भवन नहुँदा ट्राफिक प्रहरीलाई समस्या



युवराज श्रेष्ठ, रामेछाप ।

 जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन नहुँदा कार्यालयको काम–कारबाहीमा समस्या उत्पन्न भएको छ । मन्थली नगरपालिकाले जिल्ला ट्राफिक प्रहरीको नाममा मन्थली नगरपालिका–१ ट्राफिक बिटमा १ रोपनी ३ आना ३ पैसा जग्गा दिएको भए पनि भवन नहँदा समस्या भएको हो ।

जग्गा भए पनि रकम अभावका कारण भवन निर्माण हुन नसक्दा धेरै समस्या झेल्नुपरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख रामेश्वर पाण्डेले बताउनुभयो ।‘कार्यालयको नाममा जग्गा भएमा भवन निर्माणका लागि आवश्यक पहल गर्ने वागमती प्रदेश सरकारले भनेपछि मन्थली नगरपालिकासँग सहकार्य गरेर जिल्ला ट्राफिक प्रहरी कार्यालयको नाममा जग्गा ल्यायौं’, उहाँल भन्नुभयो– ‘जग्गा प्राप्तिपछि भवनको डीपीआर र नक्सासमेत निर्माण गरेर आवश्यक बजेटका लागि प्रदेश सरकारसँग माग गर्दा अहिलेसम्म रकम प्राप्त हुन सकेको छैन ।’

प्रहरीले नगरपालिकाले दिएको जग्गामा एउटा ट्रस निर्माण गरेर कार्यालय सञ्चालन गर्दै आएको छ भने बस्नका लागि व्यक्तिको घर भाडामा लिएको छ । ट्राफिक प्रहरीले चेकजाँचको क्रममा नियमविपरीत सञ्चालन भएका सवारीसाधन, चोरीका सवारीसाधन समात्दा राख्ने ठाउँको समेत अभाव छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले गएको साउन महिनायता ८ महिनाको अवधिमा १० हजार ९ सय सवारीसाधनलाई कारबाही गरबापत १ करोड ८ लाख ३८ हजार ५ सय राजस्व रकम संकलन गरेको पाण्डेले बताउनुभयो ।

त्यस्तै नियमविपरीत सवारीसाधन सञ्चालन गर्नेलाई प्रहरीले चेकजाँच गर्दा ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन देखाएर उम्कन खोज्ने २३ जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरेर छाडिएको पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्