कोरोना संक्रमणको चपेटामा विश्व



वैशाख ३०, २०७७

१ सय १३ वर्षीयाले कोरोनालाई पछारिन्

म्याड्रिड, (एजेन्सी) ।

स्पेनकै सबैभन्दा पाको उमेरकी मानिएकी एक महिला कोरोना भाइरसलाई पराजित गर्न सफल भएकी छिन् । सरकारी अधिकारीहरूले १ सय १३ वर्षीया मारिया ब्रान्यासलाई गत मार्च महिनामा लकडाउन घोषित गरिएपछि कोभिड–१९ संक्रमित भएको पत्ता लागेको थियो ।
तर, लामो समयसम्म आइसोलेसनमा बस्दा कोरानाको हल्का मात्र लक्षण देखिएकी उनको पूर्ण सफल उपचार भएको छ । मारियाले सन् १९१८ देखि १९१९ को विश्वव्यापी महामारी र १९३६ देखि १९३९ सम्म चलेको पेनी गृहयुद्धको अनुभव पनि भोगेकी थिइन् ।

वैशाख २३, २०७७

डब्ल्युएचओद्वारा जथाभावी औषधि प्रयोग नगर्न आग्रह

न्युयोर्क सिटी, (एजेन्सी)

विश्व स्वास्थ संगठन ( डब्ल्युएचओ ) ले कोरोना भाइरसको उपचारका क्रममा परिक्षण नगरिएका स्थानिय औषधिहरू प्रयोग नगर्न अनुरोध गरेको छ । कम्तिमा तीनवटा अफ्रिकी मुलुकका राष्ट्रप्रमुखले ठूलो परिमाणमा जडिबुटी टनिक आयात भइरहेको दाबी गरेपछि डब्ल्युएचओले यो सुझाब दिएको हो ।

माडागास्कारका राष्ट्रपतिले त एउटा जडिबुटी औषधिबाट कोरोना भाइरसको सफल उपचारै हुने दाबी गरेका थिए । तर, त्यो दाबीलाई कुनै पनि वैज्ञानिक पुष्टि प्राप्त छैन ।

जेठ १०, ०७७

ट्रम्प काम नलाग्ने औषधि खाँदै

लन्डन, (एजेन्सी)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी महामारीको रूपमा रहेको कोभिड–१९ बाट बच्न प्रयोग गरिरहेको भन्ने औषधिले यस संक्रमणको शिकार रहेका बिरामीहरूको ज्यान जाने खतरा बढाइरहेको दाबी लान्सेटले गरेको एक अध्ययनले देखाएको छ ।

यस अध्ययनले औलोका बिरामीहरूमाथि प्रयोग गरिने हाइडा«ेक्सिक्लोरोक्वाइन औषधिले कोरोना भाइरस पीडितहरूलाई कुनै फाइदा नगर्ने जनाएको छ ।तर, ट्रम्पले भने विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) ले यसको सेवनबाट मुटुमा समस्याहरू आउन सक्ने चेतावनी दिए पनि आफूले निरन्तर यो औषधि लिइरहेको बताएका छन् । हाइड्रोक्सिक्लोरेक्वाइनको ठूलो परिमाणमा उत्पादन गने भारतले केही दिन निर्यात रोक्दा ट्रम्पले भारतलाई चेतावनी दिएका थिए ।

१९ साउन ०७७

माइक्रोसफ्टले टिकटक एप किन्ने

वासिंगटन, (एजेन्सी)

