काभ्रे प्रहरीले बढायो सक्रियता फरार अपराधी चिरिप्प, भिआईपी ‘चोर’ क-याप



मोतीराम तिमल्सिना, काभ्रे ।

जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्री र उहाँको टोलीले काभ्रेपलाञ्चोक जिल्लालाई अपराध मुक्त बनाउने अभियान अन्र्तगत आक्रामक रुपले अदालतको फैसला कार्यान्वयन गर्न शुरु गरेको छ । माघ २ गते हाजिर भएका एसपी भुपेन्द्र खत्रीको टोलीले तीन महिनामा ४८ जना फरार अपराधी पक्राउ गरेको छ ।

रौतहटमा प्रहरी प्रमुख हुँदा चर्चा कमाएका खत्रीे ‘लो प्रोफाईल’मा बसेर अपराध न्युनिकरणमा सक्रिय भएका छन् । मातहतका युनिटहरुले पनि खत्रीको अभियानलाई जुरुक्कै बोकेका छन् । अपराध भए लगत्तै घटनामा संलग्न अभियुक्तहरु पक्राउ गर्ने, चोरी तथा अन्य घटनाका फरार ब्यक्तिहरु पक्राउ पर्ने क्रम निरन्तर रहेको सूचना अधिकारी डिएस्पी हरि खतिवडाले जानकारी दिनु भयो ।

‘जिल्लामा झण्डै १ हजार २ सय फरार अभियुक्त रहेको सूची प्राप्त भएको छ’–प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले भन्नुभयो–‘अलग्गै युनिट खडा गरी अपराध न्युनिकरण, अनुसन्धान र विश्लेषण गरिरहेका छौं । जसका कारण फरार ब्यक्तिहरु मात्रै होईन घटनामा संलग्न जो कोहि भाग्ने अवस्था रहने छैन ।’

माघ २ गते देखि चैत्र २७ गतेसम्म ४८ जना ब्यक्तिहरु पक्राउ परेका छन् । आर्थिक वर्ष २०७७/२०७८ को ९ महिनामा ६३ फरार ब्यक्तिहरु पक्राउ परेका छन् । जालसाजी मुद्दामा २२, चोरी अभियोगमा ४, सार्वजनिक अपराधमा ४, लेनदेनमा ३, चेक अनादारमा ३, बैकिङ्ग कसुरमा ३, लागु औषधमा ३, जातिय भेदभाव छुवाछुत ३, लुटपिट २, करकापमा २, सम्वन्ध विच्छेद २, बहुविवाह २, कुटपिट २, गाली बेईज्जती १, दुनियावादी देवानी १, घर भत्काई पाउँ १, घरेलु हिंसा १, ठगी १, सवारी दुर्घटनाबाट अंगभङ्ग १, वन पैदावार हानी नोक्सानी १ र कर्तब्य ज्यान मुद्दाका १ फरार अपराधी पक्राउ गरी अदालतमा बुझाईएको जिल्ला प्रहरी प्रमुख एसपी खत्रीले जानकारी दिनु भयो । विभिन्न अभियोगमा कैद तथा जरिवना तोकिएका फरार ब्यक्तिहरु प्रहरीको सक्रियतासँगै लुकिछिपी हिड्न थालेका छन् ।

भिआईपी ‘चोर’ पक्राउ

२०७७ फागुन १८ गते जिल्ला समन्वय समितिका कर्मचारीद्धय होमबहादुर राउत र रन्जन रेग्मीको कोठामा दिउसो मध्यान्ह चोरी भयो । धुलिखेल नगरपालिका–७ का सूर्यप्रसाद देवजुको घरमा कोठा लिई बसेका कर्मचारीहरुको डेरा नगरपालिको गेट अगाडी नै छ । सुनको सिक्री दुई थान, सुनको एक तोलाको झुम्का एक थान, सुनको एक तोलाको छड्के एक थान, सुनको औँठी तीन थान, सुनको सानो तलहरी एक थान, सुनको सिरबन्दी लगायतका सामाग्रीहरु चोरी भए पछि प्रहरीले त्यहाँ भएको सिसि क्यामेराबाट अनुसन्धान शुरु ग-यो ।

