विवादको वर्षा सिनेमा स्वाहा



रशमी थापा

वर्ष २०७७ कोरोना कहरका कारण विश्वभरकै लागि संकटको वर्ष बन्न पुग्यो। नेपाल पनि त्यसबाट अछुतो रहन सकेन। नेपालका सबै क्षेत्र यसबाट प्रभावित बन्न पुग्यो। सिनेमा क्षेत्र पनि यसको शिकार हुन पुग्यो। कोरोना जोखिमका कारण भिडभाड रोक्न गत वर्षको फागुन महिनामै सिनेमा हलहरु बन्द गराइयो। जसका कारण यो वर्ष एकाधबाहेक सिनेमा रिलिज हुन सकेनन्। बरु म्युजिक भिडियो चम्किन पुगे।सिनेमाका कलाकारहरुले म्युजिक भिडियो खेलेरै चित्त बुझाउनुप-यो। कोरोनाका कारण कामहरु बन्द भए भने विवादको वर्षा हुन पुग्यो। वर्षैभरि विभिन्न विवाद बँहिर आए। एक अन्तर्वार्ताका क्रममा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले राजेश हमालको महानायक उपाधिमाथि प्रश्न उठाएपछि दीपाश्री निरौला विवादमा तानिइन्। उनको विचारलाई लिएर मानिसहरुले उनलाई गालीगलौजसमेत गरे। उता अभिनेता राजेश हमालले फेसबुकमार्पmत दीपाश्रीलाई माफी दिन अनुरोध गरे। दीपाश्रीले पनि आफ्नो गल्ती भएको भन्दै फेसबुकमा एक भिडियो पोस्ट गरी आफूबाट गल्ती भएको भन्दै माफी मागिन्। त्यस्तै अभिनेत्री साम्राज्ञीराज्यलक्ष्मी शाहले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै फिल्म ड्रिम्सको सुटिङका बेलामा समयमै खाना र पानी नदिइएको तथा अभिनेता तथा निर्माता भुवन केसीबाट नराम्रो व्यवहार भएको आरोप लगाइन्। जापानमा आयोजित एक अवार्ड कार्यक्रममा भुवनले नराम्रो व्यवहार गरेको आरोप साम्राज्ञीको थियो।साम्राज्ञीले आरोप लगाएपछि अभिनेता, निर्माता तथा निर्देशक भुवन केसीले पनि कडा शव्दमा त्यसको प्रतिवाद गरे। उनले मानहानिको आरोप लगाउँदै अदालतमा मुद्दा नै दायर गरे।

भुवनले आफूद्वारा निर्मित फिल्म ड्रिम्सबाट नेपाली रजतपटमा डेब्यु गराएको साम्राज्ञीविरुद्ध १० करोड रुपियँँ क्षतिपूर्ति माग दाबी गर्दै जिल्ला अदालत, काठमाडौंमा मानहानिको मुद्दा दायर गरेका थिए। भुवनले नेपाल चलचित्र कलाकार संघमा दिएको उजुरीको निराकरण नभएपछि अदालतमा मुद्दा दायर गरेका थिए।लोकप्रिय गायिका, सञ्चारकर्मी तथा राष्ट्रिय सभाकी सांसद कोमल वली नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रघुजी पन्तविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दाएर गरिन्। पन्तले वलीविरुद्ध यौनिक हिंसाजन्य अभिव्यक्ति दिएपछि वलीले कानुन व्यवसायीसँग परामर्श गरी उनीविरुद्ध फागुनको चौथो साता जिल्ला अदालत काठमाडौंमा गाली बेइज्जतीको मुद्दा दायर गरेकी थिइन्।अभिनेता सरोज खनाल, फिल्म निर्मात्री, निर्देशक तथा हास्य अभिनेत्री दीपाश्री निरौला, कार्यक्रम सञ्चालक सुशील नेपाललगायतका कलाकर्मीको फेसबुक ह्याक भयो। उनीहरुको फेसबुक ह्याक गरेको आरोपमा प्रहरीले पर्सा बहुदजरमाई नगरपालिका–५ का १४ वर्षीय बालकलाई उक्त अभियोगमा पक्राउ गरेको छ। ह्याकरले कलाकमीहरूको फेसबुक ह्याक गरी उनीहरुको आईडी प्रयोग गरेर विभिन्न मानिससँग रकम माग गरेपछि दीपाश्री निरौला, खनाललगायतले आफ्नो फेसबुक ह्याक गरी आफन्त र साथीहरूसँग पैसा माग गरिएपछि प्रहरीको साइबर ब्युरोमा जाहेरी दिएका थिए।