अमेरिकी विशाल प्रविधि कम्पनी माइक्रोसफ्टले अमेरिकामा पनि चीनको स्वामित्वमा रहेको भिडियो– सेयरिङ एप व्यावसायिक रूपमा चलाउनका लागि सो एप खरिदका लाग चीनसँग वार्ता जारी रहेको पुष्टि गरेको छ ।माइक्रोसफ्टका अध्यक्ष सत्य नाडेलाले सो एप प्राप्त गने विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि आइतबार छलफल भएको बताएका छन् । ट्रम्पको चासो र चिन्तालाई सम्बोधन गरेर कम्पनीले त्यस एपको पूर्ण सुरक्षाको परीक्षण हुने पनि जनाएको छ ।साथै, माइक्रोसफ्टले यस एपको प्रयोगपश्चात् कम्पनीले अमेरिकी सरकारलाई उचित आर्थिक फाइदा पनि प्रदान गरिने जनाएको छ । माइक्रोसफ्टले आगामी १५ सेप्टेम्बर सम्ममा टिकटकको संरक्षक कम्पनी बाइटडान्ससँगको छलफलले अन्तिम रूप पाइसक्ने जनाएको छ ।

८ साउन ०७७

चिनियाँ अन्तरिक्षयान मंगल ग्रह प्रस्थान

बेइजिंङ, (एजेन्सी)

चीनले पहिलोपटक स्वतन्त्र अन्तिरिक्ष अभियानअन्तर्गत रोभर नामक अन्तरिक्षयानको मंगल ग्रहतर्फ सफल प्रक्षेपण गरेको छ । अहिलेसम्म चीनलगायत संयुक्त अरब इमिरेट्स (युएई) र संयुक्त राज्य अमेरिका मात्र आफ्नो प्राविधिक क्षमता प्रदर्शन गर्दै यसरी रातो ग्रहमा अन्तरिक्ष पठाउन सक्ने मुलुक बनेका छन् ।चीनको दक्षिणी हैनान टापुको वेनचाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट बेलायती समय अनुसार बिहीबार बिहान सबेरै दि ल्यानडरलाई चीनकै सबैभन्दा ठूलो रकेट लन्ग मार्च ५ वाई–४ मा राखेर प्रक्षेपण गरिएको हो । यो रकेट आगामी फ्रेबु्रअरीमा मंगल ग्रहमा पुग्ने अपेक्षा गरिएको छ । त्यसपछि यसले मंगल ग्रहमा नब्बे दिन अध्ययन अनुसन्धान गर्नका लागि रोभरलाई त्यहाँ तैनाथ गर्ने प्रयास गर्नेछ ।यदि, यो अभियान सफल भएको खण्डमा दुई हजार वर्षअघि लेखिएको अनुमान गरिएको ऐतिहासिक कविताको शीर्षक ‘स्वर्गलाई प्रश्नहरू’ अर्थात् तियानमेन – १ चीनलाई मंगलाग्रहमा रोभर घुमाउने, अवतरण गराउने र तैनाथ गर्ने विश्वकै पहिलो राष्ट्र बनाउनेछ ।

३१ भदौ, ०७७

सुगा जापानका नयाँ प्रधानमन्त्री बन्न सफल

टोक्यो, (एजेन्सी)

जापानको संसद्ले बुधबार योसिहिदे सुगालाई राष्ट्रको नयाँ प्रधानमन्त्रीको रूपमा छनोट गरेको छ । यसअघिका प्रधानमन्त्री सिन्जो आवेले अस्वस्थाको कारण पदबाट राजीनामा दिएका थिए । यसै साताको शुरूमा सत्तारूढ लिवरल डेमोक्रेटिक पार्टी ( एलडिपि ) को अध्यक्ष पदका लागि भएको निर्वाचनमा पनि सफलता हासिल गरेका थिए ।सुगा मन्त्रीमण्डलका पूर्व मुख्य सचिव हुन् । आवेका निकटतम समर्थक तथा सहयोगी रहेका सुगाले आवेकै नीतिहरूलाई निरन्तरता दिने अपेक्षा गरिएको छ । बुधबार बिहान सबेरै आफ्नो मन्त्रीमण्डको अन्तिम बैठकमा आबेले झण्डै आठ वर्ष लामो आफ्नो कार्यकालमा हासिल गरेको आफ्नो उपलब्धिप्रति गौरवान्वित रहेको पत्रकारहरूलाई जानकारी गराएका छन् ।प्रधानमन्त्री पदका लागि जपानको तल्लो सभा डाइटमा भएको मतदानमा सुगाले कुल ४ सय ६२ मध्ये ३ सय १४ मत हासिल गरेका थिए । डायटमा सुगाको कन्जरभेटिभ लिबर पार्टी ( एलडीपी ) को नेतृत्वको गठबन्धन समूहको बहुमत रहेकाले उनले यो चुनाव निश्चित रूपमा जित्ने पूर्वानुमान गरिएको थियो ।

