लागूऔषध र मदिरा नियन्त्रणमा सबैको सहयोग जरुरी



पाल्पा, (नेस) । 

लागूऔषध र मदिरा सेवनबाट विभिन्न प्रकारका अपराध हुन सक्ने भएकाले त्यसको नियन्त्रणका लागि सबौ पक्षको एक्येवद्धता जरुरी रहेको बताइएको छ । तानसेनमा सम्पन्न लागूूऔषध निषेध तथा मदिरा नियन्त्रण र अपराध न्यूनीकरणसम्बन्धी अन्तरक्रियाका सहभागीले लागूऔषध र मदिराका कारणले नै धेरै अपराध हुने गरकाले यसको उचित व्यवस्थापन गर्न आवश्यक रहेको औंल्याएका हुन् ।

गृह मन्त्रालय, लागूऔषध नियन्त्रण शाखाको आयोजना भएको कार्यक्रममा नेपालमा लागूऔषध र मदिराले पु-याएको अपराध, यसका चुनौती र नियन्त्रणका उपाय बिषयमा गृह मन्त्रालयका उपसचिवहरु किरण सुवेदी र अर्जुन भण्डारीले कार्यपत्र पेस गर्नुभएको थियो । यस्तै पाल्पामा लागूऔषध र मदिरा सेवनबाट घटेका अपराध बारे प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराईले कार्यपत्र पेस गर्नुभएको थियो ।कार्यपत्रमाथि टिप्पणी गर्दै सहभागीहरुले नीति–नियम र कानुुनको पालना सबै पक्षबाट हुन सके मात्र नियन्त्रण गर्न सकिने बताएका थिए ।लागूऔषध प्रयोगकर्ताको सेवन नेपालमा पनि दिनानुदिन बढ्दै गएको, धनीवर्ग बढी मात्रामा कुलतमा फस्ने गरेकाले राज्यले नियम कानुन पालना कडाइका साथ गराउन जरुरी रहेको बताइएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख मीरा मरासिनीले घरेलु मदिरा उत्पादकले आफ्नो जीविका मदिरा उत्पादनबाट चलाएका कारण यसको प्रयोग बढेको हुनाले वैकल्पिक आय आर्जनको उपाय खोजिनुपर्ने बताउनु भयो । उहाँले मदिरा सेवनका कारणले नै धेरै अपराध हुने गरकाले यसको उचित व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो ।प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका झपेन्द्र गहिरे, राप्रपाका डुलबहादुर कुँवर, जनमोर्चा नेपालका विशाल दर्लामी, नेपाल पत्रकार महासंघका भरत शर्मा, रेडक्रस पाल्पाका बुद्धिप्रसाद शर्मा, तानसेन नगरपालिकाका पिताम्बर पाण्डे, वडाध्यक्ष मुक्ति जीसी, मदिरा व्यवसायी यादवसिंह कार्की, पाल्पा व्यापार संघका विष्णु कार्कीलगायतले लागूऔषध निषेध तथा मदिरा नियन्त्रण र अपराध न्यूनीकरणसम्बन्धी आ–आफ्ना सुझाव राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्