सीमाबाट संक्रमणको उच्च जोखिम, नाकामा कमजोर निगरानी



हरिहर नेपाल, विराटनगर । 

भारतमा कोरोना संक्रमितहरूको संख्या दिनदिनै बढ्दै जाँदा सीमा नाकाबाट चेकजाँचबिना नै नेपाल प्रवेश गर्नेको संख्या बढेको छ । सीमा नाकामा पर्याप्त सुरक्षा सावधानी अपनाउने सरकारी प्रतिबद्धता कार्यान्वयन नहुँदा पनि जथाभावी रूपमा प्रवेश गर्नेको लर्को लागेको छ । स्वास्थ्यकर्मीहरूका अनुसार नाकामा परीक्षण नगरी भित्रनेहरूका कारण कोरोना संक्रमणको जोखिम उच्च भएको छ ।

लामो र खुला साँधको जुनसुकै क्षेत्रबाट पनि सहजै नेपाल भित्रिनेहरूका कारण संक्रमणको जोखिम उच्च भएको हो । मुख्य नाकाबाट भन्दा चोरबाटो हुँदै आउनेहरूको संख्या उच्च छ । उनीहरू निगरानीबेगर नै नेपाल प्रवेश गरिरहेका छन । विराटनगरसँग सीमा जोडिएको रानी नाकाबाट आवतजावत ठप्प छ । तर, मोरङको ६३ किलोमिटरमा रहेको २६ वटा सीमा नाकादेखि नेपाल प्रवेश गर्नेको दिनहुँ लर्को लाग्ने गरेको छ । यद्यपि, सीमा नाकामा पर्याप्त चेकजाँचसहित स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन भने संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले खासै चासो देखाएको पाइँदैन । जसले गर्दा संक्रमण फैलिएका भारतीय क्षेत्रबाट आउने नेपालीहरूमार्फत नेपालमा पनि कोरोना संक्रमण फैलने खतरा बढ्दै गएको स्वास्थ्यविद्हरूको चिन्ता छ ।

यसअघि, भारतबाट आउनेलाई सीमा नाकामा ज्वरो परीक्षण तथा नाम, ठेगाना टिपेर प्रवेश दिने गरेको भए पनि अहिले खुलेआम आवतजावत हुने गरेको छ । केही नाकामा शंकास्पदको एन्टिजिन परीक्षण गर्न थालिए पनि कतिपय नाकामा हेल्थ डेस्कसमेत नरहेको पाइएको छ । सीमा नाका हुँदै नेपाल भित्रिएका केहीमा कोरोना संक्रमण देखिहाले संक्रमित व्यक्तिलाई सुरक्षित रूपमा आइसोलेसनमा पठाउने वा निगरानीमा राख्ने सवालमा भने अझै प्रभावकारी व्यवस्था हुन सकेको छैन ।प्रशासनले कोभिड जोखिम व्यवस्थापन समितिले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेकमा भारततर्फ नजान आग्रह गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताउनुभयो । विराटनगर–१६ स्थित भारततर्फ आउजाउ गर्ने विराटनगर जुट मिलको दक्षिण गेटमा काँडा राखेर छेकबार लगाई प्रहरी खटाइएको छ । दरैयातर्फ जाने सडकमा र दरैयास्थित चोर बाटोमा पनि सुरक्षाकर्मीले बाँसको छेकबार लगाएका छन । तर, सीमावर्ती भारतीय बजार जोगबनीमा किनमेल गर्न र भारततर्फ आउजाउ गर्नेहरूले खुला सीमाको फाइदा उठाउँदै जताततै दशगजा क्षेत्रबाट सीमा वारपार गरिरहेका छन् ।

विराटनगर–१५ स्थित इस्लामपुर र मटेरुवालगायत मोरङस्थित प्रत्येक छोटी भन्सार नाकामा पनि सर्वसाधारण खुला सीमाको फाइदा उठाउँदै निर्बाध आउजाउ गर्ने गरेको स्थानीयको भनाइ छ । खुलेआम आवतजावतले संक्रमण जोखिम पनि बढाएको छ । खुला सिमाना भएकाले जताततै दशगजाबाट सर्वसाधारणको भारत अवागमन भइरहेको हो । दशगजाबाट भारततर्फ आउने–जानेलाई सीमा खटिएका सुरक्षाकर्मीले रोकेका छैनन् । भारतबाट औपचारिक रूपमा आउने–जानेलाई रानी भन्सार नाकास्थित हेल्थ डेस्कमा स्वास्थ्य जाँच गरेर मात्रै नेपालतर्फ आउन दिइएको छ ।प्रदेश १ मा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ । प्रदेश १ मा आइतबार ७ जना कोरोना संक्रमित थपिएका छन् । १६८ जनाको पीसीआर परीक्षण गर्दा २ महिला र ५ पुरुषमा संक्रमण देखिएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार आज मोरंगमा ३, सुनसरीमा २, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो । विराटनगरमा २, धनपालथानमा १, सुनसरीको दुहबी र इटहरीमा १–१, उदयपुरको चौदण्डीगढीमा १ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको हो । हालसम्म कोरोना संक्रमितको संख्या ३० हजार ४ सय ४५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्