१६ भदौ, ०७७

जुमको अप्रत्याशित आर्थिक सफलता

लन्डन, (एजेन्सी)

हाल विश्वभरि लोकप्रिय भिडियो कन्पे्रmन्सिंग एपको रूपमा रहेको जुमले कोरोना भाइरस महामारीका कारण दोश्रो त्रैमासिक नाफा दोब्बरभन्दा बढि कमाउन सफल भएको छ । ३१ जुलाईसम्म तीन महिनाभित्र मात्र यसको राजस्व संकलन ३ सय ५५ प्रतिशतले वृद्धि भएर ६६ करोड ३५ लाख अमेरिकी डलर पुगेको छ । यो विश्लेषकहरूको अनमानित नाफा रकमभन्दा बढि हो । तिनीहरूले सो अवधिभित्र जुमले ५० करोड ५ लाख डलरसम्म कमाउन सक्ने सम्भावना प्रक्षेपण गरेका थिए । सन् २०१९ को तुलनामा सोही अवधिभित्र ग्राहकको संख्यामा ४ सय ५८ प्रतिशत तथा नाफामा १८ करोड ६० लाख डलर वृद्धि भएको थियो । टाढा–टाढाबाट र विकट स्थानमा पनि घरैमा बसी काम गर्ने सरल विकल्पको रूपमा जुमको व्यापक प्रयोग बढिरहेको छ ।

१४ असोज, ०७७

मंगल ग्रहमा भूमिगत तीन ताल भेटिए

लन्डन, (एजेन्सी)

वैज्ञानिकहरूले मंगल ग्रहको दक्षिण धु्रव नजिक तीनवटा भूमिगत ताल फेला पारेका छन् । साथै, तिनीहरूले अर्को एउटा ताल पनि हुनुपर्ने विश्वास गरेका छन् । मंगल ग्रहमा ताल हुनुपर्ने अनुमान वैज्ञानिकहरूले सन् २०१८ मा नै गरेका थिए । जैविक अस्तित्वका लागि तरल पानीको अत्यन्तै ठूलो महत्व हुन्छ । त्यसैले, ताल फेला परेकाले सौर्य प्रणालीका कुनै ग्रहमा जीवको सम्भावित अस्तित्वबारे अध्ययन गरिहेका अनुसनधानकर्ताहरूका लागि यो निकै ठूलो रोचक विषय हुन सक्छ ।तर, ती तालहरू निकै अत्यन्तै नुनिलो भएको अनुमान गरिएको छ । जसको कारण त्यहाँ कुनै पनि सूक्ष्म जैविक अस्त्विवले निरन्तरता पाउनु कठिन हुन्छ । मंगल ग्रहको पातलो वायुमण्डलको अर्थ त्यसको सतहमा तरल पानी हुनु करिब करिब असम्भव नै हुन्छ । तर, जमिनमुनि भने तरल पानी हुन सक्छ । यो पछिल्लो तथ्य युरोपेली अन्तरिक्ष निकाय (एसा) को मार्स एक्सप्रेस अन्तरिक्ष यानमा जडित एक रडार उपकरणको डाटा प्रयोग गरेर पत्ता लगाइएको हो । यो यानले सन् २०१३ देखि रातो ग्रह अर्थात् मंगल ग्रहको परिक्रमा गरिरहेको छ ।

