नयाँ वर्ष मनाउने परम्परा र रौनक



इन्द्रबहादुर शाक्य

संसारमा तिथि–मितिबाट जात्रा, चाडपर्व र रीतिरिवाज चल्छन् । यसको आधारमा नै नेपालमा पनि सांस्कृतिक पर्व चलिरहेको छ ।तिथि भन्नाले चन्द्र मासीय पञ्चाङ्ग र मिति भन्नाले सूर्य मासीय पञ्चाङ्ग सम्झनुपर्दछ । हाम्रो देश नेपालमा चन्द्र र सूर्य मासीय दुवै चाडपर्व हुन्छन् । वैशाखदेखि चैत्र मसान्तसम्म नै विभिन्न चाडपर्व हुन्छन् । यसमा प्रत्येक दिन नै पञ्चाङ्ग पात्रोअनुसार हाम्रा चाडपर्वहरु मनाइन्छन् । गते र महिनाबाट शुरु हुने जात्रा–पर्वहरु सूर्य मासीय पञ्चाङ्गबाट मनाइन्छ । जस्तो– सङ्क्रान्ति प्रत्येक महिनाको १ गते हुन्छ । महिनामा सरदर ३० गतेसम्म हुन्छ । कहिलेकाहीँ ३१ वा ३२ गते पनि हुन सक्छ । तिथिबाट चल्ने जात्रा एवम् चाडपर्वहरुलाई चन्द्र मासीय पञ्चाङ्गबाट लिइन्छ । जस्तो– एकादशी, औंसी, पूर्णिमा, तिहार, आमाको मुख हेर्ने आदि ।

नेपालमा सूर्य मासीय पञ्चाङ्गबाट शुरु हुने पर्वलाई लिँदाखेरि वैशाख १ गते हाम्रो देशको नयाँ वर्षको रुपमा लिन सकिन्छ । वैशाख १ गते संवत् फेरिने भएकोले यसलाई नयाँ वर्ष शुरु हुने दिन पनि भन्छन् । यस्तो संवत् फेरिने दिन नेपालमा अरु पनि छन् । जस्तो– वैशाखको पूर्णिमा, माघ सङ्क्रान्ति, ल्होसार आदि ।काम गर्न सजिलो हुने गरी हामीले वैशाख १ गते फेरिने विक्रम संवत्लाई नै चलाएर आएका छौं । यो संवत् चलाउने राजा विक्रम देव थिए । उनको जन्म नेपालको राजधानी काठमाडौं पशुपतिस्थित गोले स्थानमा भएको थियो । उनकी श्रीमती साँखुको आचाजू परिवारकी हुन् । उनीको नाम तारा थियो । राजारानी दुवै तान्त्रिक विद्या र गणित हिसाबमा निपुण थिए । विक्रम देवले आदित्य पद ग्रहण गरेका थिए । आदित्य भन्नाले अहिलेको हिसाबमा मास्टर डिग्री हो । उनीहरु दुवै दैनिक तेल तताएर शरीरमा मालिस गरी नुहाएर वज्रयोगिनी माँको पूजा–आराधाना गर्दथे । तेल तताउने भाँडो अहिले पनि वज्रयोगिनी मन्दिरमाथि कोठामा देवतासँगै छ । यसका पूजारी वज्राचार्य हुन् ।गणित हिसाबमा निपुण भएको हुनाले उनले नेपालको संवत् चलाएको हो । आदित्य पद लिएका राजाले चलाएको हुनाले र राम्रो भएको हुनाले भारतलगायत अरु देशले पनि मान्यता दिएर चलाएका छन् । नेपालमा वैशाख १ गते अधिराज्यभरि नै नेपालीहरुले नेपालको नयाँ वर्ष अथवा संवत्को रुपमा यो पर्व मनाउँदै छन् । नेपालमा विभिन्न जिल्लामा र गाउँँ–गउँमा समेत सांस्कृतिक कार्यक्रम गरी यो नयाँ वर्ष मनाइन्छ । विभिन्न प्रकारका खाना बनाएर खाई नेपालीहरुले यो पर्व हर्षोल्लासपूर्ण तरिकाले मनाउँछन् ।

