कांग्रेसभित्र क्रियाशील सदस्यता समायोजनमा विवाद



नेपाल समाचारपत्र, काठमाडौं । 

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसभित्र क्रियाशील सदस्यता वितरणको विषयलाई लिएर विवाद शुरु भएको छ । विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका झन्डै ५० हजार सदस्यको समायोजनमा शीर्ष तहमा विवाद बढेको हो ।आफ्नो पक्षमा बढीभन्दा बढी क्रियाशील सदस्य थप्ने पक्षमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूह लागिपरेका छन् । क्रियाशील सदस्यले वडादेखि जिल्ला हुँदै महाधिवेशनसम्म प्रभाव पार्ने भएकाले ५० हजार क्रियाशील सदस्य समायोजनमा दुवै समूहले आ–आफ्नो अडान राख्दै आएको छ ।

पार्टीका उपसभापति विजयकुमार गच्छदारले पार्टी प्रवेश गर्दा २५ हजार क्रियाशील सदस्यको नामावली पार्टीलाई बुझाउनुभएको थियो । त्यसै गरी, राप्रपा परित्याग गरेर कांग्रेस प्रवेश गरेका सुनील थापाले शुरुमा ५ हजार क्रियाशील सदस्यको नामावली बुझाए पनि अहिले ५ हजार थपेर १० हजारको माग गरेसँगै विवाद पनि बढेको छ । गच्छदार र थापालाई पार्टी सभापति देउवाले पार्टी प्रवेश गराएका कारण क्रियाशील सदस्यता वितरण गर्दा पार्टीको विधिविपरीत दिन नहुने अडानमा नेता पौडेल पक्ष रहेको छ ।कांगेसका नेता प्रदीप पौडेल क्रियाशील सदस्यता वितरणको काम अगाडि बढिरहेको र समायोजनको विषयलाई पनि पार्टीले छिटोभन्दा छिटो टुंगो लगाउनुपर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो– ‘विभिन्न पार्टी परित्याग गरेर आएका करिब ५० हजारको समायोजन गर्नुपर्ने काम बाँकी छ, अहिले समायोजन समितिले काम गरिरहेको छ, पार्टीले छिट्टै टुंगो लगाउला ।’

क्रियाशील सदस्यता वितरण तथा नवीकरण र समायोजनको बारेमा आइतवार कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बसेको थियो । बैठकमा सभापति देउवा र वरिष्ठ नेता पौडेल भने सहभागी हुनुभएको थिएन । बैठकले केन्द्रीय समितिको बैठकमा लैजाने एजेन्डा तय गर्ने विषयमा छलफल भएको नेता पौडेलले जानकारी दिनुभयो । बैठकमा पार्टीका उपसभापति विमलेन्द्र निधिले समायोजन समितिले हालसम्म गरेका काम र उत्पन्न समस्याबारे नेताहरुलाई जानकारी गराउनुभएको थियो ।त्यसै गरी, केन्द्रीय क्रियाशील छानबिन समितिका संयोजक रमेश लेखकले क्रियाशील सदस्यता वितरण सम्बन्धमा देखिएका समस्याको बारेमा आफ्नो धारणा राख्नुभएको थियो । कांग्रेसले ७१ जिल्लामा क्रियाशील सदस्यताको काम धमाधम अगाडि बढाए पनि ६ जिल्लामा भने समायोजनको विवाद टुंगो लाग्न नसक्दा सदस्यता विरणको काम अगाडि बढ्न सकेको छैन । यही चैत १० गतेसम्म क्रियाशील सदस्यको वितरण केन्द्रमा जानकारी दिन निर्देशन दिए पनि विभिन्न जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता वितरण गर्न सकेका छैनन् । चैत २० गते बसेको केन्द्रीय कार्यसमिति बैठकले चैत ३० गतेसम्म क्रियाशील बाँड्न भने पनि यो अवधिमा थप क्रियाशील सदस्यता वितरण हुन सकेन ।

क्रियाशील वितरणमा शीर्ष नेताहरुबीच देखिएको विवाद प्रमुख कारण देखिएको छ । नेता पौडेलका अनुसार अहिलेसम्म करिब ६ लाख क्रियाशील सदस्यता वितरण गरिसकेको छ । हाल कायम रहेको साढे ५ लाख क्रियाशील सदस्यबाट साढे ५ लाख थप गर्दै झन्डै १० लाखभन्दा बढी क्रियाशील सदस्य पु-याउने कांग्रेसले बताएको छ ।कांग्रेसले आगामी भदौ ७ देखि १४औं महाधिवेशन आह्वान गरेको छ । महाधिवेशनको मिति नजिकिँदै जाँदा क्रियाशील सदस्यताको वितरणको विवाद पनि चर्किंदै गएको छ । नेपाली कांग्रेसका नेता एवं सांसद राजन केसी पार्टीभित्र देखिएको क्रियाशील सदस्यता वितरण र समायोजनको विषय छिटोभन्दा टुंगो लगाउनुपर्ने बताउनुहु्न्छ । उहाँले भन्नुभयो– ‘विभिन्न पार्टी परित्याग गरेर आएकाहरुको सम्मानजनक व्यवस्था हुनुपर्छ, पार्टीभित्र योगदान दिएकाहरुको पनि उचित स्थान दिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्