कुरिलो खेतीतर्फ कृषकको आकर्षण बढ्दै



नेपाल समाचारपत्र, पाल्पा ।

 पछिल्लो समयमा पाल्पामा कुरिलो खेति फष्टाउन थालेको छ। आयुर्वेदिक फाइदा र कम लगानीमा राम्रो आम्दानी हुन थाले पछि कृषकहरु आकर्षण त्यसतर्फ बढेको हो ।यसको महत्व र फाइदा बुझेपछि पछिल्लो समयमा पाल्पामा किसानहरुले कुरिलो खेती शुरु गर्न थालेका छन् । कम खर्चमा बढी आम्दानी हुने कुरिलो खेतीका लागि पाल्पाको हावापानी राम्रो भएका कारण पनि पनि किसानहरुमा कुरिलो खेतीको आकर्षण बढ्न थालेको प्राविधिकहरु बताउछन् ।

कृषि ज्ञान केन्द्रले पाल्पाका कृषकहरु कुरिलो खेती बाट मनग्य आम्दानी गर्न सफल भएपछि कुरिलो खेतीको बिस्तार हुन थालेको जनाएको छ । परम्परागत खेती भन्दा बढी उत्पादन गर्न सकिने र बजारमा पनि माग बढ्दै गएका कारण कृषकहरुको कुरीलो खेती तर्फ आकर्षण बढेको कार्यालका प्रमुख शिवप्रसाद अर्यालले जानकारी दिनुभयो ।पाँच वर्ष अघि बगनाशकालीका जीवराज घिमिरेले सुरु गरेको कुरिलो खेती अहिले रामपुर, तानसेन, रिब्दीकोट, रैनादेवी लगायतका स्थानीय तहका कृषकहरुले पनि बिस्तार गर्दै लगेका छन् । जिल्लामा यस खेतीमा करिव ५० जना कृषकहरु व्यवसायिक रुपमै लागेको बताइन्छ ।

कम लगानीमा बढी फाइदा लिन सकिने कुरीलो एक के.जी को ५ देखि ७ सय रुपैया सम्ममा विक्री हुने कृषकहरु बताउछन् । कुरिलो खेतीबाट बर्षको ५ लाख सम्म आम्दानी हुने गरेको कृषक जीवराज घिमिरे बताउनुभयो ।कुरिलो खादा रोग प्रतिरोधात्मक क्षमता बढाउने हुदा यसको माग बढ्दै गएको किसानको अनुभव छ ।विरुवा रोपेको चार पाँच महिनामा तयार हुने कुरिलो खेतीमा दिनदिनै टुसा पलाउने हुँदा यसबाट राम्रो आम्दानी हुने कृषकको भनाइ छ । किसानहरु एक सिजनमा कुरिलोबाट ५० हजार देखि १ लाख सम्म आम्दानी गर्न सकिने बताउछन् । कुरिलो तरकारीको रुपमा प्रयोग गरिन्छ । यसको स्वाद अन्य तरकारीको भन्दा मिठो भएका कारण पनि एकपटक प्रयोग गर्नेले खोजी खोजी किन्ने गर्छन् ।

यसको फाइदा र बजार पनि राम्रो भएकाले कुरिलो खेतिलाई प्रोत्साहन गर्ने गरी कार्यक्रम ल्याइएको वगनासकाली गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्