भक्तपुरमा वैशाख १ गते बिस्कट जात्रा मनाउँछन् । यो दिनमा देव–देवीको पूजा गरी भोजसमेत खाइन्छ । यो दिनमा भक्तपुरमा देवताको लिङ्ग ढाल्ने जात्रा शुरु हुन्छ । उता ठिमीमा पनि बालकुमारी देवताको पूजा गरी भोज गर्दछन् । त्यस्तै बनेपामा पनि चण्डेश्वरी देवीको जात्रा गरी यो १ गते पर्व मनाइन्छ ।ललितपुरमा वैशाख १ गते नयाँ वर्षको पहिलो दिनलाई खाइसन्हु भन्ने चलन छ । यो दिनमा चामलको पीठो बनाएर क्वाँटी खाने चलन छ । यो रीति अहिलेसम्म चल्दै आइरहेको छ । साथै त्यस ठाउँमा बुइमाजु देवीको जात्रा पनि हुन्छ । त्यस्तै ललितपुरमा रातो मत्स्यन्द्रनाथको सःलु (सङ्क्रान्ति) गुठी अहिलेसम्म चलिआएको छ ।काठमाडौंको उत्तरतिर बूढानीलकण्ठ पहाडमाथि शिवपुरी डाँडामा पनि मेला लाग्छ । अर्को ठाउँ बागद्वारमा पनि मेला लाग्छ । रातभरि जाग्राम बसी यो नववर्ष मनाउने गरेको पाइन्छ । टोखाको सपन तीर्थमा पनि मेला लाग्छ । यो तीर्थस्थलमा स्नान गरियो भने रोग निको हुन्छ भन्ने जनविश्वास छ । त्यहाँ चम्पादेवीको जात्रा हुन्छ ।
त्यस्तै तराईमा थारु जुरुसिल पर्व हुन्छ । सिरुवा र सिस्नु पर्व– वैशाख १ गते सिरुवा पर्व पूर्वतिर मनाउँछन् । यो ३ दिनसम्म मनाउँछन् । यो पर्वमा पृथ्वीमाता अथवा प्रकृति देवीको पूजा गरी सिस्नु पकाएर खाने चलन छ । सुस्वास्थ्य लाभ होस् भनेर यसरी सिस्नु खाने गर्दछन् ।त्यस्तै वैशाख १ गते सिस्नु पर्व पश्चिम नेपालमा कुस्ती खेलेर मनाउँछन् । यसमा धेरैजसो महिलाहरुको सहभागिता हुन्छ । यस समयमा सिस्नु पकाएर खाइन्छ । अहिले पनि यो पर्व मनाउँदै आएको पाइन्छ ।

वैशाख १ गतेको स्वागत गर्दै मनाउने दिनलाई बिसुपर्व भन्दछन् । यो पनि पश्चिम पहाडी जिल्लामा मनाउने चलन छ । डडेलधुरा, दार्चुला, बैतडी, अछाम, डोटी, बझाङ्, बाजुरामा बिसुपर्व मनाउने चलन छ । बाहिर गएका अथवा परदेश गएका मानिसहरु पनि फर्केर आई यो पर्व मनाउँछन् ।बिहानदेखि महिलाहरु घर–आँगन सफाइ गरी, मीठो खाना पकाई, आफन्तहरुलाई खुवाएर यो पर्व मनाउँछन् ।लहानमा सलहेस वैशाख १ गते नयाँ वर्ष अथवा संवत्लाई फूलले पनि स्वागत गरिन्छ । संसारमाकहीँ नभएको फूल अनौठो फूल वैशाख १ गते मात्र फुली साँझपख सेलाएर जाने यो फूलको मेला अथवा जात्रा हुन्छ । यो फूलको नाम सलहेस फूल हो । यो फूल फुल्दा माला गाँसेको जस्तो भएरफुल्दछ । यो ठाउँलाई फूलबारी चोक भन्दछन् । प्रेमिकाहरुको फूल माला पनि भन्दछन् । यो फूल फुलेको हेर्न आउने धेरै हुन्छन् । भारतबाट पनि यो प्रेमिकाको मेला हेर्न आउने धेरै हुन्छन् । योदिन यहाँ मेला लाग्छ । यो मेला अहिले पनि हेर्न सकिन्छ ।वैशाख १ गते नयाँ वर्षको पर्व नेपालको विभिन्न ठाउँमा विभिन्न किसिमले मनाउने गरिएको छ । नयाँ वर्षको स्वागत गर्दै स्वास्थ्यलाभ, शान्तिको कामना गरिन्छ । नयाँ पेसा र आर्थिक लाभको कामना गर्दै देवी–देवताको पूजा गरी नयाँ वर्ष विक्रम संवत् मनाउने चलन छ । अन्त्यमा सबै नेपालीहरुमा २०७८ सालको हार्दिक मंगलमय शुभकामना ।
(लेखक शाक्य नेपाल हस्तकला महासंघका पूर्वअध्यक्ष हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्