जिउँदा शहीद मुकेशलाई ‘लोकतन्त्रका योद्धा’ सम्मान



मोतीराम तिमल्सिना, काभ्रे ।

जनआन्दोलन २०६२/२०६३ मा बनेपामा प्रहरीको गोली लागि घाईते भएका जिउँदो शहिद मुकेश कायस्थलाई नेपाल सरकारले लोकतन्त्रका योद्धा, अभिलेखीकरण तथा सम्मान समिति मार्फत सम्मान गरेको छ । कायश्थको घरमा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले सम्मानपत्र प्रदान गर्नु भएको थियो । राजधानीमा आयोजित शहिद परिवारहरुलाई सम्मान गर्ने क्रममा लोकतन्त्रका योद्दा कायस्थलाई प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट सम्मान गर्नु भएको हो ।

‘जसको बलिदानबाट जगमा आज मुलुकमा सङघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ, जसको आदर्शको आभाले हामीलाई उज्यालो भविश्यका लागि मार्गदर्शन गरिरहेको छ र जसले आज शारीरिक कष्टका बीचमा पनि हामीलाई निरन्तर प्रेरणा दिईरहनु भएको छ, ऐतिहासिक जनआन्दोलनमा तपाईको योगदानको उच्च मुल्यांकन गर्दै नेपाल सरकारका तर्फबाट ‘लोकतन्त्रका योद्धा’ सम्मान अर्पण गर्दर्छाै’–सम्मानपत्रमा भनिएको छ ।

सम्मानपत्रमा प्रधानमन्त्री केपी शर्मा ओली र लोकतन्त्रका योद्धा, अभिलेखीकरण तथा सम्मान समितिका संयोजक एवं परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले हस्ताक्षर गर्नु भएको थियो । नेपाल सरकारले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा तीन सदस्यीय जिल्ला लोकतन्त्रका योद्धा अभिलेखिकरण समिति २०७७ गठन गरेको थियो । २०७७ चैत्र ५ गते बसेको मन्त्रीपरिषद्को बैठकले प्रजिअको संयोजकत्वमा राजकुमार श्रेष्ठ र रामचन्द्र सापकोटा सदस्य रहनु भएको छ । उक्त समितिले गरेको सिफारिसका आधारमा कायश्थलाई सम्मान गरिएको थियो ।

सम्मानका लागि प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, सदस्य राजकुमार श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएस्पी हरि खतिवडा, कालीजंग गण धुलिखेलका मेजर राजेश कार्की, इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिना, मुकेश कायश्थ प्रतिष्ठानका संयोजक मोहन दुवाल, मुकेशका बुबा कृष्णमान र आमा मिरा लगायतका आफन्तहरुको सहभागिता रहेको थियो ।

को हुन् मुकेश ?

२०४८ भदौ ९ गते बनेपा नगरपालिकामा जन्मिएका मुकेश विद्या सागर स्कुलको कक्षा ८ मा अध्ययनरत थिए । जनआन्दोलन २०६२/२०६३ को समयमा उनलाई प्रहरीले चलाएको गोली लागेको थियो । उक्त गोलीका कारण अचेत रहेका मुकेशको अझै होस आउन सकेको छैन ।

२०६२ चैत्र २७ गते दिउँसो ३ बजे उनलाई गोली लागेको थियो । नेपालका विभिन्न स्थानमा उपचार हुँदा पनि सुधार हुन सकेको थिएन । सरकारले मुकेशको उपचारका लागि गरेको अनेकन प्रयास सफल हुन सकेन । १५ वर्ष देखि मुकेश अचेत अवस्थामा नै छन् । परिवारले उनको रेखदेख गरिरहेको छ ।

कस्तो छ अवस्था ?

मुकेशको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । विगतमा हाँस्ने खेल्ने र हाउभाउ प्रस्तुत गर्ने भए पनि विगत तीन वर्ष देखि उनलाई पाईपबाट झोल पदार्थ मात्रै खुवाईएको छ । खसीको सुप, मुगिको दाल, इन्स्योर, वि प्रोटिन लगायतका खानेकुराहरु पाईपको माध्यमबाट खुवाउने गरिएको आमा मिराले बताउनु भयो । उक्त पाईप पनि फेर्नु पर्ने भएकाले अस्पताल लैजाने तयारी गरिएको छ । ‘खान पनि सम्भव भएन, स्वास्थ्य अवस्था पनि नाजुक बन्दै गएको छ’–आमा मिराले भन्नुभयो–‘बचाउने र सुधार हुने अपेक्षा छाडेका छैनौं । तर दुब्लाएर आधा भईसकेको अवस्था छ ।’

सरकारले कायश्थलाई मासिक १५ हजार भत्ता उपलब्ध गराउँदै आएको छ भने उनको हेरालुलाई कुररुवा भत्ताका रुपमा मासिक ६ हजार २ सय उपलब्ध गराएको छ । उपचार गर्नु परेको अवस्थामा विलका आधारमा भुक्तानी गरिदिएको छ । त्यसको अलावा नर्सको सुविधा उपलब्ध गराएको छ । नर्सका लागि शुरुमा मासिक १३ हजार, पछि ३० हजार र फेरी १९ हजारका दरले रकम उपलब्ध गराए पनि दुई वर्ष देखि रोकिएको मिराले बताउनु भयो ।

संघीयता लागु भए सँगै दुई वर्ष बनेपा नगरपालिका मार्फत प्राप्त भएको रकम पुनः आएको छैन । ‘हरेक वर्ष निवेदन राखेर मात्रै पैसा माग्नु पर्ने अवस्थाको अन्त्य गरिदिन सरकारलाई अनुरोध गर्दछु’–मिराले भन्नुभयो–‘सरकारले गरेको निर्णय कार्यान्वयनमा भएको जटिलताले मन खिन्न बनाएको छ । दुई वर्ष देखि बजेट नआएको भन्दै भुक्तानी भएको छैन ।’ पविारले मुकेश कायश्थ प्रतिष्ठान मार्फत यस्ता ब्यक्तिहरुको उपचार, रेखदेख र पुर्नस्थापना गर्न जग्गा सहितको अस्पतालको ब्यवस्थापनका लागि सरकारसँग अनुरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्