हेल्प नेपाल र न्यु डायमन्डलाई उपाधि



नेपाल समाचारपत्र, काठमाडौं । 

टिपटप हेल्प नेपाल भलिबल क्लब र न्यु डायमन्ड भलिबल क्लबले पाँचौ आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपको उपाधि बिहीबार उचाल्न सफल भएका छन् ।हेल्प नेपालले पुरुषतर्फको फाइनल खेलमा नेपाल एपीएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । हेल्प नेपालले सो खेल २५–१४, २५–२०, २५–२२ लगातार सेटमा जितेको हो । तर, लिगको अन्तिम खेलमा भने हेल्प नेपाललाई एपीएफले ३–० को सेटमा हराएको थियो । सो खेलमा हेल्प नेपालले तीन भारतीय खेलाडीलाई विश्राम दिएर प्रतिस्पर्धामा उत्रेको थियो । यस्तै, तेश्रो स्थानमा बुलबुले रारा क्लब र चौथो स्थानमा नेपाल पुलिस क्लब रहेका थिए ।

यस्तै, बिहीबार नै भएको महिलातर्फको फाइनल प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई ३–२ ले पन्छाउँदै न्यु डायमन्ड भलिबल क्लबले उपाधि उचाल्यो । यो खेल निकै प्रतिस्पर्धा भएको थियो । पहिलो सेट २५–२२ ले पुलिसले आफ्नो पक्षमा पारेको थियो । त्यसपछि न्यु डायमन्डले खेलमा फर्कदै लगातार दोश्रो र तेश्रो सेटमा जित निकालेको थियो । न्यु डायमन्डले दोश्रो सेट २५–११ र तेश्रो सेट २५–१९ ले हात पारेर उपाधि निकट पुग्यो । तर, चौथो से २५–२१ ले जितेर पुलिसले खेल २–२ सेट बराबर गर्न सफल भयो । पाँचौं तथा निर्णायक सेट न्यु डायमन्डले १५–११ ले जितेर उपाधि कब्जा गर्न सफल भयो । एपीएफ क्लब तेश्रो र आर्मी क्लब चौथो स्थानमा रहेका थिए ।प्रतियोगितामा लिगमा शर्षि दुई स्थान प्राप्त टिमका बीच उपाधिका लागि प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा दुवैतर्फ विजयी टिमले समान नगद ३ लाख र उपविजेताले समान १ लाख ५० हजार नगद पुरस्कार प्राप्त गरे । त्यस्तै, दुवैतर्फ नै तेश्रो हुने टिमले समान ७५ हजार तथा चौथो हुने टिमले समान ३७ हजार ५ सय रुपियाँ हासिल गरेका थिए ।

नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैकको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी हेल्प नेपालका विनीत कुमार घोषित भए । यस्तै उत्कृष्ट स्पाईकर रारा क्लबका मुराद जेहान, उत्कृष्ट ब्लकर पुलिसका दीपक राज जोशी, उत्कृष्ट सेटर हेल्प नेपालका विकास कुमार, उत्कृष्ट डिफेन्डर एपीएफका विनोद चन्द, उत्कृष्ट सर्भर रारा क्लबका घनश्याम चौधरी रहे । उत्कृष्ट प्रशिक्षकको हेल्प नेपालका रमेश के.सी. घोषित भएका थिए ।महिलातर्फ न्यु डायमन्डकी प्रतिभा माली सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । यस्तै, उत्कृष्ट स्पाइकर पुलिसकी उषा भण्डारी, उत्कृष्ट ब्लकरमा पुलिसकी मनिषा चौधरी, उत्कृष्ट सेटरमा पुलिसकी कमला पुन, उत्कृष्ट डिफेन्डरमा न्यु डायमन्डकी सलिना श्रेष्ठ, उत्कृष्ट सर्भरमा न्यु डायमन्डकी ललिता नाथ र उत्कृष्ट प्रशिक्षकमा न्यु डायमन्डका कुमार राई घोषित भएका थिए ।

उत्कृष्ट महिला तथा पुरुष दुई खेलाडीले जनही २५ हजार प्राप्त गरे । विधागतमा उत्कृष्ट खेलाडी र प्रशिक्षकले समान नगद १० हजार प्राप्त गरेका थिए । विजयी खेलाडीहरूलाई प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री दावा तामाङ्ग, राष्ट्रिय वाणिज्य बैंकका कार्यकारी प्रमुख किरण कुमार श्रेष्ठ, क्राउन प्लाजा होटलका डाइरेक्टर युवराज श्रेष्ठ, अनलज्योती बोर्डिङ्ग स्कुलकी प्रिन्सिपल ज्योति के.सी., बिद्यालय भलिबल कमिसनका अध्यक्ष राम बहादुर के.सी., काठमाडांै महानगरपालिकाका विभागीय प्रमुख राम बहादुर थापा, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा, दिल कुमारी मोक्तान थापालगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्