भक्तपुरमा दुईवटा लिङ्गो बिहानै ठड्याइयो



पुष्कर बुढाथोकी, भक्तपुर। 

बोडेको महालक्ष्मी मन्दिर र भक्तपुर नगरपालिकाको पोटरी स्क्वायरमा मंगलबार बिहानै लिङ्गो उठाइएको छ ।मध्यपुर थिमिको बोडेस्थित महालक्ष्मी मन्दिर अगाडि लिङ्गो उठाइएको छ । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठसहितको सहभागितामा स्थानीयवासीले लिङ्गो उठाएका हुन् । तान्त्रिक विधि पूरा गरी बिहान स्थानीयबासीले लिङ्गो उठाएपछि थिमि क्षेत्रको जात्रा एवं पर्वको विधिवतरूपमा शुरू हुने, मठमन्दिरमा मेला लाग्ने र भोज शुरू हुने परम्परा छ ।

महालक्ष्मी मन्दिर अगाडि लिङ्गो उठाएर जिब्रो छेड्ने जात्राको साइत गरिएको हो । मंगलबारै कुमारीको रथ लहीटोलमा पु¥याइन्छ भने राति करिब ९ बजे जिब्रो छेड्ने बुद्धकृष्ण वाग श्रेष्ठले व्रत प्रारम्भ गरी वैशाख २ गते जिब्रो छेड्ने परम्परा छ । व्रत शुरू भएपछि श्रेष्ठले केही खान नहुने, महिलासँग बोल्न, छुन नहुने, कुकुर, कुखुरा, बिरालोलगायतका पशुपक्षीलाई छुन नहुने परम्परा रहेको छ ।मध्यपुरथिमिमा बिस्केट जात्राको अवसरमा सिन्दुर जात्रा विष्णुवीर जात्रा, रात्रिको चान्हेसिया जात्रा, सिद्धिकाली जात्रालगायतका जात्रा एवं पर्वहरू स्थानीयबासीले भव्यरूपमा मनाउने गरेका छन् ।उता पोटरी स्क्वायरमा हात नभएको (लिङ्गो) योसिंद्योे बिहान उठाइएको छ भने भेलुखेलमा हात भएको योसिंद्यो बेलुका उठाइनेछ ।

प्रसिद्ध बिस्केट जात्राका क्रममा प्रत्येक वर्ष वर्षको अन्तिम दिन यहाँ हात नभएको लिङ्गो उठाइने गरिन्छ । स्थानीयले बिहान ११ः२० बजे लिङ्गो उठाएका थिए । उनीहरूले डोरीको सहायताले लिङ्गो उठाएका हुन् । उनीहरूले झ्यालझ्यालबाट डोरीले तानेर लिङ्गो उठाएका थिए । साथै उनीहरूले सहयोगका लागि काठको कैंची पनि प्रयोग गरेका थिए ।लिङ्गो उठाएको हेर्न बिहानदेखि भक्तपुर नगरभित्रका हजारौं नगरबासी पोटरी स्क्वायर पुगेका थिए । हात नभएको लिङ्गो चैतको अन्तिम दिन बिहान उठाइने र हात भएको बेलुकी उठाउने परम्परा रहेको स्थानीयको भनाइ छ । हात भएको योसिंद्यो भने चैतको अन्तिम दिन उठाएर वैशाख १ गते अर्थात् नयाँ वर्षको बेलुकी ढाल्ने प्ररम्परा रहेको छ ।

हात नभएको लिङ्गो बलको प्रयोगले नभई दिमाग लगाएर उठाइन्छ । यो लिङ्गो टोलका स्थानीयवासीले मिलेर च्वाला (कैंची) को सहयोगबाट उठाउने गरिन्छ । संस्कृतिविद् ओम धौभडेलका अनुसार हात नभएको योसिंद्योको हात नहुनुको कारण योसिंद्योले मासु चोरेर खाएको र उसको त्यही बेला हात काटिदिएको भन्ने किंवदन्ती रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्