काभ्रेमा चारवटा प्रहरी चौकीको भवनको उद्घाटन



मोतीराम तिमल्सिना, काभ्रे । 

जिल्ला प्रहरी कार्यालय अन्र्तगत जिल्लाका विभिन्न स्थानमा रहेका प्रहरी चौकीहरुमा निर्माण गरिएका चारवटा भवनहरु उद्घाटन गरिएको छ । नयाँ भवन पाउने चौकीहरुमा पाँचखाल नगरपालिका १३ स्थित तेमालबेशी प्रहरी चौकी, महाभारत गाउँपालिका वडा नम्वर ४ अन्र्तगत रहेको फोक्सिङ्गटार प्रहरी चौकी र महाभारत गाउँपालिकाकै वडा नम्वर १ गोकुलेमा रहेको इलाका प्रहरी कार्यालय तथा खानीखोला गाउँपालिका वडा नम्वर ५ मा रहेको प्रहरी चौकी उद्घाटन गरिएको छ ।

प्रहरी ईकाईहरु मध्ये पाँचखाल नगरपालिका वडा नम्वर १३ मा निर्माण भएको भवनका लागि २२ करोड ६ लाख ६० हजार खर्च भएको छ । महाभारत गाउँपालिका वडा नम्वर ४ मा निर्माण भएको २२ करोड ८ लाख ३१ हजार ७ सय २८ रहेको छ । गोकुलेमा निर्माण भएको प्रहरी चौकीका लागि २३ करोड ४ लाख २४ हजार खर्च भएको छ । खानीखोला गाउँपलिकामा निर्माण भएको प्रहरी चौकीका लागि २२ करोड २३ लाख ७ हजार खर्च भएको छ । महाभारत र खानीखोला विकट गाउँपालिका हुन् । विकट क्षेत्रमा चौकी निर्माण भए सँगै स्थानीयहरुले शान्ति सुरक्षाका लागि थप सहजता महसुस गरेका छन् । यस अघि प्रहरीकै सुरक्षा नागरिकहरुले गर्नु पर्ने अवस्था रहेको थियो ।

२०७६ साल जेष्ठ १७ गते सम्झौता भई निमार्ण भएका ६ वटा प्रहरी ईकाईहरु मध्ये प्रहरी चौकी फलाटेको २०७७ मंसिर १४ गते समुदघाटन भईसकेको छ । बिकट भौगोलिक बनावटका कारण प्रहरी चौकी फलामेटारको निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ । जिल्लामा अझै केहि प्रहरी चौकी निर्माण गर्नु पर्ने भए पनि जग्गा ब्यवस्थापन हुन नसक्दा निर्माण हुन सकेको छैन । भवन उद्घाटन गर्न बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय शान्ति सुरक्षा शाखा प्रमुख ज्ञानदिप राईले प्रहरीलाई क्रमश आधुनिकिकरण गर्दै जाने योजना अनुरुप पहिलो चरणमा ६ वटा प्रहरी ईकाई मध्ये ५ वटा समुदघाटन सम्पन्न भएको, दोश्रो चरणमा २ वटा ईलाका प्रहरी कार्यालय देबिटार र ईलाका प्रहरी कार्यालय बनेपाको भवनहरु निमार्णाधिन रहेको तथा तेश्रो चरणका लागि प्रहरी चौकी साँगा तथा प्रहरी चौकी भकुण्डेबेशीको टेण्डर प्रक्रियामा रही निर्माण प्रारम्भ हुने चरणमा रहेको बताउनु भयो ।

सोहि अवसरमा निर्माण सम्पन्न भएका प्रहरी ईकाईहरुको लागि निशुल्क रुपमा जग्गा प्रदान गर्नुहुने जग्गादाताहरुलाई दोसल्ला सहित कदर पत्रद्धारा सम्मान गरिएको थियो । कार्यक्रममा सम्बन्धित पालिकाका जनप्रतिनिधीहरु, बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय शान्ति सुरक्षा शाखा प्रमुख, जिल्ला स्थित सुरक्षा निकायका पदाधिकारीहरु, बिभिन्न संघ संस्थाका प्रतिनिधि, राजनैतिक दलका स्थानिय प्रतिनिधि, नागरिक समाज तथा स्थानियहरुको सहभागिता रहेको प्रहरी नायव उपरिक्षक हरि खतिवडाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्