अर्थतन्त्र सन्तोषजनक नभएकोमा प्रधानमन्त्रीको ध्यानाकर्षण



काठमाडौं(नेस) । 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र यतिबेला सन्तोषजनक अवस्थामा नरहेको प्रधानमन्त्री केपी शर्मा ओली समक्ष ध्यानाकर्षण गराउनुभएको छ ।कमर्शको ७० औं वार्षिक साधारण सभामा बोल्दै उहाँले सो ध्यानाकर्षण गराउनुभएको हो । अध्यक्ष श्रेष्ठले कोभिड संकट सुरु भएको एक वर्षभन्दा बढी समय भइसकेता पनि अर्थतन्त्रको गति र दिशा अझै अन्योलग्रस्त रहेकोब बताउँदै भन्नुभयो ‘ पर्यटन लगायतका कतिपय क्षेत्रमा भएको खर्बौं लगानी जोखिममा परेको छ भने अलिअलि सुधार भएका क्षेत्रको विस्तार पनि त्यति सुखद् छैन ।’

विश्व बैंकले नेपालको आर्थिक वृद्धि चालू वर्षमा २.७ प्रतिशत हुने अनुमान गरेको थियो । तैपनि हाम्रो अर्थतन्त्रका आगामी केही दिन अझै त्यति सुखद् नहुने पनि अध्यक्ष श्रेष्ठको भनाई रहेको छ ।केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांक अनुसार आर्थिक वृद्धि करिब २ प्रतिशतले ऋणात्मक भएको देखाएको छ । यो तथ्य उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले भन्नुभयो ‘ ३९ खर्ब ४३ अर्बको हाम्रो अर्थतन्त्रको आकार आफैंमा त्यति ठूलो नभएकाले अर्थतन्त्रलाई कोरोना र यस्तै महामारीबाट जोगाउन साधन स्रोतको अभावभन्दा पनि इच्छाशक्ति जरुरी देखिन्छ ।’

विगतमा सरकारले बजेट तथा मौद्रिक नीतिबाट ल्याएका केही राहत सम्बन्धी व्यवस्थाका कारण अर्थतन्त्रले थप क्षति बेहोर्नु नपरे पनि पुनरुत्थानको बाटोमा अझै हिँड्न नसकेको पनि उहाँको भनाई रहेको छ ।सो अवसरमा प्रधानमन्त्रीले अर्थतन्त्र उकास्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउँदै सबैसंग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले लकडाउनको सम्भावना औल्याउनुभयो । ‘वाध्य भएर ठप्प पार्ने अवस्था आउँछ,’ ओलीले भन्नुभयो ,‘कोरोना भाइरसको जोखिम बढेकाले सावधानी अपनाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्