नेप्से परिसूचक सामान्य वृद्धि, कारोबार रकम घट्यो



काठमाडौं (नेस) । 

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । बुधबार केही करेक्सन भएको बजार बिहीबार भने २.७४ अंक (शून्य दशमलव १० प्रतिशत)ले वृद्धि भएको हो । बिहीबार नेप्से परिसूचक २ हजार ६ सय ७४ दशमलव ३५ अंकमा पुगेर रोकिएको छ ।

बिहीबार कारोबार रकम भने बुधबारको तुलनामा केही घटेको छ । बुधबार ७ अर्ब रुपैया“ माथिको कारोबार भएकोमा बिहीबार ६ अर्ब ५५ करोड ६६ लाख रुपैया“को मात्रै भएको छ ।बिहीबार बैंक, होटेल र पर्यटन, विकास बैंक, वित्त, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्ड समूहका लगानीकर्ताले कमाएका छन् । व्यापार, जलविद्युत, निर्जीवन बीमा, निर्माण तथा उत्पादन, अन्य र लगानी समूहका लगानीकर्ताले भने गुमाए । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत आज घटेको छ ।बिहीबार कुल २ सय ७ कम्पनीको ७१ हजार २ सय ४१ कारोबार भएको छ । आज कुल १ करोड ३३ लाख ७६ हजार कित्ता सेयर किनबेच भएको छ ।

बिहीबार ६ वटा कम्पनीको पोजेटिभ सर्किट लेवलमा कारोबार भएको छ । आज एनआईसी एसिया लघुवित्त वित्तीय संस्था, ग्रीनलाइफ हाइड्रोपावर, ज्योती लाइफ इन्स्योरेन्स, मल्टीप्रपोज फाइनान्स, रिलायन्स फाइनान्स र ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । युनिभर्सल पावर कम्पनी, रसुवागढी हाइड्रोपावर, अजोड इन्स्योरेन्स, एआईसी एसिया ग्रोथ फण्डलगायत कम्पनीका लगानीकर्ताले भने सबैभन्दा बढी गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्