किङ मेकर माधव–झलनाथ कि महन्थ–राजेन्द्र?

सत्ता समीकरणको खेल



सर्वज्ञराज नाय

नेपालको पछिल्लो सत्ता राजनीतिमा जसपाका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतोलाई किङ मेकरको रुपमा चर्चा गर्ने गरिन्छ । सतहमा हेर्ने हो भने अहिले जसपासँग जुन सांसद सख्या छ, त्यो संख्या निर्णायक देखिन्छ । प्रतिनिधिसभामा हाल नेपाल कम्युनिस्ट पार्टी एमालेको १२०, नेपाली कांगे्रसको ६१, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको ४९, जनता समाजवादी पार्टीको ३३र अन्य दलहरुको ४ जनाको प्रतिनिधित्व छ । वर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई आफ्नो पदमा टिकिरहन वा नयाँ प्रधानमन्त्री चुनिन १३७ जना सांसद चाहिन्छ ।
अहिले नेकपा माओवादीको समर्थनमा नै केपी ओली टिकिरहेका छन् ।

नेकपा माओवादीले नचाहँदा नचाहँदै पनि ओलीलाई प्रधानमन्त्रीमा समर्थन गरिराख्नुपरेको छ । यदि ओलीलाई दिएको समर्थन फिर्ता लिने हो भने ओलीले जसपाको सत्ता समीकरण र समर्थनमा विश्वासको मत प्राप्त गरी आफ्नो सरकार टिकाइरहन सक्ने अवस्था छ । प्रधामन्त्री ओलीले जसपासँग सत्ता समीकरण वा समर्थन लिन नसकेको अवस्थामा पनि अरु सरकार गठन हुने अवस्था छैन । किनभने एमालेबाहेकको अर्को सरकार बन्न नेपाली कांग्रेस, नेकपा माओवादी र जसपा मिल्नुपर्ने देखिन्छ ।यही अवस्था बुझेर नै जसपाले आफूसँगको सत्ता समीकरणको लागि जसपाको नेतृत्वमा सरकार बन्नुपर्ने, चौधरीलाई सजाय माफ गर्नुपर्ने र संविधान संशोधन गर्नुपर्ने लगायतका विभिन्न सर्त राखेको छ । यी सर्तहरुलाई स्वीकारेर कांग्रेसले आफू सरकारमा जानुको औचित्य देखेको छैन । किनभने जसपाका सर्तहरु स्वीकार गर्नु भनेको सत्ताका लागि लोलुप देखाउनु हो । त्यसैले नेपाली कांग्रेसले नेकपा एमालेपछिको ठूलो दल वा विपक्षी दल हुँदाहुँदै पनि वर्तमानको ओली सरकारलाई ढाल्न विशेष इच्छा देखाएको छैन । यही कारणले गर्दा ओली सरकारपछि अर्को सरकार आउने सम्भावना छैन ।

यदि नेकपा माओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्था र त्यसपछि नेपाली कांग्रेस, नेकपा माओवादी र जसपाको सत्ता समीकरण नबनेको अवस्थामा नेपालको संविधान २०७२ को धारा ७६ को उपधारा ३ बमोजिमसबैभन्दा ठूलो दलको हैसियतले ओली सरकारले नै निरन्तरता पाउने छ । सो सरकारले संसद्मा विश्वासको मत लिन नसकेको अवस्थामा र धारा ५ बमोजिम कुनै सांसदको नेतृत्वमा सरकार बन्न नसकेको अवस्थामा ओली सरकारले संविधानतः संसद् विघटन गरी आफै चुनावी सरकार बन्न सक्ने अवस्था छ ।यही अवस्थालाई बुझेर नै अहिले नेकपा माओवादीले चाहेर पनि ओली सरकारलाई दिएको समर्थन फिर्ता नलिएको देखिन्छ । त्यसैले यतिखेर हतार गरेर निर्णय गरिहाल्ने अवस्थामा प्रायः दलहरु देखिँदैनन् । कतिन्जेल यस्तो अवस्था रहने हो भन्ने पनि आँकलन गर्न सकिने अवस्था छैन ।ओली सरकारलाई टिकाइरहन वा नयाँ सरकार गठन गर्न जसपाको जुन आवश्यकता देखिएको छ, त्यसैको आधारमा पनि अहिले सो पार्टीका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतोलाई किङ मेकरको रुपमा लिइएको हो ।यसबाहेक ओली सरकारसँग मिल्ने हो भने दुई पार्टी मात्र मिले पुग्ने अनि आफ्नो धैरै सर्त पूरा हुने र स्वयं ओली पनि आफ्नो सत्ता टिकाइराख्न वा विपक्षी दलहरुसँग मिल्न नदिनको लागि जे पनि गर्न सक्ने वा महन्थ ठाकुरलाई प्रधानमन्त्री मानेरसमेत अगाडि बढ्न सक्ने देखिएकोले नै महन्थ ठाकुरलगायत जसपाका नेताहरु चर्चामा छन् । तर पनि अहिले यसै हुन्छ भन्ने सकिने अवस्था भने छैन ।

