सात प्रदेशका ५० ठाउँमा विद्युतीय चार्जिङ स्टेसन बन्ने



नेपाल समाचारपत्र, काठमाडौं ।

 सात प्रदेशका विभिन्न ५० स्थानमा विद्युतीय सवारी साधनको चार्जिङ स्टेसनको आपूर्ति, जडान, परीक्षण, सञ्चालन र मर्मतका लागि ठेक्का सम्झौता भएको छ । नेपाल विद्युत प्राधिकरणको विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना र अन्तर्राष्ट्रिय टेन्डरबाट छनोट भएको वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन,जियाङ्सु, चीनबीच ३७ करोड ७९ लाख ५५ हजार रुपियाँमा करबाहेक ठेक्का सम्झौता भएको हो ।

एसियाली विकास बैकको सहयोगमा निर्माण गर्न लागिएको चार्जिङ स्टेसन एक वर्षभित्रमा सक्ने गरी ठेक्का सम्झौता गरिएको छ । सञ्चालनमा आएको ५ वर्षसम्म चार्जिङ स्टेसनको मर्मत सम्भार ठेकेदार कम्पनीले नै गर्ने व्यवस्था गरिएको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताउनुभयो । उहाँले हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर,अनलाइन विलिङ प्रणालीको जडान गरिने जानकारी दिनुभयो ।चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०-६० किलोबाटका डिसी र २२ किलो

वाटका एसी चार्जरहरु राखिने छन् । यसबाट ठूला बससहित तीन वटा सवारी साधनले एक साथ चार्ज गर्न सकिनेछ ।३ सयभन्दा बढी चार्जरलाई सेवा दिन सक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर राखिने छ । ५० वटै स्टेसनको कन्ट्रोल काठमाडौंबाट हुनेछ । सवारी साधनको चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोवाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् । चार्जिङ स्टेसन मुख्य राजमार्ग, बसपार्क र ठूला शहरमा राखिने छ । काठमाडौं उपत्यकामा ७ वटा चार्जिङ स्टेसन राखिनेछ । १ नम्बर प्रदेशका झापाको दमक,भद्रपुर,कन्काई, मोरङको विराटनगर र सुनसरीको इटहरीमा गरी ५ वटा चार्जिङ स्टेसन रहनेछन् । २ नम्बर प्रदेशको पर्साको वीरगन्ज, बाराको सिमरा, रौतहटको चन्द्रनिगाहापुर, धनुषाको ढल्केबर तथा जनकपुरधाम, महोत्तरीको बर्दिबास र सप्तरीको राजविराज गरी ७ वटा चार्जिङ स्टेसन स्थापना हुनेछन् ।

त्यस्तै बागमती प्रदेशको धादिङको मलेखुमा २, विपी राजमार्गको सिन्धुलीमा २, मकवानपुरको हेटौंडामा २, चितवनको भरतपुरमा २ तथा मुग्लिन-कुरिनटारमा ४ र काभे्रको बनेपामा १ वटा गरी १३ वटा चार्जिङ स्टेसन स्थापना हुनेछन् । गण्डकी प्रदेशमा नवलपुर,तनहुँको दमौली, स्याङजामा १/१ र कास्कीको पोखरामा ३ गरी ६ वटा चार्जिङ स्टेसन रहने छन् । लुम्बिनी प्रदेशमा ८ वटा चार्जिङ स्टेसनहरु रहने छन् । बाँकेको नेपालगञ्जमा १, दाङको भालुवाङ तथा दाङमा १/१, रुपन्देहीको बुटवलमा १, नवलपरासीको बर्दघाट÷सुनवलमा २ गरी ८ वटा चार्जिङ स्टेसन रहने छन् । कर्णाली प्रदेशमा सुर्खेतमा १ र सुदूरपश्चिम प्रदेशमा ३ वटा चार्जिङ स्टेसन रहने छन् । कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी र डडेल्धुरामा १/१ गरी सुदूरपश्चिममा ३ वटा चार्जिङ स्टेसन रहने छन् ।

प्रतिक्रिया दिनुहोस्