६ असोज, ०७७

संसद्को आकार घटाउने पक्षमा इटालियन जनता

रोम, (एजेन्सी)

हालै सार्वजनिक भएको एक सर्वेक्षणको नतिजाले इटालियन जनताले संसद्को आकार घटाउने पक्षमा तीन तिहाइभन्दा बढिले मतदान गरेको बुझिएको छ । सरकारी सञ्चारमाध्यम आरएआईले सञ्चालन गरेको यस सर्वेक्षणमा ६७ प्रतिशतभन्दा बढिले विधायकको संख्या घटाउने पक्षमा मतदान गरेका छन् ।अब संसद्को तल्लो सभाको कुल संख्या ६ सय ३४ बाट घटाएर ४ सय पुर्‍याइने भएको छ । त्यसैगरी, सिनेटको आकार पनि घटाइने भएको छ । गठबन्धन सरकारकै एक अंशको रूपमा रहेको फाइभ स्टार मुभमेन्टले यो जनमत संग्रहको आयोजना गरेको हो । यस कदमले मुलुकको सरकारी खर्चको भार घट्ने विश्वास लिइएको छ । यस कदमले विधायत तथा सिनेटरको कुल संख्या ९ सय ४५ बाट ६ सयमा झार्ने लक्ष्य लिएको छ ।

२३ मंसिर, ०७७

विश्वकै पहिलो कोरोनाको खोप बेलायती हजुरआमालाई

लन्डन, (एजेन्सी)

सामूहिक रूपमा कोभिड–१९ विरुद्ध खोेप दिने कार्यक्रमअन्तर्गत विश्वमै पहिलोपटक फाइजर कम्पनीद्वारा उत्पादित खोप लिने भाग्यमानीमा बेलायती एक वद्धा भएकी छन् । आगामी साता एकान्नब्बे वर्ष पुग्ने हजुर आमा मार्गारेट किनानका लागि यो खोप जीवनभरिकै जन्मदिनको उत्कृष्ट उपहार साबित भएको छ । फाइजर बायो एन टेकले उत्पादन गरेको पहिलो आठ लाख डोजमध्ये पहिलो डोज उनलाई स्थानीय समयअनुसार बिहान ११ बजेर १६ मिनेट जाँदा लगाइएको थियो ।

१ माघ, ०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध दोश्रो महाभियोग

वासिङ्टन, (एजेन्सी)

अमेरिकाको प्रतिनिधिसभाले गत साता क्यापिटल भवनमा भएको दंगा उक्साएको आरोपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग लगाएको छ । ट्रम्प विरुद्ध महाभियोग लगाउने विषयमा हाउसमा भएको मतदानमा पक्षमा विधायकहरूको २ सय ३२ र विपक्षमा १ सय ९७ मत खसेको हो । १० जना रिपब्लिकन विधायक समेतले यस कार्यमा डेमोक्रेटलाई सघाएका थिए ।तर, आगामी साता नवनिर्वाचित अमेरिकी राष्ट्रपति जोय बाइडेनले शपथ ग्रहण नगरेसम्म यस मुद्दाले सिनेटमा स्थान नपाउने भएको छ । अमेरिकाको इतिहासमै आफ्नो कार्यकालमा दोश्रोपटक महाभियोग सामना गर्नुपरेका ट्रम्प पहिलो राष्ट्रपति बनेका छन् ।

२३ पुस, ०७७

बाइडेन र ह्यारिसले अमेरिकी चुनाव जितेको औपचारिक घोषणा

क्यापिटल भवनमा आक्रमण, पाँचजना मारिए

वासिङ्टन, (एजेन्सी)

