सरकार लकडाउन गर्ने मनस्थितिमा छैन: प्रधानमन्त्री



काठमाडौं, (नेस) । 

नेपालमा कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल सरकार लकडाउन गर्ने पक्षमा नरहेको बताउनुभएको छ । उहाँले कोरोना महामारीको जोखिम बढ्दै गएकाले नागरिकलाई सावधानी अपनाउन आग्रह गर्नुभयो ।

नयाँ वर्ष २०७८ को पहिलो दिन बुधबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोनाको महामारीबाट बच्नका लागि स्वास्थ्य सर्तकताका मापदण्ड कडाइका साथ पालना गर्न सबैलाई आह्वान गर्नुभयो । महामारी ह्वात्तै बढेपछि कतिपय विकसित देशहरुले पनि दोस्रो तेस्रो चरणमामा लकडाउन गरिरहेको प्रसंग उल्लेख गर्दै उहाँले स्वास्थ्य सर्तकताका मापदण्ड प्रयोग गरेर नै महामारी नियन्त्रणमा राखेर सामाजिक आर्थिक क्रियाकलाप सञ्चालन गर्ने पक्षमा सरकार रहेको बताउनुभयो ।

‘सरकार सकभर लकडाउन गर्ने मनस्थितिमा छैन । कतिपयले आजै लकडाउन हुन्छ । भरे नै लकडाउन हुन्छ । भोलि नै लकडाउन हुन्छ । भन्ने हल्ला चलाएका छन्, तर सरकार सकेसम्म लकडाउनमा जान चाहँदैन । उहाँले भन्नुभयो । तर, उहाँले युरोपका कतिपय विकसित भनिएका देशहरुमा महामारी ह्वात्तै फैलिएकाले लडाउनमा गएको स्मरण गर्नुभयो ।दोस्रो र तेस्रो चरणमा फैलिएको लहरबाट बच्नका लागि लकडाउनको सहारा लिनुपर्ने अवस्था रहेको बताउँदै उहाँले भन्नुभयो– ‘हामी चाहन्छौं हाम्रो सतर्कताको विधिबाट परिस्थितिलाई विग्रन नदिऔं ।

त्यसै गरी, प्रधानमन्त्री ओलीले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गराएर सरकारले उक्त वर्ष निरर्थक हुन नदिएको बताउनुभयो । उहाँले काठमाडौंबासीको दसकौंदेखिको सपना पूरा गरिएको र नयाँ–नयाँ विकासका कामहरु पूरा गरिएको बताउँदै बाँकी कामलाई पनि तीव्र गतिमा अगाडि बढाइने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्