नहकुल सुवेदीविरुद्धको रिट खारेज



नेपाल समाचारपत्र, काठमाडौं । 

योग्यता नपुगेको उच्च अदालतका मुख्य न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएको दाबी गरी दर्ता भएको रिट निवेदनलाई सोमबार सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले सो रिट निवेदन खारेज गरेको हो । उच्च अदालत, सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीको योग्यता नपुगी सर्वोच्चको न्यायाधीशमा सिफरिस गरिएको दाबी गरी वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले रिट निवेदन दायर गर्नुभएको थियो ।

नेपालको संविधानको धारा १२९ को उपदफा (५) मा भएको योग्यताविपरीत सुवेदीलाई सर्वोच्चको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको रिट निवेदनमा उल्लेख गरिएको थियो । उपधारा (५) मा उच्च अदालतका मुख्य न्यायाधीश वा न्यायाधीशको पदमा पाँच वर्ष कार्य गरेको व्यक्ति सर्वोच्च अदालतका लागि योग्य हुने व्यवस्था छ सुवेदी उच्च अदालतको मुख्य न्यायाधीश भएको तीन वर्ष मात्र भएको छ । रिट निवेदनमा सुवेदी उच्च अदालतको मुख्य न्यायाधीश भएको तीन वर्ष मात्र भएकाले संविधानको धारा १२९ (५) बमोजिमको योग्यता नपुगेको दाबी गरिएको थियो । सर्वोच्चले सो उपधाराबमोजिम सुवेदीको योग्यता पुगेको उल्लेख गर्दै दायर भएको रिट निवेदन खारेज गरेको हो ।

सर्वोच्चको न्यायाधीश नियुक्ति गर्नुअघि संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिले योग्यता परीक्षण गर्नुपर्ने हुन्छ । सुनुवाइ समितिले आउँदो चैत ३ गते सुवेदीको सुनुवाइ गर्दै छ । सुनुवाइ समितिका एक सदस्यले भने–‘हामीले सर्वोच्चको आदेश कुरेर बसेका थियौं । सर्वोच्चको आदेश आएको छ, अब हामी चैत ३ गते सुनुवाइ गर्ने छाै ।सुनुवाइ समिति सम्बन्धित नियमावलीमा प्रस्तावित व्यक्तिलाई अस्वीकार गर्नको लागि दुई तिहाइ सदस्य चाहिने उल्लेख छ । उक्त समितिमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका गरी १५ जना सदस्य रहने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्