हरेक चोरी घटनाका अभियुक्तहरु पक्राउ नपर्ने कारण नागरिकहरुमा चोरी भई सके पछि सामान फेला पर्ने र चोर भेटिने कुरामा विश्वास लाग्न छाडिसकेको थियो । मोटरसाईकल होस वा घरमै चोरी भएको अवस्थामा होस एकाध बाहेक प्रहरीले चोर पत्ता लगाई पक्राउ गर्न सकेको छैन । उक्त घटना प्रहरीका लागि चुनौती बन्यो । प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले उक्त घटना र घटनामा संलग्न ब्यक्तिहरुका बारेमा सुक्ष्म अध्ययन गर्न टोली नै परिचालन गर्नु भयो ।

प्रहरीले गरेको अनुसन्धानमा सिन्धुपाल्चोक जिल्ला ईन्द्रावती गाँउपालिका वडा नम्वर ४ बस्ने २७ बर्षिय हेमबहादुर तामाङ, २७ बर्षिय कर्मा भन्ने कर्म तामाङ, वडा नम्वर ५ बस्ने ३२ बर्षिय राजकुमार भन्ने बेल ब. नकर्मी पक्राउ परे । विगतको पृठभूमी, सिसि क्यामेरामा देखिएको मोटरसाईकल, त्यसपछि खरिद भएको पल्सर मोटरसाईकलका आधारमा भिआईपी चोरसम्म पुग्ने बाटो खुलेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले बताए ।

पक्राउ परेका अभियुक्तहरुहरुको बयान र पृष्ठभूमीबाट उनिहरु भिआईपी चोरी भएको पुष्ठी भयो । पक्राउ परेका तीनै जना पटके चोर हुन् । उनीहरु विरुद्ध लागुऔषध र चोरीका २७ वटासम्म मुद्दा लागेको पाईएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख तथा एसपी भूपेन्द्र खत्रीले बताउनु भयो । ११ वटा चोरीको घटनामा मुद्दा चलेका हेमबहादुरकोे पहिचान भए पछि झस्किएको प्रहरी २७ वटा चोरीको घटनामा पक्राउ परेर मुद्दा चलेका बेलबहादुर र कर्म विरुद्ध २ वटा मुद्दा चलिसकेका छन् ।

पक्राउ परेका तीनै जना प्रहरीको मस्ट वान्टेड सूचीमा रहेका चोर हुन् । काठमाडौं उपत्यकामा कुनै ठूलो चोरी हुने बित्तिकै प्रहरीले उनीहरुलाई अनुसन्धानमा तान्ने गरेको थियो । उनीहरुको समूहले विगत आधा दशकदेखि काठमाडौं उपत्यकामा चोरीको आतंक मच्चाउँदै आएका थिए । पछिल्लो समय निस्क्रियजस्तै देखिएको यो समूह प्रहरीको खोजी सूचीमा रहे पनि पक्राउ पर्न भने सकेको थिएन । उपत्यकाको कडाईसँगै उनिहरु छिमेकी जिल्ला काभ्रे र सिन्धुपाल्चोक पुग्ने गरेका थिए ।

यो समूहले दिउँसो घरमा मान्छे नभएको वा अफिस गएको मौका छोपेर मात्रैचोर्ने गरेका छन् । घरमा भएका नगद तथा महँगा गरगहना मात्रै चोरी गर्ने समुहले केही दिनसम्म मान्छेको रेकी गर्ने, को कतिखेर अफिस जान्छ र कतिखेर फर्कन्छ ? घरमा अन्य व्यक्ति हुन्छन् कि हुँदैनन् भन्ने यकिन गरि सकेपछि मात्रै चोरी गर्ने गरेको बयानका क्रममा खुलेको प्रहरीले जानकारी दिएको छ ।

चोरी आरोपमा पक्राउ परेका चारै जनाको पारिवारिक अवस्था नाजुक छ । तर उनीहरुको लवाई खवाइ धनाढ्य परिवारका सदस्यको भन्दा कम छैन । सात/आठ हजार रुपैयाँ पर्ने ज्याकेट देखि १०/१२ हजार रुपैयाँसम्मका जुत्ता लगाउने गरेको भेटिएको प्रहरी प्रमुख एसपी खत्रीले बताउनु भयो । ’ब्राण्डेड लाइफस्टाइल’ बिताउन चोरीमा संलग्न भई राजधानीमा फ्लाईट नै भाडामा लिएर बसेको उनिहरुले बयानका क्रममा भनेका छन्

प्रतिक्रिया दिनुहोस्