भारतीय दूतावास र काठमाडौं विश्वविद्यालयले मनाए ‘अम्बेडकर जयन्ती’



न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौंस्थित भारतीय राजदूतावास तथा काठमाडौं विश्वविद्यालयले सोमवार अम्बेडकर जयन्ती मनाएको छ। आजको वैश्विक परिवेशमा बाबा साहेब भीमराव अम्बेडकरको सान्दर्भिकता बारे छलफल कार्यक्रमको आयोजना गरेर जयन्ती मनाइएको हो। कार्यक्रममा विश्वविद्यालयका उपकुलपति डा. भोला थापा, स्कुल अफ लका डिन डा. ऋषिकेश वाग्ले, काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. उद्धव  प्याकुरेल, भारतीय राजदूतावासका प्रेस, सूचना तथा संस्कृति प्रभागका प्रथम सचिव नवीन कुमार तथा प्राध्यापक डा. केदारनाथ शर्माको उपस्थिति थियो। काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरुले पनि सहभागिता जनाएका थिए।

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले आधुनिक भारतको निर्माणमा अम्बेडकरको भूमिका तथा समाजका सीमान्तकृत वर्गको सामाजिक उत्थानमा उनको योगदानबारे प्रकाश पारेका थिए। दूतावासका प्रेस, सूचना तथा संस्कृति प्रभागका प्रथम सचिव नवीन कुमारले विद्यार्थीहरुलाई ‘बाबा साहेब’ का विचारधारालाई अनुशरण गर्न प्रेरित गरे।

त्यस्तै डा. ऋषिकेश वाग्लले आधुनिक भारतको निर्माणमा र भारतको राजनीतिक तथा सामाजिक—आर्थिक रुपान्तरणमा भारतको संविधानको भूमिका बारे चर्चा गर्दै यसमा डा। अम्बेडकरको विशेष भूमिकाबारे सहभागीलाई जानकारी गराएका थिए। कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका निर्देशक डा। केदारनाथ शर्मा र स्कुल अफ आर्ट्सका डिन प्राध्यापक डा. सागरराज शर्माले पनि भारतीय समाजको रुपान्तरणमा डा। अम्बेडकरको भूमिका बारे चर्चा गरेका थिए। सोही अवसरमा बाबा साहेब अम्बेडकरको जीवनीमा आधारित ‘मूक नायक’ नामक वृत्तचित्र पनि देखाइएको थियो।

प्रतिक्रिया दिनुहोस्