उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यलाई कोरोना सङ्क्रमण



लखनउ : भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शंका लागेपछि कोरोना परीक्षण गर्दा उनलाई बुधबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको अधिकारीहरुले जानकारी दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले नै आफू कोरोना भाइरसबाट सङ्क्रमित भएको तथ्य सार्वजनिक गरेका छन् ।

“मलाई कोरोना भाइरसबाट सङ्क्रमित भएका बेला देखिने केही लक्षणहरु देखिएपछि परीक्षण गरेकामा म कोरोना भाइरसबाट सङ्क्रमित भएको रिपोर्ट आएको छ”, मुख्यमन्त्री आदित्यले लेखेका छन् । सङ्क्रमण पुष्टि भएपछि आफू अहिले सेल्फ आइसोलेशनमा बसेको र कोरोना भाइरसको सङ्क्रमणकै कारण कुनै गाह्रो समस्या भने नभएको पनि उनले स्पष्ट पारेका छन् । चिकित्सकहरुको सुझाव र सल्लाहअनुसारको जीवनशैली अहिले अपनाइरहेको र चिन्ता लिनुपर्ने अवस्था नरहेको मुख्यमन्त्री आदित्यले उल्लेख गरेका छन् ।

उनले आफू सेल्फ आइसोलेशनमा रहे पनि भर्चुअल प्रणालीमार्फत बैठक, भेटघाट, छलफल र कुराकानी गर्ने गरेको  जानकारी दिए । मुख्यमन्त्री आदित्य सङ्क्रमित भएर आइसोलेशनमा बसे पनि सरकार सञ्चालन र त्यसका काम कारवाहीमा भने कुनै प्रभाव नपरेको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्