राष्ट्रपति ट्रम्पका समर्थनहरूले क्यापिटल भवनमा अचानक हमला गर्दा भएको प्रहरीको कारबाहीमा एकजना प्रहरीलगायत पाँचजनाको ज्यान गएको छ ।हिंसात्मक गतिविधिका कारण केही समय कंग्रेसको कारबाही रोकिए पनि पुन शुरू भएको बैठकमा हाउस र सिनेटद्वारा इलेक्टोरल मत गणना गर्न तोकिएका चारजना ‘टेलर’मध्ये एक मिन्नेसोटाका सिनेटर एमी क्लोबचरले जोय बाइडेन र कमला ह्यारिसको चुनावी जित भएको औपचारिक घोषणा गरेकी छन् ।उनले भनेकी छन्, ‘हामीलाई दिइएको मतपत्रअनुसार हामीले तयार पारेको प्रतिवेदनले जोय बाइडेन र कमला ह्यारिस क्रमशः अमेरिकाको राष्ट्रपति र उपराष्ट्रपति बन्ने घोषणा गर्दछु ।सिनेटको प्रमाणपत्र पेस गर्ने कार्य हरेका उप–राष्ट्रपति माइक पेन्सले खसेका कुल ५ सय ३८ इलेक्टोरल मतमध्ये बाइडेन र कमला ह्यारिसले ३ सय ६ र डोनाल्ड ट्रम्प र माइक पेन्सले २ सय ३२ मत प्राप्त गरेको जानकारी दिएका छन् । सन् २०२१ को २० जनवरीदेखि नयाँ राष्ट्रपति र उप–राष्ट्रपतिको कार्यकाल शुरू हुँदैछ ।

म्यान्मारमा सत्ता सेनाको कब्जामा

सुकीलगायत राष्ट्रपति पनि हिरासतमा

यांगुन, (एजेन्सी)

म्यान्मारको सेनाले प्रजातन्त्रका समर्थक नेतृ आङ सान सुकीलाई हिरासतमा लिएर सोमबार सत्ता कब्जा गरेको छ । सुकीका सत्तारुढ पार्टी नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) का अन्य वरिष्ठ सदस्यहरूलाई पनि हिरासतमा लिइएको छ । सैनिक टेलिभिजनमा जारी गरिएको एक विज्ञप्तिमा सम्पूर्ण निकायको अधिकार प्रमुख सैनिक कमान्डरलाई दिइएको र मुलुकमा एक वर्षसम्म संकटकाल लागू हुने उल्लेख गरिएको छ ।सुकीको नेसनल लिग फर डेमोक्रेसीले चुनावमा अत्यधिक बहुमतले विजय हासिल गरेलगत्तै सैनिक विद्रोह भएको हो । सुकीले आफ्ना समर्थकहरूलाई परिवर्तित राजनीतिक अवस्थालाई स्वीकार नगर्न तथा सैनिक विद्रोहविरुद्ध प्रदर्शन गर्न आह्वान गरेकी छन् । आफूलाई हिरासतमा लिइन लागेको केही समय अघि लेखेको एक पत्रमा सुकीले सेनाको यस कार्यले देशलाई पुनः तानाशाहीतर्फ फर्काउन लागेको प्रतिक्रिया पोखेकी छन् ।सोमबार बिहान सबेरै सेनाले निर्वाचनमा धाँधली भएकाले आफूले सत्ता प्रधान सेनापति मिन आंग लाइंगलाई दिन लागेको जनाएको थियो ।

८ माघ, ०७७

राष्ट्रपति बाइडेन र उपराष्ट्रपति ह्यारिसद्वारा विधिवत शपथग्रहण

वासिङ्टन, (एजेन्सी)

