चमत्कारी सरकारले जनताको बारेमा न केही सोच्छ, न केही गर्छ : थापा



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले कोरोनाका कारण लाखौं नेपालीले रोजगारी गुमाए पनि केपी ओली नेतृत्वको सरकारले भने केही नसोचेको र जनताको हितमा काम नगरेको बताएका छन् ।

ओली नेतृत्वको सरकारलाई ‘चमत्कारी सरकार’ उपनाम दिँदै थापाले देशभित्रका उद्योग, खुद्रा व्यापार र सबैभन्दा बढी पर्यटन क्षेत्रमा लाखौं नेपालीले रोजगारी गुमाए पनि सरकार मौन रहेको आरोप लगाएका छन् ।

‘कोभिडको प्रभावले देशभित्रका उद्योग, खुद्रा व्यापार र सबैभन्दा बढी पर्यटन क्षेत्रमा लाखौं नेपालीले रोजगारी गुमाएका छन् । सरकारी तथ्यांकले भन्छ, वैदेशिक रोजगारीमा पनि लाखौँले रोजगारी गुमाएर जो नेपाल फर्किएका छन् । फर्किएर आएका पनि जान पाएका छैनन्’, उनले भने, ‘यिनीहरूको पुनःस्थापनाको बारेमा यो चमत्कारी सरकार न केही सोच्छ, न केही गर्छ ।’

त्यस्तै, दक्षिण कोरियाको भाषा तथा सिप परीक्षा उत्तीर्ण गरेका करिब १० हजार ५ सय र प्रतिबद्ध करिब २ हजार कामदार महिनौंदेखि काठमाडौंमा अलपत्र परेको जनाउँदै थापाले उनीहरुका लागि सरकारले कुनै पहल नगरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्