बैतडीका पन्ध्र सामुदायिक वनमा आगलागी



विनोद सिंह विष्ट, बैतडी ।

लगातारको खडेरीका कारण बैतडीका १५ भन्दा बढी सामुदायिक वनमा आगलागी भएको छ । सुख्खापनका कारण बैतडी जिल्लाको १५ बढी सामुदायिक वनको १ सय ५५ हेक्टर वनक्षेत्रमा डढेलो लागेको हो ।

सुख्खापनका कारण वन–जंगलहरुमा डढेलो लागेको डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले बताउनुभयो । जिल्लाको कुल क्षेत्रफलको ६२ प्रतिशत वनक्षेत्र रहेको छ । अधिकांश वन–जंगलमा आगलागी भएको दोगडाकेदार गाउँपालिका–३ का गणेश विष्टले बताउनुभयो । आगलागीका कारण काँचो रुखहरुसमेत जलेर नष्ट भएका छन् । अन्य ठाउँको भन्दा बढी सल्लेरी वनमा आगलागी भएको उहाँले बताउनुभयो ।

सामुदायिक वनहरुमा आगलागी हुँदा बोट–विरुवा जलेर खरानी भएका स्थानीयबासीहरुले बताएका छन् । वनमा भएको आगलागीका कारण वातावरणसमेत प्रदूषण भइरहेको छ । वन–जंगलमा लागेको आगोले वर्षै सम्म समस्या निम्त्याउने डिभिजन वन कार्यालयका प्रमुख पराजुलीको भनाइ छ । खडेरीका कारण वनजंगलमा रुखहरु आफैं सुकिरहेका बेला आगलागीले झन् समस्या भएको उहाँ भन्नुहुन्छ ।वन–जंगलमा आगो लगाउँदा पालुवा राम्रो पलाउँछ र घाँस राम्रो हुन्छ भन्ने गलत सोचाइका कारण पनि वन–जंगलमा डढेलो लगाउने क्रम बढ्दै गएको छ । वन–जंगलमा लागेको डढेलोका कारण पानीका मुहानहरुसमेत सुक्दै गएका पराजुली बताउनुहुन्छ ।
खडेरीले रुखबिरुवा सुक्दै

लामो समयदेखिको खडेरीले बैतडीका विभिन्न स्थानमा वन–जंगलका रुखहरु सुक्न थालेका छन् ।सुर्नया गाउँपालिका–४ को रौलेश्वर केदार सामुदायिक वन, रानीपातल सामुदायिक वन, बजलाडी सामुदायिक वन, ठूलापातल सामुदायिक वन, चोरपातल र सौलेभाडी सामुदायिक वनमा रुखहरु सुक्न थालेका हुन् । सामुदायिक वनमा दैनिक रुखहरु सुक्न थालेका सुर्नया गाउँपालिका–४ का रामबहादुर महराले बताउनुभयो ।उपभोग गर्दै आएको सामुदायिक वनमा रुखहरु सुक्न थालेपछि स्थानीय चिन्तित बनेका छन् । रुख सुक्नुका कारणबारे सरोकारवाला निकायहरुले ध्यान दिनुपर्ने महराले बताउनुभयो ।

डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले लामो समयको खडेरी, रोगकीराको प्रकोप र रुखहरु बुढो भएका कारणले रुख सुकेको हुन सक्नेबताउनुहुन्छ । उहाँले भन्नुभयो– ‘सामान्यतया लामो खडेरी, रोगकीराको प्रकोप पनि रुख सुक्छन्, तर रुख के कारणले सुकेको हो भन्ने यकिन गर्न विशेषज्ञले अध्ययन गरेपछि मात्रै थाहा हुन्छ ।’रुखहरु सुक्दै जान थालेपछि पानी मुहान पनि सुक्दै गएका छन् । जिल्लाका अधिकांश ठाउँमा खानेपानीको हाहाकार हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्