राणा र थापालाई खेल पत्रकारिता सम्मान



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल खेलकुद पत्रकार मञ्चले वरिष्ठ पत्रकार अजय राणालाई खेल पत्रकारिता सम्मान र मञ्चका सदस्य सञ्जय थापालाई सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

मञ्चको मंगलबार भएको १६ औं वार्षिक साधारण सभामा उनीहरुलाई सम्मानित र पुरस्कृत गरिएको हो । नेपालले केहि वर्षयता पुराना खेल पत्रकारलाई सम्मान गर्दै आएको छ । त्यस्तै ३ वर्षयता मञ्चले अग्रजलाई सम्मान र अनुजलाई प्रोत्साहनका रुपमा युवा खेलकुद पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । अनुजतर्फ सम्मानित थापाले ताम्रपत्र सहित ल्यापटप प्राप्त गरे । अग्रजतर्फ राणालाई २५ हजार रुपैयाँ नगद सहित सम्मान गरियो ।साधारण सभाले महासचिव प्रज्वल ओलीले प्रस्तुत गरेको प्रगती प्रतिवेदन र कोषाध्यक्ष अञ्जन खड्काले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पास गरेको थियो । त्यस्तै साधारण सभाले संविधानको मर्म अनुसार मञ्चलाई संघीय संरचनामा लैजाने सैद्धान्तिक निर्णय गरेको छ । यस्तै, कार्यविधि निर्माणका लागि पूर्व अध्यक्ष निरञ्जन राजवंशीको संयोजकत्वमा ३ सदस्यीय कमिटि गठन गर्यो ।

यस्तै, बैठकले मञ्चको पुराना सदस्यतालाई व्यवस्थित गर्न महासचिव तथा संगठन विभाग प्रमुख प्रज्जवल ओलीको संयोजकत्वमा समिति गठन गरेको छ । उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी तथा एसोसियटबाट केन्द्रिय सदस्यमा निर्वाचित सदस्यलाई बधाई तथा सम्मान गरिएको थियो ।युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङ्गको प्रमुख आतिथ्यतामा साधारण सभाको उद्घाटन सत्र सम्पन्न भएको थियो । विशेष अतिथीमा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवंम संघीय संसदका सांसद जीवनराम श्रेष्ठ, अतिथीहरुमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठ, नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष विपुल पोखरेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोशन पुरी, सचिव पवन आचार्य रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्