राईले जिते वेस्टर्न ओपन गल्फको उपाधि



नेपाल समाचारपत्र, काठमाडौं । 

शुक्रबहादुर राईले ‘सूर्य नेपाल वेस्टर्न ओपन गल्फ प्रतियोगिता’को उपाधि बिहीबार जितेका छन् । राईले एमेच्योर सुवास तामाङमाथि ३ स्ट्रोकले पछि पार्दै उपाधि जितेका हुन् ।

राईले कूल ६ अन्डर २ सय १ स्कोरको कार्ड बनाउँदा सुभाषले १ अन्डर २ सय ६ अंकको कार्ड बनाएका थिए । करियरकै चौथो व्यावसायिक उपाधि जितेका राईले १ लाख ३० हजार नगद पुरस्कार पनि प्राप्त गरे ।एमेच्योर खेलाडीले पुरस्कार रकम नपाउने हुँदा उनको दोस्रो पुरस्कार ७२ हजार नगद तेस्रो स्थानमा रहेका भुवन नगरकोटी र सञ्जय लामाले प्राप्त गरे । सन्जय र भुवनले समान २ सय ७ अंकको स्कोरकार्ड बनाएका थिए ।

तेस्रो स्थानको लागि राखिएको ५० हजार नगद पुरस्कार बलभद्र राईले प्राप्त गरे । राई चौथो स्थानमा रहेका थिए । यसैगरी, विनोद तामाङले ४२ हजार, भुवनकुमार रोक्काले ३७ हजार ५ सय, धनबहादुर थापाले ३५ हजार, टंकबहादुर कार्की र सूर्यप्रसाद शर्माले समान ३१ हजार तथा सञ्जीवबहादुर नेपाली र दिनेश प्रजापतिले समान २७ हजार नगद पुरस्कार हात पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्