जनमतको ३७ औं वार्षिकोत्सवमा २६ जना सम्मानित



न्युज अफ नेपाल, काभ्रे ।

अनवरत रुपमा साहित्यिक यात्रामा तल्लीन जनमत वाङ्मय प्रतिष्ठान, नेपालको ३७ औं वार्षिकोत्सव कार्यक्रम एक समारोहका बिच शनिवार बनेपामा सम्पन्न भयो ।

कार्यक्रममका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठाका कुलपति गंगाप्रसाद उप्रेतीले जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष मोहन दुवालको नामनै साहित्यको पहिचान हो भन्नुभयो । उहाँले मोहन दुवालसँगको देश विदेशको यात्रामा हिड्दा उहाँलाई बाटोमै रोकेरे सम्मान गरेको धेरैपटक देखेको बताउँनुभयो ।

उहाँले मोहन दुवालको लगनशिलता र निरन्तरताले बचाईराखेको साहित्यको धरोहरलाई सरकारी क्षेत्रबाट नभै व्यक्तिगत रुपमा पनि अनुसरण गर्नुपर्ने बताउँनुभयो ।

वार्षिकोत्सव समारोहमा स्रष्टा सम्मान, कृति विमोचन लगायतका विविध कार्यक्रम गरिएको थियो । उक्त समारोहमा वि.स. २०७५ र वि.स. २०७६ का लागि विभिन्न क्षेत्रका चिकित्सक, न्यायधि, कलाकार, लेखक सहित २६ जना स्रष्टालाई सम्मान गरिएको थियो ।

समारोहमा दीपा–जनमत सम्मानबाट रविकिरण निर्जिव र ठाकुर बेलवासे, गणेश–खिलकुमारी दुवाल जनमत सम्मानबाट राजा शाक्य र सुरेशकिरण मानन्धर, हृदयचन्द्र वरिष्ठ साधक सम्मानबाट शेषराज शिवाकाटी र हरिराम जोशी, जनमत–जनक प्रधान सेवा सम्मानबाट टङ्क उप्रेती र नवराज पहाडी, केवलपुरे जनमत सम्मानबाट भागीरथी श्रेष्ठ र प्रा.डा. उषा ठाकुर, कमला सैंजू–जनमत सम्मानबाट रीता ताम्राकार र सुलोचना मानन्धर धिताल, जनमत–महेन्द्रलाल कलाकार सम्मानबाट ठाकुरप्रसाद मैनाली एवम् सरोजा खडकी, जनमत–राजभाई सहयात्रा सम्मानबाट सोमकाजी शाक्य र रीता पहारी न्यौपाने सम्मानीत हुनुभएको थियो ।

त्यसैगरी भारती–जनमत साहित्यिक पत्रकारिता सम्मानबाट लक्ष्मी भट्टराई र सावित्री श्रेष्ठ, जनमत केदार–सुदर्शना बालसाहित्य सम्मानबाट यशु श्रेष्ठ र छायादत्त न्यौपाने बगर, जनमत–सिचिं धर्म संस्कृति सम्मानबाट मुकुन्दप्रसाद उपाध्याय र प्रा.डा. रमेशचन्द्र अधिकारी, जनमत–मित्र अनुवाद राष्ट्रिय सम्मानबाट रामबहादुर पहाडी एवम् डा. गोविन्दराज भट्टराई, जनमत दिपक वैद्य सम्मानबाट काठमाडौ विश्व विद्यालय, मेडिकल साइन्सका डिन तथा मुटुरोग विशेषज्ञ प्रा.डा. राजेन्द्र कोजु र प्रसुति विशेषज्ञ डा. सुमनराज ताम्राकारलाई प्रमुख अतिथि उप्रेति लगायतका अतिथिहरुले पदक, सम्मानपत्र, दोसल्ला ओढाएर सम्मानित गरिएको थियो ।

समारोहमा जनमतले छिट्टै अनलाइन सेवा शुरु गर्ने र अनलाईको नेतृत्व पत्रकार तथा साहित्यकार सिर्जना दुवालले गर्ने जानकारी गराइएको थियो । दुवाल मोहन दुवालको जेष्ठ सुपुत्री हुनुहुन्छ । उहाँ लामो समय कान्तिपुर पब्लिकेशन्समा आवद्ध हुनुहुन्थ्यो ।

जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष दुवालको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव समारोहमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपनि नारायणभक्त श्रेष्ठ (रायन) विशिष्ट अतिथि एवम् नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्य विशिष्ट अतिथि थिए भने अतिथिद्वयमा वरिष्ठ राजनीतिकर्मी एवम् लेखक दिनानाथ शर्मा तथा वरिष्ठ कथाकार हरिहर खनाल समेतको उपस्थिति रहेको थियो ।

वार्षिकोत्सव समारोहमा मोहन दुवालको अक्षरमा रचनाहरू (लेख संग्रह), हरिप्रसाद चौलागाईको चक्रव्युह (बालन संग्रह), रामसुन्दर देउजाको चाकाचुली (बाल कविता संग्रह) एवम् शारदा प्रसाद पहाडी र गोविन्दप्रसाद शिवाकोटीको दुई आत्माका छालहरू (गजल संग्रह) कृतिको विमोचन गरिएको थियो ।

समारोहमा टंक उप्रेती, सुलोचना मानन्धर धिताल, ठाकुर बेलवासे, शेरबहादुर अधिकारी, सिल्भिया श्रेष्ठ, सुरेश किरण मानन्धर आदिले रचना वाचन एवम् गीत प्रस्तुत गरेका थिए ।

समारोहमा मोहन दुवाल, सिर्जना दुवाल, प्रा.डा. कोजू, प्रा.डा. गोविन्दराज भट्टराई, प्रा.डा. रमेशचन्द्र अधिकारी, पत्रकार भगवती तिमल्सिना, केके कर्माचार्य, दीनानाथ शर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्