कोरोनाविरुद्धको दोस्रो खोप वैशाख ७ देखि ११ सम्म



नेपाल समाचारपत्र, काठमाडौं । 

कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाइसकेका नागरिकले दोस्रो मात्रा २०७८ वैशाख ७ देखि ११ गतेसम्म लगाउन पाउने भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो मात्राको खोप लगाउन वागमती प्रदेशका लागि १९ वटा खोप केन्द्र तोकेको छ ।

ती १९ वटा खोप केन्द्रमा वीर अस्पताल, थापाथलीको परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल, टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, मीनभवनको निजामती कर्मचारी अस्पताल, कीर्तिपुरको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, अत्तरखेलको नेपाल मेडिकल कलेज, सिनामंगलको काठमाडाै मेडिकल कलेज रहेका छन् । त्यसै गरी ज्ञानेश्वरको हिमाल अस्पताल, बौद्धको स्तुप अस्पताल, धुम्बाराहीको ह्याम्स अस्पताल, महाराजगन्जको त्रिवि शिक्षण अस्पताल, बाँसबारीको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, छाउनीको वीरेन्द्र अस्पताल, बलम्बुको नेपाल सशस्त्र प्रहरी अस्पताल, पानीपोखरीको नेपाल प्रहरी अस्पताल, चावहिलको ओम हस्पिटल एन्ड रिसर्च सेन्टर, क्षेत्रपाटीको क्षेत्रपाटी निःशुल्क चिकित्सालय, बालाजुको जनमैत्री अस्पताल र जडीबुटीको मदरल्यान्ड अस्पताल रहेका छन् ।मंगलबार स्वास्थ्य कार्यालय बागमती प्रदेशले सूचना जारी गर्दै आपूmलाई पायक पर्ने खोप केन्द्रमा गई दोस्रो मात्राको खोप लगाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

नेपालमा भारत सरकारको सहयोगमा २०७७ माघ ८ गते पहिलोपटक १० लाख डोज खोप भित्रिएसँगै माघ १४ देखि फागुन १० गतेसम्म खोपको पहिलो मात्रा लगाइएको थियो । खोपको पहिलो मात्रा लगाएको मितिअनुसार दोस्रो मात्राका लागि मिति तोकिएको छ । गत माघ १४, १५, १६, १७ र २६ गते खोप लगाएकालाई दोस्रो मात्राको खोप लगाउने मिति वैशाख ७ गते तोकिएको छ ।त्यसै गरी, माघ १८, १९, २०, २१ र २७ मा पहिलो खोप लगाउनेले वैशाख ८ गते, माघ २२, २३, २४, २८ र फागुन २ गते लगाएकाले वैशाख ९ गते दोस्रो मात्राको खोप लगाउन पाउने भएका छन् । माघ २९, फागुन ३, ४, ५ र ६ गते खोप लगाउनेको पालो वैशाख १० मा राखिएको छ । माघ ३० र फागुन ७, ८, ९ र १० मा पहिलो मात्रा खोप लगाएकाहरूले वैशाख ११ गते दोस्रो मात्रा पाउनेछन् । कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउने समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म तोकिएको छ ।

कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत पहिलो र दोस्रो प्राथमिकतामा परी स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कूटनीतिज्ञ तथा सो नियोगका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंक र वित्तीय संस्थानका कर्मचारीले खोपको पहिलो मात्रा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्