शहरी विकास मन्त्रालयका आयोजनाहरूको व्यापक गुणस्तर जाँच



राजु श्रेष्ठ, धनगढी । 

सुदूरपश्चिम प्रदेशमा निर्माणको चरणमा रहेका तथा सञ्चालन भइसकेका विभिन्न आयोजनाको शहरी विकास मन्त्रालयको अनुगमन टोलीले गुणस्तर तथा परिमाणको अनुगमन गरेको छ । कैलाली, कञ्चनपुर, डडेलधुरा र डोटी जिल्लामा स्थलगतरूपमा आयोजनाहरूको अनुगमन गरेको हो ।

मन्त्रालयको प्राविधिक टोलीबाहेक राष्ट्रिय सतर्कता केन्द्रका प्राविधिक र सञ्चारकर्मीसहितको अनुगमन टोलीले मन्त्रालयअन्तर्गत निर्माण भइरहेका आयोजनाको गुणस्तर तथा तोकिएको मापदण्डअनुसारको संरचना निर्माणलगायतका विषयमा सुक्ष्म अध्ययन गरेको थियो । ‘अनुगमनका क्रममा समग्र आयोजनाहरूको भौतिक एवम् प्राविधिक अवस्था सन्तोषजनक नै देखिएको छ । यद्यपि, कतिपय ठाउँमा देखिएका समस्यालाई स्थलगत रूपमा नै समाधान गर्न निर्देशन दिइएको र केही विषय प्रतिवेदनमा उल्लेख गरिने र त्यसलाई मन्त्रालयको तहबाट पूरा गर्न निर्देशन आउनेछ । अनुगमन टोलीका संयोजक शहरी विकास मन्त्रालय उपसचिव वैकुण्ठ उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो–‘सरकारको ठूलो बजेट स्थानीयस्तरको पूर्वाधार निर्माणमा खर्च भइरहेको छ । उक्त खर्च सहीरूपमा भइरहेको छ कि छैन, भएको खर्चको गुणस्तर कस्तो छ, बनेका पूर्वाधारप्रति स्थानीय सरोकारवालाहरूको बुझाइ के रहेको छ भन्ने विषयमा अनुगमन केन्द्रित रहेको छ ।’

शहरी विकास मन्त्रालयको अनुगमन टोलीले डोटीमा निर्माणाधीन सभाहल, इन्द्रचोक–नचनतोली भित्री सडक, सेती–दिपायल एयरपोर्ट सडक, डडेलधुरामा तुफानडाँडा–टुँडिखेल सडक, डडेलधुरा उपक्षेत्रीय अस्पताल, कञ्चनपुरको भीमदत्त–घटाल–वैद्यनाथ–उलटाखाम सडक, शुक्लाफाँटा नगरपालिका भवन र कैलालीको भन्सार–राजपुर सडक, धनगढी सभाहल, बेलादेवी सडकलगायतको स्थलगत अनुगमन गरेको थियो । अनुगमनका क्रममा पूर्वाधारको गुणस्तर, परिमाणलगायत इस्टिमेटअनुसारको काम, लक्ष्यअनुसारको कामको प्रगति, ठेकेदार कम्पनीले पेश गरेका बिलअनुसारको काम र गुणस्तरलगायतका विषयमा सुक्ष्म अध्ययन भएको अनुगमन टोली संयोजक उपाध्यायले जानकारी दिनुभयो । ‘हामीले निर्माणाधीन र निर्माण सम्पन्न भइसकेका पूर्वाधारहरूको सुक्ष्म अध्ययन गर्नुका साथै स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरूसँग पनि छलफल गरेका छौं, निर्माणाधीन आयोजना ढिलाइ भएकोप्रति निर्माण कम्पनी र मन्त्रालय मातहतका निकायलाई दु्रत गतिमा काम अगाडि बढाउन सुझाव दिनुका साथै कुनै समस्या भए बताउन पनि भनेका छौं, यसले पक्कै पनि सकारात्मक परिमाण ल्याउनेछ, संयोजक उपाध्यायको भनाइ ।

आफू मातहतका आयोजनाको स्थलगत अनुगमन नियमित हुनुपर्ने धारणा डोटीका प्रमुख जिल्ला अधिकारी भीम भट्टराईको भनाइ छ । उहाँले आयोजनाहरूको काममा तीव्रता दिन र गुणस्तर कायम गराउन आफूले पनि सरोकारवाला निकायलाई घच्घचाइरहेको बताउनुभयो । त्यस्तै शुक्लाफाँटा नगरपालिका मेयर दिलबहादुर ऐरले आयोजना सरकारले दिएको भए पनि उपयोग आफूहरूले गर्ने भएकाले आयोजनामा स्थानीयको अपनत्वबोध भएको धारणा राख्नुभयो । आफ्नो नगरपालिकामा शहरी विकास मन्त्रालय मातहतका विभिन्न आयोजना संचालन भइरहेको उल्लेख गर्दै ती आयोजनाको गुणस्तर कायम गराउन र लक्षित अवधिमा पूरा गराउन आफू प्रतिबद्ध रहेको मेयर ऐरले बताउनुभयो । शहरी विकास मन्त्रालयले केन्द्रीय तहबाट सुदूरपश्चिम प्रदेशबाहेक अन्य प्रदेशमा पनि यस किसिमको अनुगमन गर्ने कार्यक्रम बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्