राष्ट्रिय जनगणनाका लागि पाल्पामा करिब ५ सय जनशक्ति परिचालित गरिने



नेपाल समाचारपत्र, पाल्पा । 

राष्ट्रिय जनगणना २०७८ का लागि पाल्पामा करिब ५ सय जनशक्ति परिचालित हुने भएका छन् । ३९२ गणक र ९४ सुपरिवेक्षकहरू तहमा परिचालन हुने जिल्ला जनगणना कार्यलयले जनाएको छ ।कार्यालयका जनगणना अधिकारी भविश्वर घिमिरेका अनुसार यस जनगणनामा जिल्लाका १० वटै स्थानीय तहमा ३ प्रकारका प्रश्नावली प्रयोग गरिने छ ।

जिल्लामा गएको चैत्र १ गते ४ महिनाको कार्य जिम्मेवारीसहित जिल्ला जनगणना कार्यालय पाल्पाको स्थापना भएको छ । जिल्ला जनगणना कार्यालय र अन्य ४ वटा स्थानीय जनगणना कार्यालय रहने व्यवस्थाअन्तर्गत वैशाख १ देखि रामपुर र निस्दी हेर्नेगरी रामपुरमा १, पूर्वखोला, रम्भा र माथागढी हेर्नेगरी ताँहुमा १, तानसेन, तिनाउ र वगनासकाली हेर्नेगरी तानसेनमा १ र रिब्दिकोट र रैनादेवी हेर्नेगरी अमलावासमा १ स्थानीय जनगणना कार्यालय रहने सो कार्यालयले जनाएको छ ।

यस जनगणनामा पहिलो चरणमा घर तथा घरपरिवार सूचीकरण फाराम २०७८ साल वैशाख २६ देखि जेष्ठ १४ सम्म २० दिन र मुख्य प्रश्नावली फाराम २०७८ साल जेष्ठ २५ देखि २०७८ आषाढ ८ सम्म १५ दिन भरिने र दोस्रो चरणमा सुपरिवेक्षकबाट प्रत्येक स्थानीय तहका सबै वडा कार्यालयबाट सामुदायिक प्रश्नावलीमार्फत वडास्तरको आधारभूत स्रोत, साधन, क्षमता, पूर्वाधार र विपद्सम्बन्धी विवरणहरू संकलन गरिने छ ।यस जनगणनामा खाली घरको पनि गणना गरिने छ । मूलतः जनसांख्यिक, शैक्षिक, सामाजिक, आर्थिक, स्वास्थ्यसम्बन्धी विवरणहरू मुख्य प्रश्नावलीमा समावेश गरिएको छ भने सामुदायिक प्रश्नावली सबै वडा कार्यालयहरूबाट सुपरिवेक्षकले भर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्