सहयोगमा हात बढाए कलाकारले

कोराना संक्रमणबाट हुने कोभिड–१९ को महामारीका कारण सिनेमा निर्माण, वितरण र प्रदर्शनका सम्पूर्ण कार्य ठप्प भएपछि आर्थिकरूपमा समस्यामा परेका प्राविधिक र नृत्य कलाकारहरूलाई चलचित्र विकास बोर्डले नगद राहत उपलब्ध गरायो। बोर्डले आन्तरिक स्रोतबाट प्राविधिक र नृत्य कलाकारहरूलाई राहतस्वरूप रकम सहयोग गर्‍यो । २ सय जना प्राविधिक र १ सय २० जना नृत्य कलाकारका लागि गरी बोर्डले प्राविधिक संघलाई १० लाख तथा नृत्य संघलाई ५ लाख रुपियाँ गरी कुल १६ लाख रुपियाँ उपलब्ध गराएको थियो।रिल लाइफका चक्लेटी हिरो पल शाहले पनि कोरोना संक्रमणको जोखिमका कारण लगाइएको लकडाउनका समयमा रियल हिरोका रूपमा देखा पर्दैै आफूले काम गरिरहेको फिल्म क्षेत्रका प्राविधिकलाई आफ्नै खल्तीको रकमबाट ५ लाख रुपियाँको राहत प्रदान गरे। उनले लकडाउनकै समयमा पल कालिकोट पुगेर त्यहाँका बाढीपीडित आर्तहरुको घाउमा मल्हम लगाए। पलले वर्षाका कारण कालिकोट नरहरिनाथ गाउँपालिकामा पहिरो गई ठूलो जन–धनको क्षति भएको खबर पाएपछि प्रतिकूल अवस्थाका बाबजुद कालिकोट पुगेर राहत प्रदान गरे।

ख्यातिप्राप्त अभिनेता राजेश हमालले पनि कोरोना कहरका कारण काम बन्द भई समस्यामा परेका प्राविधिकलाई नगद सहयोग गरे। हमालले फिल्म तथा म्युजिक भिडियो क्षेत्रमा सक्रिय रहँदै आएका विभिन्न विधाका १ सय १३ जना प्राविधिकलाई अमेरिका र नेपालमा रहेका आफ्नो निजी रकमका साथ केही साथीको सहयोगी हातबाट प्राप्त रकमले प्राविधिकलाई जनही ५ हजार रुपियाँ सहयोग गरेका हुन्। त्यस्तै कालाकारहरु पूजा शर्मा, सीताराम कट्टेल कुञ्जना घिमिरेलगायतले पनि समस्यामा परेका मानिसहरुलाई राहत वितरण गरेका थिए।