अमेरिकी राष्ट्रपति जोय बाइडेनले शपथग्रहण गरेको केही घन्टापछि नै पूर्व राष्ट्रपति ट्रम्पका केही प्रमुख नीतिहरू फुकुवा गरेका छन् । शपथग्रहण पछि राष्ट्रपति भवन ह्वाइट हाउसतर्फ जानेक्रममा उनले ट्विट गरेका छन्, ‘हामीले भोग्नुपर्ने समस्याहरूको समाधानका लागि खेर फाल्ने समय नै छैन ।’राष्ट्रपति बाइडेनले सबैभन्दा पहिले कोरोना भाइरस समस्याप्रति संघीय जिम्मेवारी बढाउनका लागि १५ वटा कार्यकारिणी आदेश पत्रमा हस्ताक्षर गरेका छन् । अन्य आदेश पत्रमार्फत उनले ट्रम्प सरकारको जलवायु परिवर्तन र आप्रवाससम्बन्धी आदेशलाई उल्टाएका छन् ।बुधबार मध्यान्ह अमेरिकाको ४६औं निर्वाचित राष्ट्रपतिको रूपमा शपथग्रहण गरेपछि आफ्नो कार्यभार शुभारम्भका लागि उनी ओभल अफिसमा पुगेका थिए ।

२६ फागुन, ०७७

चीन र रसियाले चन्द्रमामा अन्तरिक्ष केन्द्र निर्माण गर्ने

बेइजिङ, (एजेन्सी)

चीन र रसियाले चान्द्रिक अन्तरिक्ष केन्द्र (लुनार स्पेस स्टेसन) निर्माण गर्ने योजना घोषणा गरेको छ । रुसी अन्तरिक्ष निकाय रोस्कोस्मोसले आफूले चन्द्रमाको सतह, कक्ष वा दुवैमा अनुसन्धान परिसर विकास गर्नेबारे चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनसँग एउटा सम्झौतापत्रमा हस्ताक्षर गरेको जानकारी दिएको छ । दुवै मुलकका अन्तरिक्ष निकायहरूले जारी गरेको एक संयुक्त विज्ञप्तिमा सो अन्तरिक्ष केन्द्र अन्य मुलुकहरूले पनि प्रयोग गर्न सक्ने बताइएको छ ।रसियाले आफूले पहिलोचोटि मानवसहितको अन्तरिक्ष उडान भरेको ६०औं वार्षिक दिवस मनाउने तयारी गरिरहेको बेला यो खबर सार्वजनिक भएकोे हो । दुवै मुलुकका अन्तरिक्ष निकायले उक्त अन्तर्राष्ट्रिय वैज्ञानिक चान्द्रिक स्टेसनले चन्द्रमाको अन्वेषण र प्रयोग लगायत व्यापक वैज्ञानिक अनुसन्धान गर्ने जानकारी दिएका छन् ।

१८ चैत, ०७७

‘कोरोना भाइरस प्रयोगशालाबाट फैलिएको सम्भावना न्यून’

न्युयोर्क, (एजेन्सी)

विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) का अध्यक्ष टेड्रोस एधानोम घेब्रिएससले कोभिड–१९ चीनको एउटा प्रयोगशाालाबाट निस्केको हो भन्ने यकिन गर्न अझै थप अनुसन्धानको आश्यकता रहेको बताएका छन् । उनले प्रयोगशालाबाट कोरोना भाइरस फेलिएको सम्भावना अत्यन्तै न्युन रहे पनि थप अनुसन्धान चाहिएको बताएका छन् ।संयुक्त राज्य अमेरिका र अन्य मुलुकहरूले चीनले कोरोनाको मूल पत्ता लगाउन चीन पुगेको डब्ल्युएचओको टोलीलाई आवश्यक मात्रामा तथ्यांक उपलब्ध नगराएको भन्दै आलोचना गरेका छन् तर, शुरूदेखि नै चीनले आफूलाई लगाइएको भाइरस चुहाएको आरोप अस्वीकार गर्दै आएको छ । डब्ल्युएचओ र चिनिया विशेषज्ञहरूले मंगलबार एक प्रतिवेदन सार्वजनिक गर्दै प्रयोगशालाबाट भाइरस चुहिएको भन्ने अनुमान अत्यन्तै कम सम्भावना रहेको तथा भाइरस चमेरोबाट अन्य जनावरको माध्यमबाट मानवमा सरेको हुनुपर्ने बताएका छन् ।

