केन्द्रीय सरकारसँगै प्रदेश सरकार परिवर्तन



बुटवल, (नेस) ।

लुम्बिनी प्रदेशका आन्तरिक तथा कानुनमन्त्री कुलप्रसाद केसीले केन्द्रीय सरकारसँगै प्रदेश सरकार पनि परिवर्तन हुने बताउनुभयो ।मन्त्री केसीले केन्द्रको राजनीति प्रदेशमा स्वाभाविकरूपमा पर्ने भएकाले प्रदेश सरकार पनि सोहीअनुरूप परिवर्तन हुने बताउनुभयो ।आइतबार बुटवलमा रिपोटर्स क्लब नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री केसीले संघीयता आए पनि प्रदेश र स्थानीय तहलाई व्यावहारिक रूपमा अधिकार संघीय सरकारले नदिएको गुनासो गर्दै केन्द्रीय राजनीति तल्लो तहसम्म हावी रहेको दाबी गर्नुभयोे ।

उहाँले अहंकार र दम्भले कोही अगाडि नबढ्ने भन्दै अहिले मुलुकमा देखिएको समस्या नै त्यसैको प्रतिफल भएको औंल्याउनुभयो ।प्रदेशमा मिडियाका समस्या समाधानका लागि तीन प्रकारले वर्गीकरण गरेर काम गर्ने योजना रहेको उल्लेख गर्दै व्यवसायिक पत्रकारिता, सामुदायिक सञ्चार र पत्रकार सम्बद्ध संघसंस्थाहरूलाई छुट्टाएर काम गर्ने तयारी भइरहेको बताउनुभयो । मुलुकको यो अस्थिर अवस्थामा मिडियाको अहम् भूमिका रहेको बताउँदै नवनिर्वाचित पदाधकारीलाई जिम्मेवार भएर अगाडि बढ्न उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले प्रदेश सरकारसँग सहकार्य गरेर पत्रकारका मुद्दाहरूलाई समाधान गर्ने बताउनुभयो । त्यस्तै, रूपन्देही पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेल पत्रकार सबैको जित भएकोले सबैले अपनत्व हुने गरी पत्रकार महासंघ अघि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्