‘दयाराम परियार स्मृति मानव अधिकार सम्मान’ डा. वस्तीलाई



काठमाडौंं : राष्ट्रिय मानव अधिकार आयोगले हरेक वर्ष प्रदान गर्दै आएको ‘स्वर्गीय दयाराम परियार स्मृति मानव अधिकार सम्मान’ यस वर्ष फोरेन्सिक विज्ञ डा. हरिहर वस्तीलाई प्रदान गर्ने निर्णय गरेको छ ।  आयोगको आज बसेको बैठकले डा वस्तीले शव उत्खननलगायत मानव अधिकारका दर्जनौँ अनुसन्धान कार्यमा महत्वपूर्ण योगदान पु-याएकामा सम्मान गर्ने निर्णय गरेको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिए ।

डा वस्तीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा लामो समय फोरेन्सिक विज्ञका रुपमा रही मानव अधिकारको संरक्षणमा योगदान पु-याएका थिए । सशस्त्र द्वन्द्वकालीन घटनाहरुको अनुसन्धानमा संलग्न रही मानव अधिकारको क्षेत्रमा उनले पुर्याएको योगदानलाई उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा समेत मानव अधिकारको क्षेत्रमा थप योगदान पु-याउने छन् भन्ने विश्वास आयोगले लिएको छ ।

आयोगले गत वर्षको मानव अधिकार सम्मान महिला मानव अधिकार रक्षक सञ्जाल नेपालका संस्थापक तथा लैङ्गिक समानता, लैङ्गिक न्याय र महिला हिंसाको न्यूनीकरणको अभियानमा क्रियाशील अधिकारकर्मी डा रेणु अधिकारीलाई प्रदान गर्ने निर्णय गरेको थियो ।

हालससम्म मानव अधिकार तथा सामाजिक न्यायको क्षेत्रमा योगदान गरेका डा. शिवमाया तुम्बाहाम्फे, श्याम सुन्दर शशी, दुर्गा घिमिरे, चन्द्रकिशोर झा, बलदेव राम, चरिमाया तामाङ, शारदा चन्द, टेकनाथ बराल, मातृका देवकोटा, नजवुल खान, विद्या राजभण्डारी, रामजी अधिकारी, प्रेम कुमारी पन्त, नारायणप्रसाद शर्माले ‘दयाराम परियार मानव अधिकार स्मृति सम्मान’ प्राप्त गरिसकेका छन् ।

अधिकारकर्मी परियारको मानव अधिकार आयोग जनकपुर कार्यालयमा कार्यरत रहँदा शाहीकालमै ०६२ चैत ११ मा प्रहरीको गोली लागी उपचारको क्रममा चैत १५ गते निधन भएको थियो। घटनाको अनुसन्धान गर्दै आयोगले तत्कालीन प्रहरी निरीक्षक प्रकाशराज शर्मासहितको टोलीलाई बिनाकारण अन्धाधुन्ध गोली चलाई हत्या गरेको निष्कर्ष निकाली फौजदारी अभियोगमा कारवाही गर्न सरकार समक्ष सिफारिस गरेको थियो। यद्यपि हालसम्म घटनामा संलग्नहरुलाई भने कुनै कारबाही हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्