लडाइँ कुर्सीको होइन: नेपाल



नेपाल समाचारपत्र, वीरगन्ज ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो लडाइँ कुर्सीका लागि नभई विधिका लागि भएको बताउनुभएको छ । प्रेस संगठन नेपाल पर्साले आइतबार वीरगन्जको होटल भिस्वामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो ।

नेकपालाई अलग गरेर एमाले र माओवादी केन्द्र बनाएपछि एमालेलाई एकताबद्ध बनाउनका लागि देशभर आफूहरुले अभियान चलाएको बताउँदै नेपालले भन्नुभयो– ‘पार्टीमा एक व्यक्ति सधैंभरि एकै पद र कुर्सीमा रहिरहनुपर्छ भन्ने मानसिकताको अन्त्यका लागि पनि यो अभियान चालिएको हो ।’चारैतिर केपी ओलीको बहुमत नभएपछि बाहिरबाट थपेर बहुमत पु-याउने नाममा विधि र विधानलाई मिचेको बताउँदै २०७५ जेठ २ को बिन्दुमा फेरि पार्टी एकताबद्ध रहेको उहाँ बताउनुभयो । नेता नेपालले आफूलाई ओलीले कारबाही गरेको कागजमा मात्रै सीमित रहेकाले कार्यकर्तालाई नआत्तिन आग्रहसमेत गर्नुभयो । नयाँ सरकार गठनका लागि प्रतिपक्ष र विपक्षी दलहरुको भूमिका रहेकाले आफूले ओली नेतृत्वको सरकार हटाउनलाई विपक्षीलाई भन्न नसक्ने उहाँले प्रस्ट्याउनुभयो ।

प्रेस संगठन नेपाल पर्साका संयोजक निरज पिठाकोटे मगरको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेकपा एमालेका उपमहासचिव घनश्याम भुसाल, केन्द्रीय सदस्य एवं प्रदेश–२ सहसंयोजक नागेन्द्र चौधरी, केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज रामचन्द्र साह, नेकपा पर्सा अध्यक्ष बालगोपाल थापा, प्रेस संगठन प्रदेश–२ का सहसंयोजक राघव साहलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्