परिवार नियोजन संघको सेवा प्रभावकारी बन्दै

३८ हजार ९ सय ५६ जना लाभान्वित



नेपाल समाचारपत्र, काभ्रे ।

 नेपाल परिवार नियोजन संघ काभ्रेले एक वर्षमा ३८ हजार ९ सय ५६ जनालाई यौन तथा प्रजनन स्वास्थ्यको सेवा दिएको जनाएको छ । शनिबार काभे्रमा आयोजित ३८औं वार्षिक साधारणसभा संघले सो कुरा सार्वजनिक गरेको हो ।परिवार नियोजन संघमार्फत पुरुष तथा महिलाहरुको स्थायी बन्ध्याकरण, महिलाहरुको पाठेघर जाँच, ल्याब सेवा, परिवार नियोजन सेवा, युवाहरुका लागि यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी शिक्षा र परामर्श सेवा, विद्यालयमा बालबालिकाहरुलाई यौनिकता शिक्षा उपलब्ध गराउँदै आएको सभापति शुभराज जोशीले बताउनुभयो ।

त्यस्तै, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउँदै समन्वय र सहकार्यमा आफू्रले समन्वय गर्ने बताउनुभयो । नेपाल परिवार नियोजन संघ काभ्रे शाखासँग रहेको प्राविधिक जनशक्तिलाई स्थानीय सरकारले उपयोग गर्न सकेको अवस्थामा नागरिकहरु स्वास्थ्य सेवाबाट लाभान्वित हुने उहाँको भनाइ छ ।शाखाले परिवार स्वास्थ्य केन्द्र, पाँचखालबाट गर्भवती महिलाहरुको नियमित जाँच, प्रसूूति तथा प्रसूतिपश्चात् स्वास्थ्य परीक्षण सेवा, एम्बुलेन्स सेवा, नवजात शिशु स्याहार, गर्भवती जाँच सेवा, यौन रोगको उपचार गरिरहेको छ ।साधारणसभामा सचिव बद्रीबहादुर खबीले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन अनुसार सन् २०२० मा शाखाले १० हजार ८ स २४ जनालाई कन्ट्रासेफ्टी सेवा उपलब्ध गराएको छ भने स्त्रीरोग विशेषज्ञ सेवा ९ हजार ४ सय २८ जनालाई उपलब्ध गराएको छ । एचआईभी÷एड्ससँग सम्वन्धी सेवा २ हजार ९ सय २४ जनाले लिएका छन् ।

त्यस्तै, सुरक्षित गर्भपतन सेवा २ सय १९ जनाले लिएका छन् । सुत्केरी सेवा १ सय ३ जनाले लिए भने मिनिल्याप सेवा २० जनाले लिए । एसटीआई सर्भिस ५ हजार ६ सय ५४ जनाले लिएका छन् ।सोही वर्षमा ३८ हजार ९ सय ५६ जनालाई परिवार नियोजन संघले सेवा प्रदान गरेको शाखा प्रवन्धक रमेश श्रेष्ठले जानकारी दिनुभयो ।सभामा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाले विपदमा समेत प्रभावकारी बन्नुपर्ने परिवार नियोजन सेवा ग्रामीण भेगमा पुग्न नसक्दा नागरिक संकटमा परेको बताउनुभएको थियो । कार्यक्रममा काभ्रे उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रताप वैद्य, युवा सदस्य सरिस्मा कायश्थ, कार्य समिति सदस्यहरु आत्मराम थापा, लम्बोदर कायश्थ, राजेश श्रेष्ठ, पूर्वसभापति देवेन्द्र भैललगायतले परिवार नियोजन संघलाई अगाडि बढाउन सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्