१२ चैत ०७७

उत्तर कोरियाद्वारा दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपित

सोल, (एजेन्सी)

उत्तर कोरियाले जापानको जलीय क्षेत्रमा दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको अमेरिका र जापानले जनाएका छन् । जोय बाइडेन अमेरिकी राष्ट्रपति बनेयताको उत्तर कोरियाको यो पहिलो क्षेप्यास्त्र प्रक्षेपण हो । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को प्रस्तावना अनुसार प्योंगयांगमाथि ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण तथा प्रक्षेपण गर्न प्रतिबन्ध लगाइएको छ । साथै, क्षेप्यास्त्रलाई खतरनाक हतियारको दर्जामा राखिएको छ । जापान र दक्षिण कोरिया दुवैले यो प्रक्षेपणको विरोध गरेका छन् ।

११ चैत ०७७

फाइजरले कोभिड–१९ विरूद्ध खाने चक्की बनाउँदै

न्युयोर्क, (एजेन्सी)

औषधि निर्माण कम्पनी फाइजरले कोभिड–१९ लाई असफल पार्ने औषधि चक्कीको पहिलो चरण प्रयोग परीक्षण कार्य शुरू भइसकेको जानकारी दिएको छ । कम्पनीको प्रमुख वैज्ञानिक अधिकारी माइकल डोल्स्टेनले यदि चिकित्सकीय परीक्षणबाट सुरक्षित र प्रभावकारी रहेको प्रमाणित भएको खण्डमा फाइजर चक्की संक्रमणको पहिलो लक्षण देखिएका बिरामीहरूलाई सेवन गराइने बताएका छन् ।प्रयोग चरणमै रहेको यो चक्कीले मानव शरिरमा सार्स–कोभ–२ भाइरसलाई खतम पार्ने इन्जाइम निकाल्ने गर्दछ । एचआइभी तथा हेपाटाइसिस ‘सि’ विरुद्धका एन्टिभाइरल औषधिहरूले पनि यस्तै काम गर्ने गर्दछ । फाइजरले ‘पिएफ – ०७३२१३३२’ नामक सो औषधि सार्स–कोभ–२ र अन्य कोरोना भाइरसविरूद्ध राम्रो काम गर्ने गरेको देखिएको प्रयोगशालाहरूमा गरिएको अध्ययनले देखाएको जनाएको छ । फाइजरले अस्पतालमा उपचारका लागि भर्ना गरिने बिरामीहरूलाई ध्यानमा राख्दै अर्को खोपमार्फत दिइने एन्टिभाइरल औषधि पनि विकास गरिरहेको छ ।

२४ चैत, ०७७

रुसी राष्ट्रपति पुटिनद्वारा सन् २०३६ सम्म सत्तामा रहने कानुन पारित

मस्को, (एजेन्सी)

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार आफूलाई आगामी सन् २०३६ सम्म सत्तामा टिकाइराख्न मिल्नेगरी तयार पारिएको कानुनमा हस्ताक्षर गरेका छन् । यसले गत वर्ष मतदानमार्फत संविधान परिवर्तनका लागि चालिएको कदमलाई औपचारिकता प्रदान गरेको छ । गत वर्षको १ जुलाईमा भएको संवैधानिक मतदानमा पुटिनको पूर्वनिर्धारित राष्ट्रपतीय कार्यकालको सीमा अवधिलाई परिमार्जित गरी उनलाई अर्को दुई कार्यकालका लागि राष्ट्रपतीय चुनावमा उठ्न पाउने प्रावधान बनाइएको थियो ।क्रेमलिनको नियन्त्रणमा रहेको रबर स्ट्याम्प विधान सभाले परिवर्तनलाई सर्वसम्मतले सहमति दिएको थियो । राष्ट्रपति पुटिनद्वारा हस्ताक्षरित उक्त परिवर्तनसँग सम्बन्धित कानुनलाई सोमबार कानुनी सूचनाको वैधानिक पोर्टलमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्