गणेशमान स्मृति चेसमा मिलन च्याम्पियन



उजोल डंगोल, ललितपुर

दोलखा चेसका युवा खेलाडी मिलन लामा ६४औं सहकारी दिवसको उपलक्ष्यमा आयोजित ‘गणेशमान सिंह स्मृति आठौं सहकारी कप फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिता’मा विजेता बनेका छन् ।बिहीबार सम्पन्न फाइनल खेलमा मिलन र नोभा साकोस ललितपुरका सुदीप तामाङ्गबीचको क्लासिकल खेलमा दुवैले एक एक खेल जितेका थिए । त्यसपछि ३ मिनेट २ सेकेन्डको ब्लिट्ज टाइब्रेकरमा मिलनले दुवै खेल जितेर उपाधि जित्न सफल भए । मिलनले यामाहा मोटरसाइकल पुरस्कार स्वरूप प्राप्त गर्दा उपविजेता सुदीपले नगद ६० हजार पुरस्कार जितेका थिए ।

ललितपुरको ताम्रकार भवनमा सञ्चालन भएको प्रतियोगितामा सुन्दर साकोस हेटौडाका एशियन एमेच्योर चेस च्याम्पियन कृष्ण थापाले गजुरमुखी चेस क्लब राजन सुबेदीलाई टाइब्रेकमा जितेर तेश्रो भए । कृष्णले नगद ३० हजार र राजनले नगद २० हजार पाए ।ललितपुर स्पोर्टस् क्लब र ताम्रकार समाजद्वारा संयुक्त रूपमा आयोजित प्रतियोगिताको लिगतर्फ दोलखा चेसका सुमित पन्त ७ अंकका साथ प्रथम भै नगद २५ हजार जित्न सफल भए । त्यसैगरी, समान साढे ६ अंक भए पनि प्रोग्रेसिव टाइब्रेकर अनुसार गजुरमुखी चेस क्लबका फिडेमास्टर रिजेन्द्र राजभण्डारी दोश्रो भै १५ हजार नगद हात पारेका थिए ।यस्तै, गजुरमुखी चेसका प्रकाशचन्द्र नेपाल तेश्रो भई १० हजार, ललितपुरका राजन पुरी चौथौं ८ हजार, सुर्योदय साकोस ललितपुरका सुमन राई पाँचौं ७ हजार र सद्भाव कृषि सहकारी लुभुका अशोक मोहन श्रेष्ठ छैटौं भई ६ हजार नगद पुरस्कार प्राप्त गरेका थिए ।

त्यस्तै, प्रतियोगितामा माउन्ट एभरेस्ट चेस एन्ड सोसियल क्लब जोरपाटीका फिडेमास्टर क्षितिज भण्डारी, करूणामय साकोस ललितपुरका प्रेमकृष्ण महर्जन, कामना साकोसका फिडेमास्टर सुजेन्द्रप्रसाद श्रेष्ठ, गोल्डेन गेट कलेजका निकेन कुसाथा, हेटाैडा चेस क्लबका सुरवीर लामा, एभरेस्ट चेस एन्ड सोसियल क्लब जोरपाटीका अर्जुन घिमिरे, मुस्कान साकोस ललितपुरका सुशिल चौधरी, काठमाडाै चेस क्लबका फिडे ट्रेनर केशव श्रेष्ठ र जनता साकोस ललितपुरका सजिन महर्जन सातौदेखि पन्ध्रौं स्थानसम्म रहे । उनीहरूले जनही नगद ५ हजार पाए ।यस प्रतियोगितामा महिलातर्फ करूणामय साकोस ललितपुरकी विनिता कपाली प्रथम भइन् । उनले नगद १० हजार हात पारिन् । त्यस्तै, प्रचलित साकोस ललितपुरकी अनिषा न्यौपाने दोश्रा भै नगद ८ हजार प्राप्त गरिन् भने मिशन युथ क्लब टोखाकी पूर्णिमा गुरूङ्ग तेश्रो भइन् ।यस्तै, पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपाली भेट्रान उत्कृष्ट र ओलम्पियाड खेलाडी नेसनल डेभलपमेन्ट साकोस ललितपुरका दीर्घराज जोशी भेट्रानमा दोश्रा भए । उनीहरूले क्रमशः ५ र ४ हजार नगद पुरस्कार पाए ।

१६ वर्षमुनि उमेर समूहमा मेरिडियन इन्टरनेसनल स्कुल बालुवाटारका छात्र पुरुषोत्तम सिलवाल प्रथम, श्री राज एकता सन्जाल कपनका सम्पूर्णराज न्यौपाने दोश्रा र मिशन युथ क्लब टोखाका आश्चर्य चौधरी तेश्रा भए । उनीहरूले क्रमशः ५,४ र ३ हजार नगद पुरस्कार हात पारे ।
१८०० मुनि रेटिङ्ग समूहमा सिलुलाइट साकोस लुभुका कमल श्रेष्ठ प्रथम, स्वर्णीम साकोस ललितपुरका सुश्रुत दाहाल दोश्रा र एभरेस्ट चेस एन्ड सोसियल क्लब जोरपाटीका मीनबहादुर लामा तेश्रा भई क्रमशः नगद ५,४ र ३ हजार पाए ।१६०० मुनि रेटिङ्गसमूहमा नेपाल टेलिकमका गोविन्द खड्का प्रथम, काभ्रेका खोमप्रसाद तिमिल्सिना दोश्रा र सहश्रधारा साकोस बानेश्वरका हेम भण्डारी तेश्रा भए । उनीहरूले क्रमशः नगद ५,४ र ३ हजार पाएप्रतियोगिताका विजयी तथा सहभागी खेलाडीहरूलाई आयोजक क्लबका अध्यक्ष एवं नेपाल बुद्धिचाल संघका महासचिव हेराकाजी महर्जनको सभापतित्वमा एक समारोहबीच प्रमुख अतिथि नेपाल ओलम्पिक कमिटीका अध्यक्ष माननीय जीवनराम श्रेष्ठ, फिडे इथिक्स कमिटी सदस्य राजेशहरि जोशी, नेपाल बुद्धिचाल संघका अध्यक्ष एकालाल श्रेष्ठ लगायतले ट्रफी, मेडल, प्रमाणपत्र एवं नगद पुरस्कार वितरण गरे ।

प्रतिक्रिया दिनुहोस्