माधव समूहले गर्‍यो मोरङमा समानान्तर कमिटीको गठन



हरिहर नेपाल विराटनगर । 

नेकपा एमालेको माधव–नेपाल पक्षले मोरङमा समानान्तर कमिटी गठन गरेको छ । नेकपा एमाले मोरङले विराटनगरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता माधवकुमार नेपालले सो कुरा सार्वजनिक गर्नुुभएको हो ।कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वडा र हरेक स्थानीय तहमा गएर समानान्तर कमिटी निर्माण गरी जनताको समस्या बुझेर समाधान गर्न नेता कार्यकर्तालाई निर्देशनसमेत दिनुभएकोे छ । मोरङमा चन्द्रवीर राईकोे अध्यक्षतामा ३ सय २५ जनाको समानान्तर जिल्ला कमिटी गठन गरेको हो । उपाध्यक्षमा चण्डी राई र उद्धव पोखरेल रहनुभएको छ ।

यसै गरी, सचिवमा राजन केसी, उपसचिवमा ओसिम आलम र नीलम ढुंगेल रहेका भने आर्थिक प्रमुखमा विश्वनाथ राय रहनुभएको छ । यस्तै पारुल क्षेत्रीको अध्यक्षतामा १ सय ७५ जनाको विराटनगर महानगर समानान्तर कमिटी गठन गरेको छ । उपाध्यक्षमा खेम तिम्सिना, सचिव मीरा दाहाल र उपसचिव योगेश राजभण्डारी रहनुभएको छ ।कार्यक्रमम बोल्दै नेपालले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै २०७५ साल जेठ दुईको अवस्थामा पार्टी फर्किनुपर्ने बताउनुभयो । नेता नेपालले २०७५ साल जेठ दुई गतेमा प्रधानमन्त्री केपी ओलीलगायत अष्टलक्ष्मी शाक्य, वामदेव गौतम, डा. भीम रावल, युवराज गौतम सबै निर्वाचित रहेको बुझ्नु आवश्यक रहेको औंल्याउनुभयो ।

सबैको पद समाप्त हुने र ओलीको पद कायम रहनै नसक्ने उहाँको भनाइ थियो । ओलीले पूरै अवैधानिक कदम चालेर पार्टी विधानविपरीत काम गर्ने गरेको नेपालको आरोप छ ।विधानविपरीत काम गर्नेलाई साथ दिने दास हुन् भन्दै उहाँले गलत प्रवृत्तिको मूलवाहक ओली प्रवृत्तिबाट देशलाई बचाउन आफूले अभियानको शुरुआत गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्