तर चर्चा भएअनुसार जसपा वा जसपाका नेताहरु किङ मेकर होइनन् । किनभने अहिले नेकपाभित्र नै तीन चिरा छ । एउटा चिराको नेतृत्व ओलीले गरेका छन् । सो चिरामा लगभग ८७ जना सांसद रहेको मानिन्छ । त्यस्तै माधव नेपाल र झलनाथ खनालको पक्षमा ३३ जना सांसद रहेको मानिन्छ। बामदेव गौतमको एकता अभियानमाले ४–५ जना सांसदलाई यताउता गर्न सक्ने अवस्था देखिन्छ । नेकपा एमालेका अध्यक्ष ओलीले माधव नेपाललगायत झलनाथ पक्षधरका नेताहरुलाई ६ महिना पार्टी सदस्यबाट निलम्बन गरी कारबाही गरिसकेको अवस्था छ । त्यसपछि माधव–झलनाथ पक्ष र पक्षधरहरु समानान्तर संरचना गठन गरी हिँडिरहेका छन् ।उनीहरुको समूहले छुट्टै पार्टी खोल्न सकेको अवस्था पनि छैन । संविधान र कानुनतः नेकपा एमालेलाई फुटाएर छुट्टै पार्टी खोल्न पार्टीको केन्द्रीय कमिटी वा सांसद संख्याको ४० प्रतिशत संख्या पु¥याउन नसकेकाले हो वा नेकपा एमाले फुटाएको आरोप खेप्न नचाहेर हो, यसै भन्न सकिँदैन । आफूले खाइपाइ आएको सांसद पद छोड्न नचाहेकाले पनि छुट्टै पार्टी खोल्न नसकेको पनि हुनसक्छ । अलग पार्टी खोल्ने भनेर हिम्मतसम्म गर्न सकेको देखिँदैन ।

विगतमा नेकपा माओवादी एकता केन्द्रसमेतको नेकपामा प्रचण्ड, माधव नेपाल र झलनाथ खनालको पक्षमा बहुमत सांसद हुँदा पनि पार्टी फुटाएको आरोप लाग्ने डरले हो वा ओली गलेर निस्कीजाऊन् वा आत्मसमर्पण गरुन् अथवा निर्वाचन आयोगमार्फत आफ्नो गतिविधिलाई आधिकारिकता मिलोस् भन्ने चाहनाले छुट्टै पार्टी बन्न सकेन । यसको कारण प्रचण्ड, माधव र झलनाथ वर्तमानमा लाचार अवस्थामा आइपुगेको अनुमान गर्न गाह्रो छैन ।अहिले समेत सांसद पद नरहे पनि छुट्टै पार्टी खोल्ने प्रस्ट निर्णय गर्न नसकेको अवस्था छ । यस परिस्थितिले भोलिका दिनमा नेपाल र झलनाथको हालत दयनीय अवस्थामा पुग्ने देखिन्छ । किनभने अहिले ओलीको हातमा सत्ता र शक्ति छ । भोलिका दिनमा ओलीले जसपासँग सत्ता समीकरण गर्ने हो भने, त्यस बेला ओलीले विश्वासको मत लिन खोज्दा माधव–झलनाथ पक्षधरहरुले पार्टीको नाममा समर्थन नगरी सुखै छैन । यदि समर्थन नगरिएको अवस्थामा पनि पार्टीको लागि गद्दार साबित हुने र स्वतः सांसद पद गुमाउने पर्नेसमेत हुन्छ ।

तसर्थ भोलिको दिनमा लाचार र लाछीजस्तो गरी ओली सरकारको समर्थनमा विश्वासको मत दिनु वा विश्वासको मत नदिई गद्दार कहलिई सांसद पद गुमाउनुभन्दा वर्तमानमा सांसद पद त्याग्नु नै श्रेयष्कर छ । त्यसो त माधव–झलनाथ पक्षधरहरुले सांसद पदबाट राजीनामा दिने कुराले मात्र पनि सत्ता समीकरणको खेलमा उथलपुथल हुनसक्छ । किनभने माधव–झलनाथ पक्षमा देखिएका ३३ जना सांसदलेराजीनामा दिएको अवस्थामा ओलीले जसपासँग सत्ता समीकरण मात्र गरेर पुग्दैन । त्यसमाथि जसपामा पनि बाबुराम भट्राई र उपेन्द्र यादवको पक्षमा १२ सभासद छन् । उनीहरु ओलीसँग कुनै पनि हालतमा सत्ता समीकरण गर्न हुँदैन भन्ने पक्षमा छन् ।त्यसैले यदि माधवकुमार नेपाल र झलनाथ खनालले आफूनो वास्तविक शक्तिलाई बुझ्ने वा आँट गर्ने हो भने सत्ता समीकरणको साँचो जसपाका नेताद्वय ठाकुर र महतोको हातमा होइन कि आफ्नो खल्तीमा छ भन्ने साबित गर्न सक्नुपर्छ । त्यसबाहेक ४० प्रतिशत पु¥याई पार्टी फुटाएर नेकपा माओवादीलगायत अन्य कम्युनिस्ट पार्टीहरुसँग एकता गरेको अवस्थामा संसद्मा ठूलो दल वा नेपालमा ठूलो पार्टी मात्र होइन कि कम्युनिस्ट आन्दोलनको लागि पनि आदर्श वा मार्गनिर्देशक बन्न सक्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्