अवार्डको ओइरो

कोरोना संक्रमण दर घट्दै गई लकडाउन हटेपछि राजधानीमा भटाभट अवार्ड कार्यक्रम हुन थाले। असोज २५ गते नेपाली आर्ट, कल्चर एन्ड म्युजिक अवार्ड–२०७७ सम्पन्न भयो। ५२ विधामा ७१ अवार्ड बाँड्दै राजधानीमा पुस ११ गते नेसनल पावर न्युज म्युजिक अवार्ड–२०२० सम्पन्न भयो। पुस २० गते ललितपुरको बालकुमारीस्थित म्युजिक सिटी हलमा सम्पन्न स्पर्श म्युजिक भिडियो अवार्ड–२०२० मा मौसमीलाई तीन दशकभन्दा लामो समयदेखि अभिनय र नृत्यका माध्यमले नेपाली फिल्मको क्षेत्रमा योगदान पु-याएबापत ब्लकबस्टर क्विन उपाधिबाट सम्मानित गरिएको थियो। कार्यक्रममा विभिन्न ५० विधामा अवार्ड प्रदान गरिएको थियो।माघको दोस्रो साता सातौं नेसनल क्यापिटल अवार्ड–२०७७ सम्पन्न भयो। गीत–संगीतका विभिन्न विधामा कलाकारहरुलाई अवार्ड प्रदान गरिएको समारोअमा लाइफटाइम अचिभमेन्ट अवार्डबाट प्राज्ञ तथा गीतकार उन्नति शिला बोहरा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो।

चलचित्र विकास बोर्डमा आयोजित नेपाल चलचित्र निर्देशक समाजको १३औं साधारणसभा तथा सम्मान समारोहमा एक जमानाका ख्यातिप्राप्त निर्देशक हेमबहादुर लामा लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भए। फागुन १७ गते संगीत महर्षि स्व. नातिकाजी श्रेष्ठको ९४औं स्मृति दिवसको अवसरमा नातिकाजी स्मृति समाजले राष्ट्रपति कार्यालय शीतल निवासमा नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार वितरण समारोह–२०७६ आयोजना गरी विभिन्न संगीतकर्मी तथा पत्रकारलाई सम्मान र पुरस्कार प्रदान ग-यो।

फागुन २९ गते राजधानीको सोल्टी क्राउन प्लाजामा नेपाल प्राविधिक संघ नेफ्टा र ड्रिम हाई नेपालले दशौँ नेफ्टा फिल्म अवाड्र्स सम्पन्न ग-यो। लामो समयदेखि रोकिएको उक्त अवार्ड समारोहमा ध्वनी इजिनिएर प्रदीपकुमार उापध्याय र प्रकाश व्यवस्थापक नारायण तिमिल्सिना नगद ५१ हजार रुपियासहित लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो। २०७५ सालमा रिलिज भएका फिल्मलाई लिएर कुल ३६ विधामा अवार्ड प्रदान गरीएको थियो। चैत २८ गते दरबारमार्गस्थित पाँचतारे होटल याक एन्ड यतिमा मुक्तिनाथ विकास बैंकको प्रस्तुतिमा ११औं सस्करणको विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न भयो। चैतको अन्तिम साता ज्योति फिल्म्स् प्रोडक्सन प्रालिले राजधानीमा दोस्रो ज्योति फिल्म्स् म्युजिक अवार्ड आयोजना गर्‍यो । समारोहमा ३८ विधामा अवार्ड प्रदान गरिएको थियो।

श्वेता र अञ्जुको बिहे

मंसिर २२ गते नायिका तथा निर्मँत्री श्वेता खड्का एकल जीवनको अन्त्य गर्दै वैवाहिक बन्धनमा बाँधिइन्। श्वेताले आफ्ना नातेदार र इष्टमित्रका सामु धनगढीका युवा विजयेन्द्र सिंह रावतसँग लगनगाँठो कसिन्। केही समयदेखिको विजयन्द्रसिंह रावतसँगको प्रेमलाई गन्तव्य दिन श्वेताले घर–परिवारको सहमतिमा गोकर्ण फरेस्ट रिसोर्टमा विवाह गरेकी हुन्।गायिका अञ्जु पन्तले पनि एकल जीवनको अन्त गर्दै प्रेमी थीर कोइरालाका साथ फागुन १३ गते विवाह गरिन्। अञ्जु र थीरको ललिततपुरको पाटनस्थित एक चर्चमा बिवाह भएको थियो।

प्रतिक्रिया दिनुहोस्