्ण जितेका थिए ।वर्ष २०७७ मा नेपाली खेलजगत्ले राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर लोकबहादुर शाहीलाई गुमाउनुप-यो । दक्षिण एसिायली खेलकुद (साग) का स्वर्ण पदक विजेता शाहीको ६५ वर्षको उमेरमा निधन भयो । सन् १९८४ मा स्वदेशमा आयोजना भएको सागमा नेपाली टोलीले स्वर्ण पदक जित्दा उनी त्यसका सदस्य थिए । उनले १९८२ देखि १९८९ सम्म राष्ट्रिय टोलीबाट खेलेका थिए । त्यस्तै, उनले ७ वर्ष (१९९५ देखि २००२ सम्म) लामो समय एन्फाको महासचिवका रूपमा समेत जिम्मेवारी निर्वाह गरेका थिए । एन्फाबाट अलग भएपछि शाही नेपाल बक्सिङ संघको महासचिव बनेका थिए । २०४० सालमा उहाँ राष्ट्रिय खेलकुद परिषद्बाट सर्वोत्कृष्ट खेलाडीसमेत घोषित भएका थिए ।

त्यस्तै, राखेप पूर्वसदस्य सचिव राजबहादुर सिंहले पनि धर्तीबाट बिदा लिए । नेपाली राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य सचिव राजबहादुर सिंहको ८८ बर्षको उमेरमा निधन भयो । उनी नेपाली फुटबल टिमको पूर्व कप्तान पनि थिए । उनी लामो समयदेखि पक्षघातबाट पीडित थिए । राखेपका सातौं सदस्यसचिव सिंहले २०४८ देखि २०५० सालसम्म सदस्य सचिवका रूपमा काम गरेका थिए । पूर्वखेलाडीसमेत रहेका सिंहले खेल मण्डल र विद्या व्यायामबाट खेलेका थिए । यसका साथै उनले नेपालबाट आहा रारँ गोल्पकप पनि खेलेका थिए । नेपाल ११ टिमको कप्तानी गर्नै उनले १९६३ मा पूर्वी पाकिस्तानको ढाका (वर्तमान बंगलादेश) मा प्रतियोगिता खेल्दा महत्वपूर्ण सदस्य रहेका थिए ।

२०७७ मा उसुका राष्ट्रिय खेलाडी विरमान लामाको २६ वर्षको उमेरमा निधन भयो । क्योकुसिन कराँतेबाट खेलकुद यात्रा सुरू गरेका वीरमान पछिल्लो समय उसुमा आबद्ध रहेका थिए । सन् २०१८ मा इन्डोनेसियामा भएको एसियाली खेलकुदमा उनले नेपालको प्रतिनिधित्व गर्ने अवसर पाए पनि खेल्न पाएका थिएनन् । उनले क्योकुसिन करातेमा पनि राष्ट्रिय स्तरका प्रतियोगिता जितेका थिए ।वर्ष २०७७ मा राष्ट्रिय अम्पायर तथा पूर्वराष्ट्रिय क्रिकेट खेलाडी सुनील ढुंगानाको ६३ वर्षको उमेरमा मृत्यु भयो । ट्वाइलेट जाँदा लडेर ढुंगानाको मृत्यु भएको थियो । राष्ट्रियस्तरको प्रतियोगितामा अम्पायरिङ गर्ने उनी रुपन्देही जिल्ला क्रिकेट संघको प्रमुख सल्लाहकार पनि थिए । ढुंगाना रूपन्देही जिल्ला क्रिकेट संघको पूर्वउपाध्यक्ष समेत थिए ।

२०७७ मा वरिष्ठ भलिबल प्रशिक्षक तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद विज्ञान प्रतिष्ठानका निर्देशक सुदेशकुमार रिमाललाई गुमाउनुप¥यो । नशासम्बन्धी समस्याले ग्रस्त रिमालको बाँसबारीस्थित न्युरो अस्पतालमा निधन भएको थियो । ५६ वर्षीय रिमाल नेपालका उत्कृष्ट प्रशिक्षकमध्ये रहेका थिए । विभिन्न समयमा राष्ट्रिय टोलीसँगै विभागीय टोलीको समेत प्रशिक्षक रहेका रिमाल पछिल्लो समय सानका निर्देशकका रूपमा पनि कार्यरत थिए ।

कोरोनाका कारण निधन भएका खेलकर्मी

कोरोना भाइरसका कारण पाकिस्तानी पूर्वक्रिकेटर रईज शेखको ५१ वर्षको उमेरमा मृत्यु भयो । शेख बलर थिए भने ४३ वटा पहिलो श्रेणीका म्याच खेलेका थिए । जसमा उनले १ सय १६ विकेट पनि लिएका थिए । त्यस्तै, पाकिस्तानकै पूर्वपहिलो श्रेणीका खेलाडी जफर सरफराजको ५० वर्षको उमेरमा र स्क्वासका खेलाडी आजम खानको पनि निधन भएको थियो । त्यस्तै, जापानका २८ वर्षे सुमो खेलाडी शोबुशी, इंग्ल्यान्डका पूर्वफुटबलर नार्मन हन्ट, धावक दोनातो साबिया, स्विट्जरल्यान्डका आइस हक्की खेलाडी रोज शैपो, फ्रान्सका खेलाडी बर्नार्ड गोन्जालेज, इंग्ल्यान्डका पूर्वखेलाडी डेभिड हजकिन्स, फ्रान्सका ओलम्पिक डी मार्सल फुटबल क्लवका पूर्वअध्यक्ष पेप दिओफको पनि कोरोनाका कारण निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्